मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रूचि श्रेष्ठ
२०७५ माघ ६ आइतबार ०८:५४:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

सामाजिक सञ्जालको महिमा

आकर्षक, रंगीन र सहज उपलब्ध सामाजिक सञ्जाल सबैको हातहातमै पुग्न सक्ने हुनाले यो हामी सबैलाई भुलाउने माध्यम बनेको छ

Read Time : > 4 मिनेट
रूचि श्रेष्ठ
२०७५ माघ ६ आइतबार ०८:५४:००

सामाजिक सञ्जालबाट छुटकारा कठिन
सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक र नकारात्मक हिसाबले वर्गीकृत गरेर विश्लेषण गर्नुको साटो प्रविधि र यसका प्रयोगकर्ताको स्वभाव र प्रकृति बुझ्नु महत्वपूर्ण हुन्छ । खगेन्द्र संग्रौलाले केहीअघिको आफ्नो आलेखमा भन्नुभएजस्तै प्रविधि आफैँमा खराब वा असल हुँदैन । यसको प्रयोग कसरी गरिन्छ, त्यहीअनुसार यसको असल र खराब प्रभाव देखिने हो । हामीले माने पनि, नमाने पनि प्रविधिको आविष्कार भइसकेको छ र त्यो सत्य हाम्रा सामु छ । जबसम्म हामी मानव समुदायमा बस्छौँ, तबसम्म यसबाट छुटकारा पाउनु सम्भव छैन । कि त अहिलेको प्रविधिको ठाउँमा योभन्दा अग्रगामी प्राविधिक आविष्कार हुनुपर्‍यो, होइन भने अहिलेको नियतिलाई स्वीकार गर्नुपर्‍यो । मानिस सामाजिक प्राणी हो । यो प्राणी विचारको अभिव्यक्तिविना बस्न सक्दैन । यसको प्रकृति नै यही हो । जसरी जंगली जनावर जंगलमा रहनु स्वाभाविक हुन्छ, चराचुरुंगी समूहमा बसाइँ सर्छन्, एउटा बाँदरले प्रीति लगाउन अर्को बाँदरको खोज्छ, त्यसरी नै मानव जातिको जीवनका लागि समुदाय चाहिन्छ । ऊ यही समुदायलाई आफ्ना सुखदुःखको कुरा सुनाउँछ । यही समुदायमा रुन्छ, हाँस्छ । यही समुदायमा कथा कहानी सुनाउँछ र यही समुदायसँग ठट्टा गर्दछ । यही प्रकृतिअनुरूप सामाजिक सञ्जाल सञ्चारको वैकल्पिक माध्यमका रूपमा स्थापित हुन्छ ।

आवश्यकता पूर्तिको भर्चुअल माध्यम
केही समयअघिसम्म हातले बुनेका र हातैले सिलाएका सुती कपडा लगाउनु हाम्रो आवश्यकता थियो । त्यतिवेला, मेसिनमा उत्पादित कपडा लगाउनु बिलासिता मानिन्थ्यो । अहिले जुनसुकै बजार, सपिङ मल र पसलमा गए पनि चिनियाँ सामान छ्यापछ्याप्ती पाइन्छन् । यी कपडा सर्व–सुलभ छ । सस्तो छ । हाम्रो दैनिक जीवनको आवश्यकता र सुविधा पूरा गर्न निकै सोच विचारका साथ उत्पादन गरिएको छ । के यस्ता उत्पादन हाम्रो चाहनाअनुसार भएका हुन् त ? के हामी साँच्चै विकल्परहित भएका हौँ त ? यसैगरी, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग पनि मानव आवश्यकता पूर्तिको ‘भर्चुअल’ माध्यम बनेका छन् । जीवनयापनको सन्दर्भमा मानवजाति क्रमिक रूपमा व्यस्त हुँदै गएको छ । यसैगरी हाम्रो बाँच्ने शैली झन्झन् जटिल र अस्तव्यस्त हुँदै गएको छ । हामी शान्तिका लागि छटपटाइरहेका छौँ । यस्तो अवस्थामा सामाजिक सञ्जाल हामी आफैँले आपूmलाई भुलाउने माध्यम बनेको छ । किनभने, सामाजिक सञ्जाल आकर्षक छ, रंगीन छ, सहज उपलब्ध छ र सबैको हातहातमै बोक्न सकिन्छ ।

नवीनतम आविष्कार, अन्वेषण र सिर्जनात्मक विचारका लागि ‘भर्चुअल नेटवर्क’ पर्याप्त छैन । यसले काम गर्ने वातावरण सिर्जना गर्न सक्दैन । यसका लागि भौतिक अन्तक्रिया र सामाजिकीकरण आवश्यक हुन्छ ।

