१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
जनार्दन बराल
२०७५ माघ ६ आइतबार ०६:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

विश्व आर्थिक मञ्चमा सहभागी हुन प्रधानमन्त्री आज स्विट्जरल्यान्ड प्रस्थान गर्दै

Read Time : > 2 मिनेट
जनार्दन बराल
२०७५ माघ ६ आइतबार ०६:२६:००

प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गर्दै छन् । २२ देखि २५ जनवरीसम्म स्विट्जरल्यान्डको डाभोसमा हुने मञ्चको सभामा प्रधानमन्त्री सहभागी हुनेछन् । विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनेछन् । 

विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्नेछन् । पहिलो सत्र ‘दक्षिण एसियामा रणनीति दृष्टिकोण’ शीर्षकमा हुनेछ भने दोस्रो सत्र ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ रहेको छ । त्यस्तै, ‘हामीले अहिले देखेजस्तो विश्व व्यापारको अन्त्य’ शीर्षकको अनौपचारिक सभालाई पनि उनले सम्बोधन गर्नेछन् । त्यस सभामा विश्वका आर्थिक क्षेत्रका नेताहरू सहभागी हुनेछन् । आन्तरिक समस्याका कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अन्तिम समयमा भ्रमण रद्द गरेका छन् ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा भियतनामलगायत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग द्विपक्षीय वार्तासमेत गर्ने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । त्यस्तै, विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, विश्वविख्यात मिडियासँग अन्तरक्रिया र छफलफलसमेत हुने उनको भनाइ छ । 

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा पनि हुनेछन् । प्रधानमन्त्री २६ जनवरीमा स्वदेश फर्कने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । 

को–को आउँदै छन् डाभोसमा 
-सिन्जो आवे, जापानी प्रधानमन्त्री
-एन्जेला मर्केल, जर्मन चान्सलर
-जेसिन्डा आर्डर्न, न्युजिल्यान्डकी प्रधानमन्त्री
-राजकुमार विलियम, बेलायतका राजकुमार
-सर डेभिड एटेनबोरोउघ (सहभागीमध्ये वृद्ध), विश्वप्रसिद्ध ब्रोडकास्टर तथा प्रकृतिविद्
-उएली मौरर, स्विट्जरल्यान्डका राष्ट्रपति 
-जैर बोल्सोनारो, ब्राजिलका राष्ट्रपति 
-वाङ क्विसान, चीनका उपराष्ट्रपति 
-पेड्रो सान्चेज, स्पेनका प्रधानमन्त्री 
-बर्हम सलिह, इराकका राष्ट्रपति
-मोहम्मद असरफ घानी, अफगानिस्तानका राष्ट्रपति
-बेन्जामिन नेतान्याहु, इजरायलका प्रधानमन्त्री
-पाउल कागामी, रुवान्डाका राष्ट्रपति
-स्रिल एम रामाफोसा, दक्षिण अफ्रिकाका राष्ट्रपति
-गुयन जुआन फुक, भियतनामका प्रधानमन्त्री
-एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्रसंघका महासचिव

छलफलका मुख्य विषय
विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा यसपटक विश्वव्यापीकरणको अझ राम्रो संस्करण कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य विषयवस्तु ‘चौथो चरणको विश्वव्यापीकरण : चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण’  छ । ‘विश्वव्यापी सहयोग तथा सहकार्यमा अहिले ठूलो दबाब छ, विश्वव्यापीकरण असफल भयो भनेर मानिसले ठूलो निराशा प्रकट गरिरहेका वेला छलफलको यो विषय तय गरिएको हो,’ फोरमले भनेको छ । 

मूलतः ६ वटा बृहत् विषयवस्तु बहुअवधारणायुक्त विश्वमा भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवद्र्धनका लागि जोखिमको लचकता, मानवपुँजी र समाज,  विश्वव्यापी संस्थागत सुधारमा छलफल केन्द्रित हुनेछ ।

