१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण १४ बुधबार ०७:३१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

भ्रमण वर्षको दुर्दशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण १४ बुधबार ०७:३१:००

नेपाल भ्रमण वर्ष २०२० आरम्भमै संकटमा फसेको छ । हिमपहिरोलगायत घटनाले सुरुमै अपशकुन व्यहोरेको भ्रमण वर्षलाई चीनमा फैलिएको कोरोना भाइरसको मार थपिएको छ । कोरानाका कारण एकातिर चिनियाँको भ्रमण झन्डै ठप्प भएको छ । अर्कोतिर युरोपेली र अमेरिकीहरू दक्षिण तथा दक्षिणपूर्वी एसियाको भ्रमणमा आउन तर्कन थालेका छन् ।

पछिल्लो समय जापान, कोरिया र इटालीलगायत देशमा विस्तार हुन पुगेको कोरोनाको प्रभावले समग्र विश्वकै पर्यटन व्यवसाय धरापमा परेको छ । पर्यटन व्यवसायसँग सम्बन्धित ट्राभल एजेन्सी, हवाई सेवा प्रदायक कम्पनी र पर्यटनमा आश्रित होटेल तथा अरू व्यवसाय संकटमा परेका छन् । यसको प्रभाव सबैभन्दा बढीचाहिँ चिनियाँ पर्यटकमा आधारित क्षेत्रमा परेको छ । नेपाल भ्रमण वर्षको मुख्य आशा पनि चिनियाँ पर्यटकको संख्या वृद्धिमा रहेको थियो । 

पर्यटन वर्षको पूर्वसन्ध्यामा नेपाल आएकी चिनियाँ अभिनेत्रीको भूमिकाले होस् या गत अक्टोबर पहिलो साता नेपाल भ्रमणमा आएका राष्ट्रपति सीको प्रभावले होस्, चिनियाँहरू नेपाल आउने क्रम बढ्दै जाने र नेपालको पर्यटन उद्योगलाई महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको थियो । तर, जनवरीको मध्यतिर चीनको मध्यवर्ती प्रान्त हुपेईको वुहान सहरलाई केन्द्र बनाएर फैलिएको कोराना भाइरसले समग्र चिनियाँ पर्यटकलाई नै रोकिदियो । यसको प्रभाव नेपालका पर्यटन क्षेत्रमा अहिले नै परिसकेको छ ।

नेपालको यसपटकको भ्रमण वर्ष परियोजनाले आफ्नो अर्थ गुमाइसकेको अनुमान गर्न सकिन्छ, जुन अपेक्षासाथ यसको घोषणा, तयारी र प्रचार गरिएको थियो, त्यसले प्रतिफल नदिने निश्चित छ

कम्तीमा आगामी एक–डेढ महिना अर्थात् अप्रिल महिनासम्म चिनियाँ पर्यटक बाहिरिने सम्भावना न्यून छ । यससँगै पश्चिमा देशका पर्यटकसहित जापान र कोरियाबाट नेपाल आउनेको संख्यामा पनि उल्लेख्य कमी आउनेछ । यसको अर्थ हो, भ्रमण वर्षको आधा समय पर्यटकको आगमनविना नै बित्नेछ । अहिले नै नेपालमा होटेल पूरा क्षमतामा चल्न पाएका छैनन् । बुकिङ पनि रद्द भइरहेका छन् । मे महिनापछि नेपालमा वर्षा सुरु हुन्छ र पर्यटक आउने सम्भावना कम हुन्छ । त्यसपछि अक्टोबर र नोभेम्बर महिना मात्र पर्यटकीय मौसम रहनेछ । त्यसले नेपाल भ्रमण वर्षको अपेक्षाअनुरूपको पर्यटकको संख्या आधा मात्र पनि आउन मुस्किल पर्ने देखिन्छ ।

यी सम्भावनातर्फ ध्यान दिने हो भने नेपालको यसपटकको भ्रमण वर्ष परियोजनाले आफ्नो अर्थ गुमाइसकेको अनुमान गर्न सकिन्छ । जुन अपेक्षासाथ यसको घोषणा, तयारी र प्रचार गरिएको थियो, त्यसले प्रतिफल नदिने पनि निश्चित छ । यसमध्ये नेपालले विश्व समुदायबीच आफ्नो पर्यटकीय महत्वको जे–जति प्रचार गर्‍यो, त्यसको प्रभाव त अर्को वर्ष पनि रहला, तर बाँकी योजनाका हकमा भ्रमण वर्षलाई स्थगित गर्नु र यसका कार्यक्रमलाई आउने वर्षमा पर्यटक आकर्षित गर्ने काममा प्रयोग गर्नु उचित हुनेछ । नेपालको नियन्त्रणबाहिरको परिस्थिति भएकाले यस्तो निर्णय गर्न लाज मान्नुपर्ने कुनै अवस्था रहँदैन । बरु समयमै यसलाई परिमार्जन गर्दै पर्यटन विकासका आन्तरिक तयारीलाई तीव्रता दिनेतिर सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।