मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका धरान
२०७६ फाल्गुण १२ सोमबार १०:०४:००
Read Time : < 1 मिनेट
खेलकुद

पुलिस सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धरान
२०७६ फाल्गुण १२ सोमबार १०:०४:००

 नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ ले पराजित गर्दै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार धरान रंगशालामा सम्पन्न खेलमा पुलिसका लागि भेट्रान खेलाडी जुमानु राईको प्रदर्शन उत्कृष्ट रह्यो । पुलिसको जितमा जुमानुले दुई गोल गरेका थिए । म्यान अफ द म्याच घोषित हुँदै जुमानुले १५ हजार रुपैयाँ जिते । 

गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा नेत्रालयले अग्रता लिएको थियो । नेत्रालयका सञ्जय धिमालले खेलको १०औँ मिनेटमा गोल गरे । अनुभवी खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले पहिलो हाफमै बराबरी गोल फर्कायो । खेलको ४१औँ मिनेटमा भोला सिलवालको पासमा सुमन सुवेदीले उत्कृष्ट हेडिङ गोल गर्दै पुलिसलाई १–१ को बराबरीमा पु¥याए । ४३औँ मिनेटमा पुलिस २–१ ले अगाडि बढ्यो ।

पुलिसका तीर्थ रानालाई नेत्रालयका खेलाडीले डिबक्सबाहिर लडाएका थिए । जुमानुले पोस्टभन्दा ३५ यार्डबाहिर उत्कृष्ट फ्रिकिक गोल गरे । खेलको ७७औँ मिनेटमा जुमानुले काउन्टर एट्याकमा गोल गर्दै पुलिसको जित ३–१ ले सुनिश्चित पारे । दोस्रो हाफमा नेत्रालयले धेरै अवसर खेर फालेको थियो । नेत्रालयका कर्ण लिम्बू पुलिसका गोलरक्षकविरुद्ध वान भर्सेज वानमा गोल गर्न चुके । खेलको ६९औँ मिनेटमा लिम्बू डिबक्सभित्र लगभग खाली पोस्टमै गोल गर्न चुकेका थिए । 

पुलिसका प्रशिक्षक अनन्त थापाले अनुभवी र युवा खेलाडीले धैर्यसाथ खेल्दा जित भएको बताए । प्रतियोगिताअन्तर्गत सोमबार मुख्यमन्त्री लिग विजेता बेलबारी फुटबल क्लब झापा र मनाङ मस्र्याङ्दीबीच खेल हुनेछ ।