मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १०:००:००
Read Time : > 2 मिनेट
अर्थ

निजगढ विमानस्थलबाट पहिलो वर्षमै ७५ लाख यात्रुलाई सेवा, २३ अर्ब नाफा हुने 

नागरिक उड्डयन प्राधिकरणको आर्थिक प्रक्षेपण

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १०:००:००

१ खर्ब २१ अर्बमा बनाइने पहिलो चरणको निर्माण सम्पन्नपछि निजगढ विमानस्थलले सञ्चालनको पहिलो वर्षमै २३ अर्ब कमाउन सक्ने मात्र होइन, सन् २०४६ सम्म वार्षिक ८२ अर्ब रुपैयाँ कमाउन सकिने आर्थिक प्रक्षेपण प्राधिकरणले गरेको छ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको निर्माणपछि सञ्चालनमा आएको पहिलो वर्षमै २३ अर्ब रुपैयाँ खुद नाफा कमाउन सकिने नेपाल नागरिक उड्डयन प्राधिकणले प्रक्षेपण गरेको छ । प्राधिकरणले तयार पारेको प्रारम्भिक अध्ययनको आर्थिक प्रक्षेपणले सन् २०२५ मा पहिलो चरणको विमानस्थल मात्रै सञ्चालनमा ल्याउन सके पहिलो वर्षमै २३ अर्ब खुद नाफा कमाउन सकिने देखाएको हो । 

यता, सञ्चालनमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल वार्षिक ७ अर्ब रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ । यो विमानस्थलले सरदर ५ अर्ब रुपैयाँ नाफा गर्छ । प्राधिकरणले गरेको अध्ययनअनुसार पहिलो चरणको विमानस्थल निर्माण सन् २०२० बाट थालेर पाँच वर्षमा सकिनेछ । पहिलो चरणको लागत १ खर्ब २१ अर्ब खर्च हुने अनुमान गरिएको छ ।  

प्राधिकरणले सन् २०२५ देखि २०४६ सम्मको पहिलो चरणको विमानस्थल निर्माण र सञ्चालनको आम्दानी र खर्चको प्रक्षेपणअनुसार सन् २०४६ सम्म वार्षिक ८२ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाउन सकिने प्रक्षेपण गरेको छ । नयाँ पत्रिकालाई प्राप्त निजगढ विमानस्थलको आर्थिक प्रक्षेपणअनुसार निर्माणको पहिलो वर्षमा नै आन्तरिक र अन्तर्राष्ट्रिय गरेर ७५ लाख यात्रुले सेवा पाउने प्रतिवेदनमा उल्लेख छ । 

विमानस्थल निर्माण र आर्थिक पक्षका विषयमा अध्ययन गरेर नै निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘अध्ययनमा यात्रु, राजस्व उडान संख्या सबै प्रक्षेपण गरिएको छ,’ अधिकारीले भने ।  

प्रतिवेदनमा सन् २०४६ सम्म एकल धावनमार्गमार्फत विमानस्थल सञ्चालन गर्दा पनि वार्षिक २ करोड ९९ लाख ५० हजार यात्रुले विमानस्थलमार्फत सेवा लिने प्रक्षेपण गरिएको छ । प्रक्षेपणमा अन्तर्राष्ट्रियतर्फ ७ प्रतिशतको वृद्धि आकलन गरिएको छ । आन्तरिकतर्फ १० प्रतिशत वृद्धिको प्रक्षेपण गरिएको छ । 

प्रक्षेपणमा वार्षिक रूपमा सञ्चालन खर्च वार्षिक १ अर्ब ७० करोड रुपैयाँ हुने अनुमान गरिएको छ । पहिलो चरणमा एकल धावनमार्गसहितको निर्माण लक्ष्य राखिएको विमानस्थल दोस्रो चरणमा दोहोरो धावनमार्ग निर्माण हुनेछ । तेस्रो चरणमा तेस्रो धावनमार्ग निर्माण तयार हुनेछ । 

कुन शीर्षकमा कति आम्दानी ?  

प्रक्षेपणअनुसार एयरक्राफ्ट ल्यान्डिङ शुल्कबाट पहिलो वर्ष नै ६ अर्ब ४० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी यात्रुसेवा शुल्कबाट ६ अर्ब ८० करोड खुद नाफा प्रक्षेपण गरिएको छ । 

एयरपोर्ट डेभलपमेन्ट शुल्कबाट पहिलो वर्ष नै ७ अर्ब ५८ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य राखिएको छ । भाडा तथा पार्किङ शुल्कबाट पहिलो वर्ष नै ८० करोड रुपैयाँ खुद नाफा गर्ने लक्ष्य राखिएको छ । विमानस्थलले वार्षिक रूपमा २३ अर्ब खुद नाफा गर्दा आम्दानी २५ अर्बभन्दा बढी गर्ने लक्ष्य राखिएको छ । सन् २०३० मा ३५ अर्ब खुद नाफाको लक्ष्य राखिएको छ । त्यस्तै, सन् २०३५ मा ४४ अर्ब खुद नाफा कमाउने  प्रक्षेपण गरिएको छ । त्यस्तै, सन् २०४० मा ५८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफाको प्रक्षेपण गरिएको छ । सन् २०४६ मा ८३ अर्ब रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ ।

विगतमा २५ सय हेक्टर जमिनमा विमानस्थल निर्माण हुने भने तापनि १९ सय हेक्टर जमिनमा नै तीनवटा धावनमार्ग निर्माण हुनेछन् । हाल ६० बिघा जमिनमा मुआब्जा वितरण भइसकेको छ ।  अब ५० बिघा जमिन मात्रै मुआब्जा वितरण हुनेछ । त्यसैगरी, १ लाख १४ हजार रूख कटान गरिनेछ । पहिलो चरणमा एक मात्रै धावनमार्ग तयार पारिने भएकाले ४ हजार मिटर लामो र ६० मिटर चौडाको हुनेछ । त्यसैगरी, जसमा खाली चौडामा भने ३ सय मिटर र लम्बाइमा ४ हजार १ सय २० मिटरको रहनेछ । 

२० वर्षमा ३ करोड हवाई यात्रु

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक पक्षअन्तर्गत तयार पारिएको प्रतिवेदनअनुसार सन् २०२५ मा ७५ लाख ८८ हजार यात्रुले सेवा लिने लक्ष्य राखिएको छ । त्यसैगरी, सन् २०३० मा १ करोड ११ लाख हवाई यात्रु पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सन् २०३५ मा १ करोड ५१ लाख हवाई यात्रुले सेवा लिनेछन् । त्यस्तै, सन् २०४० मा २ करोड ६१ हजार हवाई यात्रु पुग्नेछन् भने सन् २०४६ मा २ करोड ९९ लाख हवाई यात्रु पुग्ने प्रक्षेपण गरिएको छ । 

उडान संख्या सन् २०२५ मा १ लाख ३२ हजार ६ सय ८५ उडान–अवतरण हुनेछन् । सन् २०३० मा १ लाख ७३ हजार उडान–अवतरण हुनेछन् । सन् २०३५ मा २ लाख २६ हजार उडान–अवतरण हुनेछन् । त्यसैगरी, सन् २०४० मा २ लाख ९६ हजार उडान–अवतरण हुनेछन् भने सन् २०४६ मा २ लाख ९९ हजार उडान–अवतरण हुने प्रक्षेपण गरिएको छ ।