मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुवास भट्ट काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०७:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेपाल ट्रस्टको श्वेतपत्र : दरबारमार्गको जग्गा प्रचण्ड र  ताहाचलको जग्गा देउवाको पाला लिजमा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७६ फाल्गुण १४ बुधबार ०७:०३:००

गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ । 

गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई गोकर्णको लिज हस्तान्तरण गर्दा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम थिए भन्ने श्वेतपत्रमा उल्लेख छ ।

त्यस्तै, ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लगाउने प्रस्ताव स्वीकृत हुँदा ट्रस्टको संरक्षकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष रहेको श्वेतपत्रमा उल्लेख छ । 

दरबारमार्गको जग्गा लिजमा लिन बोलपत्र प्रस्तावमा भाग लिएका ६ फर्ममध्ये बढी बोलकबोल गर्ने यती समूहको थामसेर्कु प्रालिको प्रस्ताव ट्रस्टको सञ्चालक समितिले स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ । ५ वैशाख ०७४ को बैठकले दरबारमार्गको जग्गा एक अर्ब ४० करोडमा ३० वर्षका लागि थामसेर्कुलाई लिजमा दिने निर्णय गरेको थियो । 

त्यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला नै संरक्षक र वामदेव गौतम सञ्चालक समिति अध्यक्ष हुँदा २८ साउन ०७१ को बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा लिज आउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको पनि श्वेतपत्रमा उल्लेख छ । 

शेरबहादुर देउवा ट्रस्टको संरक्षक र जनार्दन शर्मा सञ्चालक समिति अध्यक्ष हुँदा काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टी आउटर कम्प्लेक्सको कित्ता नं. १८, १९ र २० को लिज सम्झौता भएको पनि श्वेतपत्रमा समेटिएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दिएको काठमाडौंको १७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्टको कार्यालयले माग गरेको छ । ट्रस्टको कार्यालयले नेपाल ट्रस्ट ऐन, २०६४ को कानुनी व्यवस्था प्रतिकूल हुने गरी मोही कायम भएका ती जग्गा पूर्ववत् अवस्थामा कार्यालयकै नाममा कायम गर्नुपर्ने माग गरेको हो । 

मातातीर्थका जग्गा घुम्दै स्थानीयलाई भेटेर बाबुरामले भने– मैले जोताहा किसानमाथि न्याय गरेको छु, सरकारले भूमाफियालाई सुम्पिने कुत्सित मनसाय बनाएको छ 
नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मोही र जोताहा किसानले जग्गा पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार मातातीर्थस्थित जग्गाको स्थलगत निरीक्षण गरेका उनले स्थानीयसँगको छलफलमा यस्तो बताएका हुन् । 

‘मोही र जोताहा किसानलाई दिइएको जग्गा उनीहरूले पाए कि पाएनन् भनेर हेर्न बाँकी थियो । आज हेर्न पाउँदा गर्व लागेको छ,’ डा. भट्टराईले भने, ‘पुस्तौँदेखि दलित तथा विपन्न वर्गका मानिस झुपडी र कच्ची घर बनाएर बसेको पाएपछि ढुक्क भएको छु ।’ 

सरकारले भूमाफियालाई सुम्पिने कुत्सित मनसायले मातातीर्थको जग्गाबारे असान्दर्भिक प्रसंग उचालेको आरोप भट्टराईको छ । ‘सरकारले जग्गा भूमाफियालाई दिने कुत्सित मनसायले असान्दर्भिक प्रसंग जोडेर उचालेको छ,’ डा. भट्टराईले स्थानीयसँग भने, ‘एउटा चोरले आफ्नो चोरी ढाकछोप गर्न अर्कातिर औँला ठड्याएजस्तो गरेको छ, सबै सतर्क हुनुपर्छ ।’ 

राजा–महाराजाले सित्तैमा ओगटेको जग्गा आफूले छानबिन गरेर औपचारिक रूपमा मोही र जोताहाको नाममा गरिदिएर न्याय गरेको बताए । ‘राजा–महाराजाले सित्तैमा ओगटेको जग्गा उनीहरूले आफूलाई दानी देखाउन ०२६ मा जनतालाई फिर्ता गरे । तर, रैकर भएर कानुनी तरिकाले दर्ता हुन सकेको थिएन,’ उनले भने, ‘हाम्रो पालामा छानबिन गरेर दर्ता गरिदिएको हो । यो त न्याय गरेको कुरा हो ।’

दरबारले त्यागेर रैतीलाई दिएको जग्गा सरकारले लुट्न खोजेको भन्दै एक स्थानीयले आक्रोश पोखे । आफूहरूलाई सुकुमबासी बनाएर सडकमा ल्याउन खोजे हिंसात्मक प्रदर्शन हुने चेतावनीसमेत स्थानीयले दिएका छन् । ‘दरबारले त्यागेर रैतीलाई दिएको जग्गा नेपाल सरकारले फिर्ता गरेर लुट्न खोज्दै छ,’ एक स्थानीयले भने, ‘हामीलाई सुकुमबासी बनाइँदै छ । सरकारले सत्यतथ्य केलाउनुपर्छ । हामी बरु मर्न तयार छौँ, तर हाम्रो जग्गा छाड्दैनौँ ।’

कांग्रेस प्रवक्ता शर्मा भन्छन्–अडियो प्रकरणबाट ध्यान मोड्ने प्रयास
प्रमुख प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल ट्रस्टको जग्गा अपचलनमा कसैको नाम नियतवश छुटाइएको र कसैको हिसाब गरेरै जोडेर श्वेतपत्र सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘श्वेतपत्रको शास्त्र, पालना नगरी निर्माण गरिएको दुब्लो अस्त्र,’ उनले ट्विट गरेका छन्, ‘कुनै नाम जानेर छोड्ने, कुनै हिसाब गरेर जोड्ने । गोकर्णको मुद्दा जोसमेत माथि, जारी उहाँबाटै । आफ्नो शिरमा मुद्दा, आफैँ न्यायाधीश ?’ शर्माले श्वेतपत्रलाई निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस मोलमोलाइ प्रकरणबाट सबैको ध्यान मोड्ने प्रयत्नको संज्ञा पनि दिएका छन् । ‘धर्मपुत्रको ७० करोडबाट ध्यान मोड्ने प्रयत्न, अर्थात् नेपाल ट्रस्टको श्वेतपत्र !’ शर्माले लेखेका छन् ।