खोज पत्रकारिता केन्द्र (खोपके)ले दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा समावेश भएका विषयप्रति सिजी होल्डिंग्सका प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले आपत्ति जनाएका छन् । चौधरीले शनिबार एक विज्ञप्ति जारी गरेर ‘आफू र आफ्नो परिवारको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भएको’ भन्ने विषयप्रति आपत्ति जनाएका हुन् ।
‘यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो,’ चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘त्यस वेलासमेत हामीले यो विषयमा प्रस्ट पारेको सर्वविदितै छ, सिआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्षपहिला खुलेको र ६÷७ वर्ष पहिले नै स्ट्राइक अफ भइसकेको छ ।’
चौधरीले सो कम्पनीमा आफू र आफ्नो परिवारको कुनै आबद्धता तथा सरोकार नभएको पनि बताएका छन् । ‘जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रासमेत गरेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दासमेत प्रस्ट हुन्छ ।’
सो रिपोर्टले कम्पनीको सेयरहोल्डर भनी उल्लेख गरेका आफ्ना छोराहरूको उमेर कम्पनी स्थापनाताका १० र ५ वर्ष मात्र रहेको उनले बताएका छन् । ‘छोराहरूलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेर बेलायतका साथीहरूले भनेका थिए, हामीले खोलेनौँ,’ उनले भनेका छन्, ‘ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो वेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला ।’
ट्याक्स हेवन मुलुकमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत आफूहरूलाई जोडिएको भन्दै उनले ती दुई कम्पनीमा आफूहरूको कुनै साझेदारी नरहेको बताएका छन् । ‘मेरो कुनै पनि स्विस बैंकमा खाता छैन,’ उनले भनेका छन्, ‘कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिङ समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन ।’
आफ्नो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीमा हालसम्म वैदेशिक लगानी (एफडिआई) नआएको पनि उनले दाबी गरेका छन् । स्वदेशमा अस्तित्वमा रहेका कम्पनीमा आफू र आफ्नी श्रीमतीबाहेक अरू कसैको लगानीसमेत नरहेको भन्दै त्यस्तो पाइए त्यस्तो वैदेशिक लगानी सरकारीकरण गर्नसमेत उनले चुनौती दिएका छन् ।
आफूले अटो मोबाइल्स, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको हजारौँलाई रोजगारी दिइरहेको र करोडौँ रुपैयाँ राजस्वमा बुझाउँदै आएको उनले उल्लेख गरेका छन् । विदेशमा लगानीसम्बन्धी ऐनको व्यवस्थालाई आफू र आफ्नो परिवारले पूर्णरूपमा पालना गर्दै आएको र ऐनका व्यवस्थालाई अक्षरशः पालना गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।