सामाजिक सञ्जालका आलोचनात्मक प्रभाव
विश्वव्यापी हिसाबले सामाजिक सञ्जालका आलोचनात्मक प्रभावलाई केलाएर हेरौँ । इन्टरनेटको एउटा सानो हिस्साका रूपमा यसको प्रारम्भ भएको थियो । जुकरबर्गले २००४ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयका विद्यार्थीको सञ्जालका रूपमा फेसबुक सुरु गरेका थिए । उनीहरूले यसलाई ‘इभी लिग’ र ‘स्टानफोर्ड’ विश्वविद्यालयका विद्यार्थीसम्म पुर्‍याए । यसको लोकप्रियता ह्वात्तै बढ्यो र फेसबुकले अरू विश्वविद्यालयका विद्यार्थी र पूर्वविद्यार्थीलाई पनि प्रयोग गर्ने अनुमति दियो । फेसबुकको आविष्कारकले पनि फेसबुकको व्यापार विश्वव्यापी रूपमै यति धेरै लोकप्रिय होला भन्ने अनुमान गरेका थिएनन् । अहिले त फेसबुकको प्रयोग गर्न मानिस पढेलेखेको हुनैपर्छ भन्ने पनि छैन । एकजना प्रयोगकर्ताले सयौँ खाता सञ्चालन गर्न सक्छ । के यो राम्रो हो वा खराब ? मलाई मात्रै होइन, यसको जवाफ कसैलाई पनि थाहा छैन । 

कक्षाकोठाबाटै बाहिरी संसारसितको सम्पर्क
सामाजिक सञ्जालको विश्लेषण कैयौँ आयामबाट गर्न सकिन्छ । एउटा महत्वपूर्ण आयाम यसका उपभोगकर्तालाई शोषक र शोषितका रूपमा प्रक्षेपण गर्न सकिन्छ । शोषक ती हुन्, जसलाई आफूले के गरिरहेको हो भन्ने थाहा छ । तर, खेलको मैदानमा रहेका अर्को पक्षका खेलाडीलाई खेलका नियम नै थाहा छैन । यति भन्दाभन्दै पनि सामाजिक सञ्जालमा शोषक नै शोषित भइरहेको अवस्था पनि देख्न पाइन्छ । यो पंक्तिकार शिक्षा आर्जनको सिलसिलामा सन् २००६ मा अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्दा ल्यापटपको प्रयोग सबै विद्यार्थीका लागि अनिवार्य थियो । बजारमा प्रविधिको मूल्य र महत्वलाई स्थापित गर्न प्रविधिकै प्रयोग गरिएको थियो । कागज र त्यससँग सम्बन्धित अन्य उत्पादनको प्रयोग घटाउन खोजियो । उत्साहपूर्ण तवरले रुखको सुरक्षा गर्न सबैलाई सचेत तुल्याइयो । किनभने यसको मुख्य उद्देश्य विश्वव्यापी तापक्रमको असर घटाउनु बताइयो । कक्षाको प्रारम्भ नोटबुक, सेतोपाटी र मार्करको सट्टा ल्यापटपको पावर प्वाइन्ट प्रस्तुतिबाट हुने गथ्र्यो । कक्षाका अनुशासनसम्बन्धी नियम पालना गर्दै बाहिरी संसारसँग जोडिएर बस्न पाएकाले हामी विद्यार्थी खुसी थियौँ । केही दिनमै मैले थाहा पाएँ, पावरप्वाइन्ट प्रस्तुतिमा ध्यान दिएजस्तो गरेर भर्चुअल दुनियाँलाई चियाएर हेर्ने, कम्प्युटरसँग खेल्ने, च्याट गर्ने म मात्रै थिइनँ । त्यसवेला दृश्य अत्यन्त व्यंग्यात्मक बन्यो, जब म कक्षाको अन्तिम लहरमा बस्न पुगेँ । यसरी बस्दा मेरा आँखा आफूअगाडि बसेका सबै विद्यार्थीको ल्यापटपमा पथ्र्यो । कसैको कम्प्युटरमा पनि पावर प्वाइन्टको कोर्स हुँदैनथ्यो । सबै कम्प्युटर प्रयोगकर्ता विद्यार्थी बाहिरी संसारसँग जोडिएर खेल खेलिरहेका हुन्थे । त्यसपछि सन् २०१० तिर त्यही विश्वविद्यालयमा एउटा समय यस्तो आयो, जब शिक्षकले पढाइरहेका वेला ल्यापटपको प्रयोग हतोत्साहित गरियो । त्यतिन्जेलसम्म कक्षामा ल्यापटप प्रयोगका कारण पढाइको गुणस्तर खस्किएको निष्कर्ष निस्किएको थियो । 

