मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ ५ शनिबार २०:३४:००
Read Time : > 1 मिनेट
साहित्य

सरोजराज अधिकारीको ‘धम्बोझी’ पुस्तक धम्बोझीमै छलफल 

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ ५ शनिबार २०:३४:००

 साहित्यकार तथा पत्रकार सरोजराज अधिकारीले लेखेको ‘धम्बोझी’ पुस्तकमाथि शनिबार नेपालगन्जस्थित धम्बोझीमै समिक्षा गरिएको छ । छलफलमा पुस्तकले समेटेका विषयबस्तुमाथि केन्द्रीत थियो ।  

छलफलमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी, नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र पुस्तकका लेखक सरोजराज अधिकारी सहभागी थिए भने कार्यक्रम सहजिकरण साहित्यकार ऋचा लुइँटेलले गरिन् ।

धम्बोझी चोकको ऐतिहासिक तथ्यलाई मेटेर मालिकका नाममा सालिक ढड्याइको थियो । दोस्रो जनआन्दोलनमा वीरेन्द्रको शालिका ढालिएपछि पुनः धम्बोझीले आफ्नो परिचय स्थापित गर्दै लगेको छ । त्यसैलाई बल पु¥याउन पुस्तकको नाम धम्बोझी राखिएको हो ।  
   
भारतले आफ्नो हितका लागि नेपालका नेता र शासकलाई प्रयोग गर्दै आएको बताउँदै उनले पुस्तकमा समावेश रत्नेश पात्रको हत्याको सन्दर्भ जोड्दै भारतीय भूमिमा हत्या गरेर नेपाली भूमिमा फाल्ने क्रम नरोकिएको बताए । 

उनले नेपालगन्जमा बहुआयामिक संस्कृतिको क्षेत्र भएको बताउँदै २०६२–०६३ मा भएका मधेस आन्दोलनपछिको घटनालाई पुस्तकमा समेटेको बताए । 

लेखक अधिकारीले राज्य र राजनीतिक दलले मधेसमाथि गरिएको विभेदका बारेमा चर्चा गरिएको उल्लेख गरे । ‘समाजमा भएको विकृति र मधेसीमाथि भएका दमनको चित्रण गर्न खोजिएको छ,’ उनले भने ।   

छलफलमा मानव अधिकार आयोगकी प्रवक्ता अन्सारीले मधेसीमा भएको सहनशिलतालाई राजनीतिक दलले चलाउन खोजेका कारण मधेसमा आन्दोलन भएको बताइन् । मधेसीमाथि सत्ता सञ्चालकले विभेद गरेका कारण पहिचानका लागि मधेसीले विद्रोह गरेको उनको भनाइ छ । ‘एउटै ठाउँका  रैथाने भएपनि एउटालाई काखा र अर्कोलाई पाखा गरेका कारण मधेसमा पटक–आन्दोलन हुने गरेको हो,’ उनले भनिन् ।
 
उनले पुस्तकले कानूनी सन्देश दिएको बताउँदै मधेसी र पहाडीबीच भएको सहिष्णुतालाई कसैले खल्बल्याउन नहुने बताइन् । राजनीतिक दलले आफ्नो अभिष्ट पूरा गर्न मधेसमा भएको सद्भाव भड्काउने गरेको उनको आरोप थियो ।
 
नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रमुख बर्माले आफ्नो पहिचानका लागि मधेसीले आन्दोलन गरेको बताए । नेपालका रैथाने मधेसीलाई समेत सत्ता पक्षले गैर नेपालीको नजरले हेर्ने गरेको उल्लेख गर्दै उनले नागरिकता पाउन मधेसीलाई मुस्किल पर्ने गरेको बताए । ‘मेरो बाबुबाजेले नागरिकता पाएपछि फोटो फ्रेममा राखेर सजाएर राख्नु हुन्थ्यो । नागरिकता दिने क्रममा सार्वजनिक ठाउँमा उभ्याएर साक्षीबाट प्रमाणित गराइन्थ्यो,’ उनले भने ।
उनले मधेसमा भएका आन्दोलन पहाडीविरुद्ध नभइ पहिचान र आत्मसम्मानका लागि भएको बताए । ‘मधेसी र पहाडी अहिले पनि मिलेर बसेका छौँ, मधेसमा भएका आन्दोलन पहिचानका लागि भएका हुन्,’ उनले भने । 

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर थापामगरले भारतबाट आएर नागरिकता लिने प्रवृत्तिले यहाँका रैथाने मधेसीलाई समस्यामा पारेको बताइन् । उनले पुस्तकको एक पात्र रत्नेशले चाहेको भए नेपाली नागरिकताको प्रमाणपत्र सजिलो गरि पाउने बताइन् । ‘रत्नेशले चाहेको भए नागरिकता सजिलै गरि पाउनुहुन्थ्यो, तर उहाँले आफू एक्लै लिन चाहनु भएन । पूरै समूदायका लागि लड्नु भयो,’ उनले भनिन् ।
 
सम्यक मिडिया हवको संयोजनमा भएको छलफल कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सतनकुमार रेग्मी, पत्रकार, साहित्यकार, राजनीतिक दलका नेता लगायतको सहभागिता थियो ।