मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १३ मंगलबार ०६:४८:००
Read Time : > 1 मिनेट
समाचार

चीनको सहयोगमा राइनासमा अत्याधुनिक विद्यालय भवन निर्माण

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १३ मंगलबार ०६:४८:००

चीन सरकारको आर्थिक सहयोगमा राइनास नगरपालिका ९ मोहोरियाकोटस्थित भैरव माविको अत्याधुनिक भवन निर्माण गरिएको छ । चीनको ८३ करोड अनुदानमा भैरव माविमा नेपालकै नमुना विद्यालय भवन निर्माण गरिएको हो । 

भवन निर्माणका लागि आवश्यक जनशक्ति र प्रविधिसमेत चीनकै प्रयोग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका राइनास नगपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए । ‘तीन वर्षमा भवन पूरा गर्ने लक्ष्य थियो,’ अध्यक्ष थापाले भने, ‘तर दुई वर्षमै भवन निर्माण पूरा भएको छ ।’ युवा तथा खेलकुद विकासमन्त्री जगतबहादुर विश्वकर्माले हीरक महोत्सवका अवसरमा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेका छन् । 

 भवनमा ७० कोठा
नवनिर्मित भवनमा ७० कोठा छन् । जसमध्ये ३१ वटा कोठा प्रयोगमा आइसकेका छन् । १५ वटा कोठा आवासका रूपमा प्रयोग गरिएको छ । जसमा शिक्षक र कक्षा १० का विद्यार्थी बस्ने गरेका छन् । १६ वटा कोठा पठनपाठनका लागि छुट्याइएको छ । एउटा कोठामा ३० जना विद्यार्थी बस्ने गरेका छन् । भवनका १० कोठामा शौचालय छन् । एउटा कोठामा पानी ट्यांकी, एउटामा प्राथमिक उपचार केन्द्र, एउटामा रेडियो प्रसारण, २ वटा किचन, ३ वटामा इसिडी कक्षा र ४ वटा कोठालाई विद्युत् जडान केन्द्रका रूपमा छुट्याइएको छ । ८ वटा कोठामा कार्यालय छ । 

बाँकी कोठा पुस्तकालय र हलका रूपमा प्रयोग हुने विद्यालय प्रशासनले जनाएको छ । ८ रोपनी क्षेत्रफलको विद्यालय परिसरमै बास्केटबल खेलमैदान, सवारीसाधन पार्किङ स्थलसमेत निर्माण गरिएको छ । भवनमा सोलार बत्तीसमेत जडान गरिएको छ ।

 ४० वटा कम्प्युटर पनि सहयोग
भवन निर्माणसँगै चीन सरकारले ४० वटा कम्प्युटरसमेत सहयोग गरेको  प्रधानाध्यापक राजेश्वर ढकालले जानकारी दिए । भूकम्पपछि चीन सरकारले नेपालमा उत्कृष्ट १० वटा नमुना विद्यालय बनाउने घोषणा गरेको थियो । सोहीअनुसार लमजुङको मोहोरियाकोटमा विद्यालय भवन निर्माण गरिएको हो । विद्यालमा हाल २ सय ५५ विद्यार्थी अध्ययन गर्दै आएका ढकालले जानकारी दिए ।