१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार ०८:२९:००
Read Time : < 1 मिनेट
अर्थ

रोजगारीको आकर्षक गन्तव्य हङकङ खुलाउन माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १५ बिहीबार ०८:२९:००

मासिक २ लाखसम्मको आकर्षक पारिश्रमिक पाउन सकिने गन्तव्य हङकङमा रोजगारी खुलाउन त्यहाँको गैरआवासीय नेपाली संघले माग गरेको छ । हङकङमा अझै पनि नेपालीको इज्जत र उच्च माग गरेको दाबी गर्दै संघले सरकारसँग रोजगारी खुलाउने पहल गरिदिन जोडदार माग गरेको हो । 

हङकङले सन् २००५ देखि नेपाली कामदारलाई रोजगारीका लागि भिसा दिन बन्द गरेको हो । ‘भिजिट भिसा’मा जाने नेपालीहरू ‘ओभर स्टे’ गर्ने र शरणार्थी भई बस्न थालेपछि हङकङ सरकारले नेपालीलाई बन्द गरेको हो । तर, हङकङमा नेपालीको छवि इमानदार र मिहिनेती मानिएकाले अझै उच्च माग रहेको गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङले जानकारी दिइन् । ‘अधिकांश कम्पनीले घरेलु कामदारका लागि पनि सबैभन्दा पहिला नेपाली खोज्छन्,’ उनले भनिन्, ‘नेपाली नभेटिए मात्रै अन्य मुलुकका कामदार राख्छन् ।’ 

महिलाका लागि घरेलु कामदार र पुरुषका लागि सुरक्षागार्डमा नेपाली बढी माग हुने गरेको संघकी अध्यक्ष गुरुङले बताइन् । उनका अनुसार घरेलु कामदारलाई खानेबस्ने सुविधासहित मासिक नेपाली ७० हजार रुपैयाँसम्म पारिश्रमिक हुन्छ । त्यस्तै, सुरक्षागार्डका लागि खानेबस्ने सुविधासहित मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक हुन्छ । 

हाल हङकङमा ३० हजार गैरआवासीय नेपाली छन् । त्यस्तै, हङकङमा शरणार्थीका रूपमा बसोवास गर्ने नेपालीको संख्या १ सय ५० छ । केही वर्षअघि हङकङमा शरणार्थीका रूपमा बस्ने नेपालीको संख्या १ हजार २ सय थियो । शरणार्थी भई बस्ने अधिकांश नेपाली फर्किसकेका छन् । हङकङमा नेपालीबाहेक भारतीय, पाकिस्तानी र बंगलादेशीसमेत शरणार्थीका रूपमा बस्दै आएका छन् ।