१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०८:५८:००
Read Time : > 3 मिनेट
सेयर बजार

सातामा ६.९३ अंक बढ्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०८:५८:००

गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से बढेसँगै गत साता १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा ३ दिन नेप्से परिसूचक घटेको थियो भने २ दिन बढेको थियो । गत साता अधिकांश लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएको देखियो । बजारले सुस्त गति लिँदा लगानीकर्ताहरू अन्योलमा परेका हुन् । लगानीकर्ताहरू अहिले दोस्रो त्रैमासको वित्तीय विवरणको पर्खाइमा रहेका छन् । कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालिसकेका छन् । केही कम्पनीले आकर्षक नाफा आर्जन गर्न सफल भएका छन् भने केही कम्पनीको नाफामा कमी आएको छ । लगानीकर्ता वित्तीय विवरणका आधारमा लगानीको रणनीति बनाउने गर्छन् । अगामी साताको बजारलाई पनि कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले प्रभावित पार्ने एक विश्लेषकले बताए । 

 बजार सारांश
गत साता नेप्से परिसूचक ६ दशमलव ९३ अंक बढेर १ हजार १ सय ८७ दशमलव ७७ बिन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स सो साता शून्य दशमलव ३६ अंक घटेर २ सय ५१ दशमलव शून्य १ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३१ अंक बढेको छ भने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १७ अंक घटेको छ । गत साता १ सय ८४ कम्पनीको २३ हजार १ सय १७ पटकको कारोबारमा १ अर्ब ८५ करोड २० लाख २० हजार रुपैयाँबराबरको ५३ लाख ७० हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ५३ दशमलव ५४ स्केलमा पुगेको छ । यसले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियो : गत साता नेप्सेको एडी रेसियो शून्य दशमलव ८९ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता ७४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

 पिभट विश्लेषण
तेस्रो प्रतिरोध  :  १२२९.३२
दोस्रो प्रतिरोध  :  १२१४.८२
पहिलो प्रतिरोध :   १२०१.२९
पिभट बिन्दु  :  ११८६.७९
पहिलो टेवा  :  ११७३.२६
दोस्रो टेवा :   ११५८.७६
तेस्रो टेवा  :  ११४५.२३


गत साता नेप्सेको पिभट बिन्दु १ हजार १ सय ८६ दशमलव ७९ रहेको छ । आगामी साता बजार ओरालो लागे १ हजार १ सय ७३ दशमलव २६ मा टेवा पाउने देखिन्छ । सो बिन्दुभन्दा तल झरेमा नेप्सेले १ हजार १ सय ५८ दशमलव ७६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय १ दशमलव २९ अंकमा प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुलाई तोडेर माथि गए नेप्सेले १ हजार २ सय १४ दशममलव ८२ बिन्दुमा प्रतिरोधको सामना गर्नेछ । 

वाणिज्य बैंकबाहेक सबै समूहको परिसूचक बढ्यो
गत साता वाणिज्य बैंक समूहबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । सो साता जलविद्युत् समूहको परिसूचक १ सय ३३ दशमलव १ अंक बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक सो साता ७० दशमलव ७९ अंक, लघुवित्त समूहको ४९ दशमलव ४९ अंक, अन्य समूहको २४ दशमलव २१ अंक, विकास बैंक समूहको १४ दशमलव ६८ अंक, होटेल समूहको ७ दशमलव ३२ अंक, निर्जीवन बिमा समूहको ६ दशमलव ३६ अंक, व्यापार समूहको ६ दशमलव २५ अंक, वित्त समूहको ४ दशमलव ५६ अंक र उत्पादनमूलक समूहको १ दशमलव ५९ अंक बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक सो साता १० दशमलव ३८ अंक घटेको छ । 

 करिब ३९ प्रतिशत बढ्यो अपर तामाकोसीको सेयरमूल्य
गत साता कारोबारमा आएका १ सय ८४ कम्पनीमध्ये अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ३८ दशमलव ८४ प्रतिशत बढेको छ । त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य २२ दशमलव शून्य २ प्रतिशत बढेको छ । कारोबारमा आएको मिथिला लघुवित्त विकास बैंकको सेयरमूल्य २९ दशमलव ७१ प्रतिशत र बैंक अफ काठमाडौं २० दशमलव ४८ प्रतिशत घटेको छ । 

सर्वाधिक कारोबार नेपाल बैंकको
गत साता कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको सो साता २९ करोड ५८ लाख ९० हजार रुपैयाँ बराबरको ९ लाख ९४ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने सो साता अपर तामाकोसी अगाडि रहेको छ । सो साता सो जलविद्युत् कम्पनीको २ हजार ८ सय ७६ पटक सेयर खरिदबिक्री भएको छ । 

उन्नतिको साधारणसभा
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले माघ २६ गते होटेल पौवा, भैरहवामा चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ४० दशमलव ५० प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, २० प्रतिशत हकप्रद सेयर वितरण गर्ने, कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र मर्जर अथवा एक्विजिसन गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते १ दिनको लागि बुक क्लोज गर्ने भएको छ । 

 सन्राइजको नगद लाभांश वितरण
सन्राइज बैंक लिमिटेडले माघ ४ गतेदेखि ११ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले अभौतिक रूपमा सेयर कायम रहेका सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको हो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई बैंकले शीघ्र सेयर अभौतिकीकरण गरी हितग्राही तथा बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 नयाँ नेपालको अवितरित हकप्रद बाँडफाँड
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३ गते अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले पुस १८ गतेदेखि २५ गतेसम्म निष्कासन गरेको संस्थापक समूहतर्फको ४७ हजार ७ सय ६३ कित्ता सेयर बाँडफाँड गरेको हो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम माघ ७ गतेदेखि आवेदन फाराममा उल्लेखित बैंक खातामा रकमान्तर गरिनेछ । कम्पनीको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

 लक्ष्मीको साधारणसभा
लक्ष्मी बैंक लिमिटेडले माघ २८ गते अग्रवाल भवन, कमलपोखरीमा अठारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ८ दशमलव ५० प्रतिशत बोनस सेयर, शून्य दशमलव ४५ प्रतिशत (कर प्रयोजनार्थ) वितरण गर्ने, डिबेन्चर निष्कासनको अन्डरराइट गर्ने, मर्जर अथवा एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते बन्द गर्ने भएको छ ।