मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०९:४१:००
Read Time : > 1 मिनेट
अर्थ

महासंघ सदस्यमा घिमिरेको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०९:४१:००

मुलुकभरका व्यवसायीहरुको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आह्वान गरेको २८–२९ चैतको निर्वाचनमा उद्योगी शिवप्रसाद घिमिरेले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्वका स्थापित उद्योगी घिमिरेले बस्तुगत तर्फको कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बर्तमान कार्यसमितिमा पनि केन्द्रिय सदस्यको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । पेट्रोलियम क्षेत्रका अग्रणी व्यवसायी घिमिरेलाई नेपाल एलपी ग्यास उद्योग संघले बस्तुगत तर्फको कार्यकारिणी समितिको सदस्यमा उम्मेदवारी दिन समर्थन गरेको छ ।

घिमिरे एलपी ग्यास संघको निवर्तमान अध्यक्ष हुन् । उनी देशभरमा सबैभन्दा धेरै ग्यास उद्योग संचालन गर्ने उद्योगी हुन् । एलपी ग्यास उद्योग संघ महासंघसँग एसोसिएट भएको बस्तुगत संघ हो । घिमिरेले काठमाडौं, हेटौंडा तथा पूर्वी नेपालमा दुई दर्जन भन्दा बढी पेट्रोल पम्पसमेत संचालन गर्दै आएका छन् । उनी पेट्रोलम्प संचालकहरुको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन् । 

पछिल्लो समय उनले पेट्रोलियम बाहेक शिक्षा, अटोमोबाइल, अक्सिन प्लान्ट, जलविद्युत आयोजना निर्माणलगायतमा लगानी बिस्तार गरेका छन् । उनले बझाङ र दार्चुलामा जलविद्युत आयोजना निर्माणको गतिलाई तिव्रता दिएका छन् ।  त्यसैगरी ‘मोटरहेड’ ब्राण्डको मोटरसाइकल आयात गरी देशभर बिक्री बितरण गरिरहेका छन् । अहिले बजारमा उपलब्ध ‘एमजी’ ब्राण्डको कार उनकै नेतृत्व रहेको व्यवसायीक समूहले भित्र्याएर हाल अर्कै समूहलाई हस्तान्तरण गरिसकेका छन् ।

घिमिरे नेतृत्वको व्यवसायीक समूहले सिन्धुलीमा १४ अर्ब रुपैयाँ लगानी गरी क्लिंकरसहितको सिमेन्ट उद्योग स्थापना प्रकृया अघि बढाएको छ । ‘गरुड सिमेन्ट प्रालि’ नाम राखिएको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमताको राख्ने घिमिरेले जानकारी दिएका छन् । 

उनका अनुसार काभ्रेको खानीखोला गाउँपालिकामा चुनढुङ्गा भेटिएकाले उत्खनन्का लागि आवश्यक डिपिआर निर्माणको काम भइरहेको छ । उनले टेलिभिजन, अनलाइन र रेडियोमा समेत लगानी गरेका छन् ।

कार्यसमिति सदस्यमा उम्मेदवारी दिदैं उनले महासंघको गरिमा उच्च राख्न भगिरथ प्रयत्न जारी राख्ने बताएका छन् । ‘महासंघ जस्तो गरिमामय संस्थामा रहेर काम गर्ने इच्छाअनुसार नै अघिल्लो पटक सदस्य पदमा उम्मेदवारी दिंदा सबै साथीभाईको साथ पाएँ । अहिले पनि सोही साथ पाउने आशा लिएर उम्मेदवारी घोषणा गरेको छु’ उनले भने ।

एलपी ग्यास उद्योग संघले पनि सबै बस्तुगत संघलाई पत्राचार गर्दै घिमिरेलाई बिजयी मत दिन आग्रह गरेको छ । संघ अध्यक्ष गोकूल भण्डारीको हस्ताक्षरसहित सबै बस्तुगत संघलाई पठाइएको पत्रमा भनिएको छ, ‘मिति २०७६ चैत २८–२९ मा हुन गइरहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा यस नेपाल एलपी ग्यास उद्योगको मिति २०७६–१०–१२ गतेको कार्यसमितिको बैठकबाट यस संघका निर्वतमान अध्यक्ष श्री शिवप्रसाद घिमिरेज्यूलाई बस्तुगत तर्फको कार्यकारीणी समितिको सदस्यमा उम्मेदवारी दर्ता गर्न सर्वसम्मत निर्णय गरिएको व्यहोरा जानकारी गराउँदै तहाँहरुबाट विगतमा पाएकै साथ सहयोग अपेक्षा गर्दै यसपटक पनि श्री शिवप्रसाद घिमिरेज्यूलाई अत्यधिक बहुमतबाट बिजयी गराई महासंघको प्रतिनिधित्व गर्न सहयोग गरिदिनुहुनु यस संघ हार्दिक अनुरोध गर्दछ ।’