१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ माघ ६ आइतबार ०९:१६:००
Read Time : > 1 मिनेट
विश्व

९७ वर्षको उमेरमा पनि गाडी हाँक्छन् राजकुमार फिलिप

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ ६ आइतबार ०९:१६:००

उमेरले झन्डै सय वर्षको हाराहारीमा पुगेका राजकुमार फिलिप अझै पनि आफैँ गाडी हाँक्छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नु पर्दैन, बेलायती महारानी एलिजाबेथ द्वितीयका पति तथा ड्युक अफ एडिन्बरा राजकुमार फिलिप ९७ वर्षको उमेरमा पनि नियमितजसो गाडी कुदाउँछन् ।

राजकुमार फिलिपलाई दरबारका सदस्य र अन्य शुभचिन्तकहरूले आफैँ गाडी नहाँक्न सुझाब दिँदै आएका छन् । यद्यपि, वयोवृद्ध अवस्थामा पनि उनी आफैँ गाडी हाँक्न रुचाउँछन् ।
तर, बिहीबार उनले चलाइरहेको ल्यान्ड रोभर गाडी क्विन्स सान्द्रिंघम एस्टेटनजिकै दुर्घटना भएको बकिंघम दरबारले जनाएको छ । दुर्घटनामा उनलाई खासै चोटपटक लागेन ।

स्थानीय समयअनुसार दिउँसो तीन बजेतिर राजकुमारको ल्यान्ड रोभर दुर्घटना भएको थियो । अकस्मात् उनको जिप अर्को किया कारसँग ठोक्किएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उनलाई कारबाट निकालेका थिए । एक प्रत्यक्षदर्शीका अनुसार उद्धार गर्दा राजकुमारले होस गुमाएका थिएनन्, तर केही डराएका थिए ।

घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको, तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको थियो । स्थानीय प्रहरीका अनुसार प्रचलित नियमअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरे–नगरेकोबारे परीक्षण गरिएको थियो । तर, कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् ।

दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु राम्रो हुने केहीले सुझाब दिएका छन् । वृद्धहरूले सजिलै गाडीको नियन्त्रण गुमाउने भएकाले निश्चित उमेरपछि उनीहरूलाई सवारी चलाउन दिन नहुने उनीहरूको भनाइ छ । तर, केहीले वृद्धभन्दा कम उमेरका चालकबाट बेलायतमा बढी दुर्घटना हुने गरेको तर्क अगाडि सारेका छन् । बब मोटरिङ एसोसिएसनका अध्यक्ष एडमन्ड किंग भन्छन्, ‘नयाँ चालकका कारण सडक दुर्घटना बढी हुने गरेको छ ।’

‘यदि सवारीचालकको उमेरलाई लक्षित गरी नयाँ कानुन बनाइन्छ भने पहिले बुढो चालकभन्दा कम उमेर (नयाँ चालक) माथि कडाइ गरिनुपर्छ,’ उनी भन्छन्, ‘पाका चालकले सडकको अवस्था हेरेर उनीहरूको सवारीलाई आफैँ नियन्त्रण गर्छन् । उनीहरूलाई राति गाडी नचलाउन र परिचित सडकमा मात्र गाडी चलाउन सल्लाह दिनु राम्रो हो ।’ राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए ।