१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण १३ मंगलबार १७:३९:००
Read Time : > 1 मिनेट
विश्व

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण १३ मंगलबार १७:३९:००

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ वर्षको उमेरमा मंगलबार उनको कायरोमा निधन भएको हो । 

मंगलबार इजिप्टको सरकारी समाचार एजेन्सीले उनको गला सैनिक अस्पतालमा निधन भएको पुष्टि गरेको छ । 

लामो समयदेखि बिरामी रहेका मुबारकको जनवरीको अन्तिम साता शल्यक्रिया गरिएको थियो । शनिबार स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको मुबारकका छोरा आलाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । 

मुबारकको राजनीतिक यात्रा 

राष्ट्रपति अन्वार सादतको हत्यापछि इजिप्टका पूर्वराष्ट्रपति एवं सेना प्रमुख होस्नी मुबारकले चौथो राष्ट्रपतिका रुपमा इजिप्टमा १९८१ देखि २०११ सम्म ३० वर्ष लामो शासन गरे । राजनीतिमा प्रवेश गर्नुअघि उनी इजिप्टको एयर फोर्समा कार्यरत थिए । सन् १९७२ मा इजिप्टियन एयर फोर्सको कमान्डर र रक्षा मन्त्रालयको डेप्युटी मन्त्री बन्दै उनी राजनीतिमा प्रवेश गरे । 

अक्टुबर ६, १९७३ मा योम किप्पुर युद्धमा इजरायली सेनामाथि इजिप्टको वायु सेनाले पाएको सफलताले मुबारकलाई ‘राष्ट्रिय नायक’ बनायो । अर्को वर्ष उनी एयर चीफ मार्सलमा बढुवा भए । 

मुबारकको बढ्दो लोकप्रियतासँगै सन् १९७५ मा सादतले उनलाई उपराष्ट्रपतिमा नियुक्त गरे । यही समयमा मुवारकले साउदी अरब, सुडान, ओमान, मोरक्कोलगायत देशसँग आफ्नो कुटनीतिक सम्बन्ध विकास गरे, जसका कारण पनि उनलाई सादतको हत्यापछि राष्ट्रपति हुन सजिलो भयो । 

सत्तामा आएपछि मुबारकको नेशनल डेमोक्रेटिक पार्टी (एनडिएस)ले एक दलीय शासन लागू गर्यो । मुबारकको शासनकालमा पश्चिमी राष्ट्र र अमेरिकाको आर्थिक सहयोग प्राप्त भयो । 

सन् १९६७ मा अरब र इजरायलबीच भएको ६ दिनको युद्धपछि इजिप्टले ‘इमरजेन्सी कानुन’ लागू गर्यो र यो कानुन पछि सन् १९८० को समयमा १८ महिनासम्म खारेज गरिएको थियो तर सन् १९८१ मा अन्वार सादतको हत्यापछि पुनः यो कानुन लागू भयो । यही कानूनको माध्यमबाट मुबारकले देशमा विभिन्न प्रतिबन्ध लगाएर नागरिक अधिकार सीमित गरिदिए ।  

मुबारकको शासनकालमा देशभर सस्तो आवास, कपडा, फर्निचर र देशमै औषधिको उत्पादन बढ्यो । तर इजरायलसँगको सम्बन्ध भने झन् बिग्रिएको थियो । 

मुबारक चार पटकसम्म सन् १९८८, १९९३, १९९९ र २००५ मा लगातार बहुमतले राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

३० वर्षे लामो शासनकालमा देशमा गरिबी, भ्रष्टाचार र बेरोजगारी बढेको भन्दै सन् २०११ जनवरी २५ देखि मुबारकको शासनविरुद्ध आन्दोलन सुरु भएको थियो । इजिप्टका प्रदर्शनकारीहरुको गुनासो कानूनी र राजनीतिक मुद्दाहरुमा केन्द्रीत थियो, जसमा प्रहरी दमन, इमरजेन्सी कानून, राजनीतिक स्वतन्त्रताको अभाव, नागरिक स्वतन्त्रता, अभिव्यक्तिको अभाव, भ्रष्टाचार, उच्च बेरोजगारी, खाद्यान्नमा मूल्य वृद्धि र कम ज्यालाजस्ता विषय थिए । मुबारकको शासन र उनले लागू गरेको कानून खारेज गर्नु प्रदर्शनकारीको पहिलो माग थियो । 

फेब्रुअरी ११ को राति मुबारकले शासनको जिम्मा सुप्रिम काउन्सिल अफ आर्मी फोर्सलाई लगाएर आफूले सत्ता छोडेको घोषणा गरे यसपछि इजिप्टका जनताले खुशीयाली मनाएका थिए । उनीहरुले मुबारकको शासन अन्त्यसँगै इजिप्टको ३० वर्षे लामो क्यान्सर हटेको जस्ता प्रतिक्रिया दिएका थिए । 

मुबारकविरुद्ध ‘अरब बसन्त’ नामक विद्रोहका क्रममा सयौं प्रदर्शनकारीको हत्या गरेको अभियोग लगाइएको थियो । उनलाई अदालतले सन् २०१२ मा आजीवन काराबासको सजाय सुनायो तर, पछि गरेको सुनुवाईमा न्यायाधीसले उनका सबै मुद्दा खारेज गरिदिए । सरकारी कोषको अपचलन गरेको भन्ने एक छुट्टै मुद्दामा दोषी ठहरिएपछि उनी सन् २०१४ देखि तीन वर्ष जेल परेका थिए ।