१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण १६ शुक्रबार ०७:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

२६ वर्षसम्म पनि भएन बस्ती स्थानान्तरण : कृष्णसार संरक्षण चुनौतीपूर्ण बन्दै

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १६ शुक्रबार ०७:३३:००

गुलरिया २ को कृष्णसार संरक्षण क्षेत्रबाट सरकारले २६ वर्षअघि सुरु गरेको बस्ती स्थानान्तरणको काम अझै पूरा भएको छैन । ०५० सालमा सरकारले गुलरिया नगरपालिका २ स्थित कृष्णसार संरक्षण क्षेत्रबाट बस्ती स्थानान्तरणको काम सुरु गरेको थियो । २०५० देखि ०५२ सम्म स्थानान्तरणको काम चल्यो । त्यतिवेला स्थानान्तरण हुनबाट ५१ परिवार छुटेका थिए । ती परिवार बढेर अहिले १ सय ४२ पुगेका छन् । ०५० सालमा कृष्णसार संरक्षण क्षेत्रको सीमा निर्धारण गरी बस्ती स्थानान्तरण सुरु गरिएको थियो । त्यस क्षेत्रलाई ०६५ चैतमा सरकारले संरक्षण क्षेत्र घोषणा गरेको हो ।

त्यतिवेला संरक्षण क्षेत्रमा बसोबास गर्ने किसानबाट सरकारले २ सय ४५ बिघा जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो । मुआब्जा पाउने परिवारले संरक्षण क्षेत्र छाडे । तर, जग्गाधनी प्रमाण पुर्जा नभएका ५१ परिवारले मुआब्जा पाएनन् । उनीहरूले बस्ती पनि छाडेनन् । त्यतिवेला स्थानान्तरण हुन बाँकी ५१ परिवार बढेर अहिले १ सय ४२ पुगेका छन् । पुराना परिवारको स्थानान्तरण नहुँदा बस्तीमा बाहिरबाट आएर बस्नेको संख्या पनि बढ्दै गएको छ । ०६४ मा ४९ नयाँ परिवारले कृष्णसार संरक्षण क्षेत्र अतिक्रमण गरी बसोबास सुरु गरेको जानकारहरू बताउँछन् । 

 किसान र कृष्णसार दुवै संकटमा
संरक्षण क्षेत्रबाट बस्ती स्थानान्तरण नहुँदा कृष्णसारको संरक्षण चुनौतीपूर्ण बन्दै गएको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष कृष्ण खनालले बताए । ‘कृष्णसारलाई चरन क्षेत्रको कमी छ । तारबार बलियो छैन,’ खनालले भने, ‘नजिकैको मानव बस्तीकै कारण कृष्णसारमाथि कुकुरले आक्रमण गर्छ । जंगली जनावरको आक्रमणबाट पनि कृष्णसारको संख्यामा कमी आइरहेको छ ।’ 

बस्तीका पशुचौपायाबाट विभिन्न रोग सर्दा कृष्णसार संकटमा पर्दै गएका खनालले बताए । ‘बस्तीका कारणले एकातिर कृष्णसारको व्यवस्थापनमा कठिनाइ सिर्जना भएको छ भने अर्कोतिर कृष्णसारले बालीनाली नष्ट गरिदिँदा जोताहा किसान झनै मारमा परेका छन्,’ खनालले भने । कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख अर्जुन भुुसाल पनि बस्ती स्थानान्तरण नहुँदा कृष्णसार संरक्षणमा चुनौती बढ्दै गएको बताउँछन् । ‘बस्ती स्थानान्तरण नहुँदा कृष्णसारको दिगो संरक्षणका लागि कुनै पनि योजना बनाउन सकेका छैनौँ । स्थानीय किसानले पनि निकै सास्ती पाउँदै आएका छन्,’ उनले भने ।

 हचुवाका भरमा संरक्षण क्षेत्र घोषणा
सरकारले कृष्णसार संरक्षण क्षेत्रभित्र रहेका बस्ती स्थानान्तरण नगरी हचुवाका भरमा संरक्षण क्षेत्र घोषणा गर्दा जोताहा किसान मर्कामा परेका हुन् । यसले कृष्णसारको संरक्षणमा पनि चुनौती थपिएको छ ।  संरक्षण क्षेत्र घोषणापछि स्थानीयको झन् बिजोग भएको गुलरिया नगरपालिका २ का अध्यक्ष टंकप्रसाद अधिकारीले बताए । ‘बस्ती व्यवस्थापन होला भनेर त्यतिवेला मन्त्रालय र विभागमा धाएर संरक्षण क्षेत्र घोषणा गर्न हामीले पनि सहयोग ग-यौँ,’ उनले भने, ‘तर अहिले सरकारले मान्छेलाई भोकै पारेर कृष्णसारको मात्र संरक्षण गर्न खाजेको देखिँदै छ । यसबाट यहाँका किसान ठूलो पीडामा छन् ।’ संरक्षण क्षेत्र घोषणाअघि नै बस्ती सार्नुपर्नेमा सरकारले २६ वर्ष बितिसक्दा पनि बस्ती स्थानान्तरणमा ध्यान नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।