मुलुकको आम्दानीभन्दा खर्च अधिक बन्दै गएपछि शोधनान्तर स्थिति उच्च घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक चालू आर्थिक वर्ष ०७५/७६ को पहिलो ५ महिनामा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा छ ।
उच्च आयात, घट्दो निर्यात तथा सेवा क्षेत्रबाट हुने आम्दानी ऋणात्मक बन्दै गएपछि त्यसले शोधनान्तर घाटा बढाएको हो । चालू आवमा शोधनान्तर स्थिति घाटामा जाने क्रम जारी छ । अघिल्लो आवको पहिलो ५ महिनामा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोड मात्र घाटामा थियो । चालू आवको ५ महिनामा विप्रेषण आयमा वृद्धि भए पनि आयात भने ३४.२ प्रतिशतले बढेको छ । विदेशी विनिमय सञ्चितिसमेत घट्न गएपछि चालू आवको पहिलो ५ महिनामा अर्थतन्त्रका सूचकांकहरू नकारात्मक अवस्थामा देखिएका छन् ।
चालू खातामा चाप
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालू खातासमेत १ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आवको पाँच महिनामा चालू खाता घाटा ५४ अर्ब ११ करोड मात्र थियो । चालू खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । जब देशबाट बढी रकम बाहिरिन्छ, त्यसले चालू खाता पनि घाटामा जान्छ । विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, विप्रेषणका माध्यमबाट मुलुकभित्र विदेशी मुद्रा भित्रिन्छ । वस्तु तथा सेवा आयातका माध्यमबाट नेपालबाट विदेशी मुद्रा बाहिरिन्छ ।
५ महिनामा ६ खर्बको आयात
चालू आवको ५ महिनामा नेपालले कुल ६ खर्ब ७ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आवको यही अवधिको तुलनामा ३४.२ प्रतिशतले बढी हो । यस अवधिमा निर्याततर्फ भने झिनो मात्र प्रगति छ । नेपाल राष्ट्र बैंकका अनुसार ११.२ प्रतिशतले निर्यात बढ्दा पनि केवल ३७ अर्ब ५० करोड रुपैयाँबराबरको मात्र वस्तु निर्यात भएको तथ्यांक छ । बढ्दो आयात र निर्यातमा हुन नसकेको वृद्धिले व्यापार घाटा चुलिएको हो । तथ्यांकअनुसार समीक्षा अवधिमा व्यापार घाटा ३६.१ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ ।
कस्तो छ ५ महिनाको अर्थतन्त्र ?
-वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७ प्रतिशत
-आयातको वृद्धिदर ३४.२ प्रतिशत र निर्यात वृद्धिदर ११.२ प्रतिशत
-विप्रेषण आय ३१.९ प्रतिशतले वृद्धि
-शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटा
-नगद प्रवाहमा आधारित सरकारी खर्च ६.८ प्रतिशत र राजस्व संकलन २६.३ प्रतिशत वृद्धि
-बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६.२ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशत वृद्धि