सिर्जनात्मकताका लागि अपर्याप्त भर्चुअल नेटवर्क
सन् २०१४–१५ तिर याहु र आइबिएमजस्ता अमेरिकी सूचना प्रविधिका ठूला कम्पनीले कर्मचारीसम्बन्धी नीतिमा परिवर्तन गरेर घरमै बसी कार्यालयको काम गर्ने प्रथा हटाए । त्यतिवेलासम्म टाढा, घरमा बसेर आनन्दसँग सूचना प्रविधिमा काम गर्ने व्यावसायिक हुनु निकै मस्तीको कुरा थियो । कामको यो संस्कृतिले स्वतन्त्रताको मूल्यबोध गराउँथ्यो । पछि तिनै कम्पनीले आफ्ना कर्मचारी कार्यालयमा फर्काउन निकै पापड बेल्नुप¥यो र कडा कारबाही गर्नुपर्‍यो । किन ? अध्ययनबाट देखियो नवीनतम आविष्कार, अन्वेषण र सिर्जनात्मक विचारका लागि ‘भर्चुअल नेटवर्क’ पर्याप्त छैन । भर्चुअल नेटवर्कले काम गर्ने वातावरण सिर्जना गर्न सक्दैन । यसका लागि भौतिक अन्तक्रिया र सामाजिकीकरणको प्रक्रिया आवश्यक हुन्छ । यो तथ्य सबैले अनुभूत गरे भौतिक र सामाजिक वातावरण प्राकृतिक हुन्छ, यो वातावरण व्यापारका लागि बढी उत्पादनमुखी हुन्छ । यसले कामदारलाई क्रियात्मक बनाउँछ । यसले उनीहरूको जीवनशैलीलाई पनि बढी गुणस्तरीय बनाउन सघाउँछ । 

जबसम्म हामी मानव समुदायमा बस्छौँ, तबसम्म यसबाट छुटकारा पाउनु सम्भव छैन । कि त अहिलेको प्रविधिको ठाउँमा योभन्दा अग्रगामी प्राविधिक आविष्कार हुनुपर्‍यो, होइन भने अहिलेको नियतिलाई स्वीकार गर्नुपर्‍यो ।

मानिसका सहमति, असहमति
पाँचजना मानिस एकठाउँमा जम्मा हुन्छन् । एक–आपसमा विचार आदान–प्रदान गर्छन् । ट्विट अनि रिट्विट गर्छन् । टिप्पणी गर्छन् । त्यसपछि सामाजिक सञ्जालमाथि आफ्नो सहमति र असहमति प्रकट गर्छन् । यस्ता कार्यक्रम प्रभावकारी, मनोरञ्जक र समयको सदुपयोगका हिसाबले पनि उत्तम हुन्छन् । तर, तिनै पाँचजना मानिस कुनै रेस्टुराँमा दिउँसोको खाना खान बसेका छन् भने उनीहरू पहिलेकै क्रियामा संलग्न हुन्छन् । तर, यो बसाइमा उनीहरू भौतिक वातावरणप्रति तटस्थ देखिन्छन । उनीहरू ‘अनलाइन’ गतिविधिको चर्चा गर्छन् । तर, आफ्नै टेबुलको छेउमा बसेका साथीको अनुहारमा हेरेर कुरा गर्नु आवश्यक ठान्दैनन् । आफ्ना गतिविधिमा पर्याप्त रेस्पोन्स पाएनन् भने उनीहरू बेचैन हुन्छन् । यो मौकाको सदुपयोग गर्दै उनीहरू सेल्फी खिच्छन् । यो सेल्फी आकर्षक शीर्षकसहित सामाजिक सञ्जालमा पोस्ट गर्छन् । तस्बिरको कमेन्टमा उनीहरू आ–आफ्नो लन्च अनुभव लेख्छन् । यो गतिविधि अर्कोपटक उनीहरूको भेट नभएसम्म जारी रहन्छ । 

स्मार्टफोनको अपेक्षित प्रयोग
प्रविधि र स्मार्टफोनले निश्चय नै हामीलाई स्मार्ट बन्न र स्मार्ट व्यवहार गर्न सिकाएको छ । आजको व्यावसायिक संसारमा यो प्रयोग अपेक्षित पनि छ । किबोर्डको एउटा बटन दबाएका भरमा हामी मानिसको भाग्य बदल्न सक्छौँ । कसैलाई ‘नायक’ वा ‘आइडल’ बनाउन सक्छौँ । यस्ता कुराले हामी निकै शक्तिशाली भएको अनुभूति हुन्छ । साँच्चै नै, यो शक्ति पनि हो । तर, रहस्यको विषय छ ः शक्तिको यो खेल खेल्ने खेलाडी को हो ? हामी प्रयोगकर्ता हौँ कि ? प्रविधि आफैँ हो ? कि अरू केही वा कोही छन् ? अथवा, यो शक्तिको खेलका नाममा फैलिन थालेको भद्रगोल मात्रै हो ? प्रविधिको स्मार्ट प्रयोग गरेर हामी स्मार्ट बन्न सक्छौँ । तर, कडा परिश्रमको विकल्प प्रविधि होइन । ट्विटरमा बढी फलोअर्स भएको व्यक्तिले धेरैको हातहातसम्म पहुँच बनाउन सक्छन् । ती हातको सञ्चालन त हुन्छ, तर यसले धेरै हातको सञ्चालन गर्ने दिमाग नै परिवर्तन गर्न भने सक्दैन । 

(श्रेष्ठ ट्रेनिङ एन्ड ह्युमन रिसोर्स डेभलपमेन्टमा रुचि राख्छिन्)