१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण १५ बिहीबार १०:५१:००
Read Time : > 1 मिनेट
खेलकुद

च्याम्पियन्स लिग : घरेलु मैदानमा रियाल स्तब्ध, जुभेन्टस पनि पराजित

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १५ बिहीबार १०:५१:००

युइएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा  रियाल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले गोलअन्तरले पराजित भएको छ । 
घरेलु मैदान सान्टियागो बेर्नाबाउमा गएराति भएको खेलमा रियाल म्याड्रडले सुरुवाती अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । 

पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोस्रो हाफमा आक्रमक देखिएका थिए ।  दोस्रो हाफको ६० औं मिनेटमा इस्कोले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । उनले भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका थिए । तर रियालको अग्रता १८ मिनेटसम्म मात्र टिक्यो । 

सिटीका ग्याब्रियल जेससले खेलको ७८ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । जेससले केभिन डे ब्रुनोको पासमा गोल गरेका थिए । बराबरी गोलको पाँच मिनेटमै सिटीले अर्को गोल फर्कायो । 

ड्यानी कार्भाजलले रहिम स्टरलिङलाई लडाएपछि रेफ्रीले  पेनाल्टी दिएका थिए । डे ब्रुनाले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए । गोलसँगै सिटीले जित पक्का गरेको हो । 

त्यसैगरी खेलको ८६ औं मिनेटमा रियालका कप्तान रामोस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । सिटीका जेससलाई रामोसले लडाएपछि रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए । जितसँगै सिटीले च्याम्पियनस लिगको सेमिफाइनल यात्रालाई मजुबत बनाएको छ । राउन्ड १६ को दोस्रो लेगको खेल मार्च १८ मा राति पौने दुई बजे हुनेछ । 

त्यसैगरी लिगअन्तर्गत गएराति भएको अर्को खेलमा लियोनले बलियो प्रतिद्वन्द्वी जुभेन्टसलाई १–० गोलअन्तरले स्तब्ध पारेको छ । लियोनको घरेलु मैदानमा भएको खेलमा लुकास तोउसार्टले गोल गरे । 

खेलको ३१ औं मिनेटमा भएको उक्त गोल नै लियोनको जितका लागि पर्याप्त बन्यो । खेल अवधिभर ६४ प्रतिशत बल नियन्त्रण गरेको जुभेन्टसले एक गोल पनि गर्न नसक्दा हार खेप्न बाध्य भएको हो । 

युभेन्टसले दोस्रो हाफमा पनि घरेलु टोलीलाई दबाबमा राखेको थियो । पहिलो हाफमा १–० ले पछि परेको जुभेन्टसले खेलअवधिभर केही राम्रा अवसर गुमाएको थियो । 

अब जुभेन्टसको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके लियोनले क्वाटरफाइनलको यात्रा तय गर्नेछ । यी दुईवीचको अर्को खेल पनि आगामी मार्च १८ मै हुनेछ ।