१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन्त केसी जाजरकोट
२०७६ फाल्गुण १२ सोमबार १६:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

हिउँदको वर्षाले किसानलाई दियो खुशी, लगाए दुई बाली 

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १२ सोमबार १६:२६:००

हरेक वर्ष मुस्किलले एक पटक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीय यो पटक दुई पटक बाली लगाउँदा खुसी भएका छन् । 

उत्पादनका हिसावले आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयलाई यो पटकको वर्षातले दुई बाली लगाउने अवसर जुराइदियो । आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्ने पश्चिम जाजरकोटवासी हिउँदमा पानी परेपछि गहुँबालीसमेत रोप्न पाएर हर्षित छन् । 

छेडगाड नगरपालिका ५ का रेशम शाहीले भने, ‘सिंचाई सुविधा नभएकाले आकाशे पानीको भरमा खेती लगाउनुपर्छ, यो पटक हिउँदमा नै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ ।’ त्यसैगरी जुनिचाँदे गाउँपालिका ७ का महेन्द्र खड्काको खुसी पनि कम छैन । उनले पनि दुई पटक बाली लगाउने अवसर पाएको भन्दै खुसी व्यक्त गरे । 

‘हरेक वर्ष यस्तै भए बाहिरबाट अन्न खरिद गर्नुपर्ने थिएन,’ उनी भन्छन्, ‘हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले ६ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ । सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला ।’ 

उत्पादनका हिसावले यहाँ मकै मुख्यबाली हो । धान उत्पादन गर्ने खेत नहुँदा चामलका लागि खाद्य संस्थान र स्थानीय बजारको विकल्प नभएको छेडागाड नगरपालिका ३ दशेराका टेकबहादुर थापाले बताए ।

पश्चिम जाजरकोटमा खेतीयोग्य जमिन धेरै भए पनि सिंचाई सुविधा नहुँदा वर्षायाममा मकै, कोदोले हराभरा हुने जमिन हिउँदमा रित्तो हुन्छ । हिउँदमा पानी परे मात्र किसानले गहुँबाली लगाउन पाउँछन् । 

छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र जसोतसो थोरै सिंचाई सुविधा पुगेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए ।

‘हामीसँग बजेट छैन, प्रदेश र संघ सरकारसँग सिंचाईका लागि अनुरोध गरेका छौँ,’ उनले भने, ‘वडा नं ११ को ढुङगिल सिंचाई आयोजना वडा १० को नाउलीखेत सिंचाई आयोजना निर्माण कार्य जारी रहेको छ ।’