मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ माघ ६ आइतबार ०९:०५:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन ‘फेब्रुअरीको अन्त्यतिर’

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ ६ आइतबार ०९:०५:००

उत्तर कोरियाली सरकारका प्रभावशाली सदस्य किम योङ चोल र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन यही फेबु्रअरीको अन्त्यतिर हुने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले सो जानकारी दिएको हो । उत्तर कोरियाको कोरियन वर्कर्स पार्टी उपाध्यक्ष किम योङ चोलसँग राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले शनिबार सो जानकारी दिएको हो ।

किमका विश्वासपात्र अमेरिकामा
दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्व अन्त्य गर्न कोरियन वर्कर्स पार्टी उपाध्यक्ष किम योङ चोल नेतृत्वको टोली यसै साता वासिङ्टन पुगेको थियो । चोल उत्तर कोरियाली सरकारका प्रभावशाली सदस्य तथा सर्वोच्च नेता किम जोङ उनका विश्वासपात्र हुन् । 

उत्तर कोरियाली सरकारका प्रभावशाली सदस्य चोलले राष्ट्रपति ट्रम्पसँग साढे एक घन्टा छलफल गरेका थिए । बैठकमा आणविक हतियार निःशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनबारे छलफल भएको ह्वाइटहाउसका सञ्चारसचिव सराह सन्डेर्सले बताए । भेटका अवसरमा शिखर बैठक आयोजना गर्ने स्थान र आगामी बैठकका एजेन्डाबारे छलफल भएको थियो ।

सम्बन्धमा नाटकीय सुधार
उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । यसै साता राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको बताएका छन् । ‘उत्तर कोरियासँगको सम्बन्ध राम्रो हँुदै गएको छ, हामीले राम्रोसँग वार्ता प्रक्रिया अगाडि बढाइरहेका छौँ । वार्ताका लागि अहिले कुनै रोकावट छैन । तर, उत्तर कोरियामाथिको नाकाबन्दी भने यथावत् नै रहनेछ,’ राष्ट्रपति ट्रम्पले भने ।

ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा शिखरवार्ता भएको थियो । सो शिखरवार्तापछि अर्को वार्ता गर्ने दुवै नेताले प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रथम सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता कसरी पूरा गर्ने भन्नेबारे दुवै देश अन्योलमा छन् । अमेरिकाले सर्वप्रथम उत्तर कोरिया पूर्ण रूपमा निःशस्त्र हुनुपर्ने बताएको छ भने उत्तरले निःशस्त्र हुनुअघि आफूमाथि लागेका अन्तर्राष्ट्रिय नाकाबन्दी तत्काल हट्नुपर्ने माग गरेको छ ।

शिखर सम्मेलनको तयारी तीव्र
वर्कर्स पार्टी उपाध्यक्ष किम योङ चोलले अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग दोस्रो शिखर सम्मेलनबारे छलफल गरेका छन् । दोस्रो सम्मेलनको तयारीका लागि चोलको नोभेम्बरको सुरुमा नै वासिङ्टनको भ्रमण गर्ने समयतालिका थियो । तर, सो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसोपना आएपछि भ्रमण रद्द 
भएको थियो ।

किम जोङ उनले नयाँ वर्षको अवसरमा  अमेरिकी राष्ट्रपति ट्रम्पलाई एक पत्र पठाएपछि  दुई देशको सम्बन्ध सामान्य बनेको थियो । केही दिनअघि मात्र ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएर दोस्रो शिखर सम्मेलन चाँडो गर्न उत्सुक भएको बताएका थिए । ट्रम्पले उत्तरसँगको दोस्रो वार्ता भियतनाममा गर्ने प्रस्ताव गरिसकेका छन् ।