कार्यक्रम किन महत्वपूर्ण ? 
विश्वभरका सरकार, निजी क्षेत्र तथा नागरिक समाजका नेताहरू एकै ठाउँमा जम्मा हुने यो एक मात्रै सभा हो । एक सयभन्दा बढी देशका सरकार प्रमुख तथा सदस्यहरू, विश्वका एक हजारभन्दा बढी ठूला कम्पनीका प्रमुख कार्यकारी, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, विश्व व्यापार संगठनलगायत  धेरै विश्व संस्थाका प्रतिनिधि, नागरिक समाज तथा वैकल्पिक सोचका नेताहरू एकै ठाउँमा जम्मा हुन्छन् । यो सार्वजनिक र निजी साझेदारीको एउटा छुट्टै मञ्च हो, जहाँ विश्वव्यापी मुद्दाहरूमा स्वतन्त्र बहस हुन्छ । यसले गरेका निर्णय र निष्कर्षहरूलाई विश्वका सरकार तथा निजी क्षेत्रले सम्मान गर्ने गर्छन् ।

विदेशी लगानी र लगानी सम्मेलन प्राथमिकता
डा. राजन भट्टराई
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार

हामीले अहिले ठूलो राजनीतिक परिवर्तन गरेका छौँ । राजनीतिक संक्रमणलाई पार लगाएका छौँ । हाम्रो अबको प्राथमिकता विकास र समृद्धि नै हो । तर, विश्वव्यापीकरणको अहिलेको युगमा हाम्रो मात्रै प्रविधि, ज्ञान र लगानीले हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ । विश्व समुदायसँग सहयोग र साझेदारी गर्दै अघि बढ्नुपर्ने हुन्छ । त्यसैले यो स्तरको मञ्चमा सहभागी हुनु आवश्यक हुन्छ । 

यो सम्मेलनमा विश्वका राजनीतिक नेता मात्रै होइनन्, विश्वभरिका ठूला लगानीकर्ता सहभागी हुन्छन् । उनीहरूबाट पुँजी, प्रविधि र ज्ञान भित्र्याउन यो मञ्चले मद्दत गर्नेछ । त्यसका लागि हामीले आफ्नो अवस्था र विशेषता प्रस्तुत गर्नेछौँ । हाम्रो मुलुकमा लगानीका सम्भावना के छन् भन्ने विषय हामी प्रमुख रूपमा प्रस्तुत गर्नेछौँ । 

नेपालका प्रधानमन्त्रीलाई पहिलोपटक यो स्तरको अवसर प्राप्त भएको छ । हामीले हाम्रो संविधान जसरी बनायौँ र संवैधानिक प्रक्रियाबाट दुईतिहाइको सरकार बनाएका छौँ, संविधानले निर्देश गरेअनुसार अघि बढिरहेका छौँ । कुन नामको पार्टीको वा कुन सिद्धान्तको सरकार बनेको छ भनेर मुलुकका नीतिहरू फरिँदैनन् । मुलुकले ठूलो अवसर प्राप्त गरेको छ । यस अवसरलाई हामी खेर जान दिँदैनौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा यही कुरा हामी बुझाउन चाहन्छौँ ।

अहिले विदेशी लगानी ल्याउने सन्दर्भमा विश्वमा ठूलो प्रतिस्पर्धा छ । हाम्रा नजिकका छिमेकीहरू बंगलादेश, भारत, श्रीलंका, भियतनामलगायतले पनि विदेशी लगानी आकर्षित गर्न ठूलो मिहिनेत गरिरहेका छन् । यस्तो अवस्थामा हामी अन्य मुलुकभन्दा किन बढी लगानीमत्री छौँ, हाम्रोमा के–के विशेषता छन् जुन अन्य देशमा छैनन्, ती कुरा पुष्टि गर्ने आधारसहित डाभोस जाँदै छौँ । हामीकहाँ आएका बहुराष्ट्रिय कम्पनीहरूले अन्य मुलुकको तुलनामा धेरै राम्रो नाफा गरेका छन् ।

पर्यटन तथा जलविद्युत्मा हामीकहाँ सबैभन्दा राम्रो अवसर छ । श्रम सम्बन्ध राम्रो छ । भौगोलिक हिसाबले भारत र चीनजस्ता संसारकै ठूला बजार हाम्रा नजिक छन् । त्यसैले हामीकहाँ लगानी गर्न आउनुस् भन्ने प्रस्ताव हामी गर्नेछौँ । आगामी मार्चमा हामी लगानी सम्मेलन गर्दै छौँ । त्यो सम्मेलनलाई पनि मध्यनजर गरेर हाम्रो सन्देश अन्तर्राष्ट्रिय समुदायमा लैजाँदै छौँ ।