१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण १२ सोमबार ०९:४४:००
Read Time : > 1 मिनेट
नयाँCity

अनब्रान्डेड ब्रान्ड : भान्साहरूको चेन नेवाः लहना

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण १२ सोमबार ०९:४४:००

‘नेवाः लहना’ रेस्टुराँसँग ७६ वटा भान्सा गाँसिएका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन् । सबै भान्सामा गरी ९० जना कामदार छन् । 

कीर्तिपुरस्थित थाः बहालमा छ, ‘नेवाः लहना’ रेस्टुराँ । ७६ वटा नेवारी भान्साको मिलनबिन्दु हो, यो । २२ भदौ ०६३ देखि सञ्चालनमा आएको यस रेस्टुराँमा नेवारी सभ्यताको पूर्ण झल्को पाइन्छ । नेवारी रहनसहन, खानपिन र पहिरन यहाँ पुग्ने खानाका पारखीमाझ लोकप्रिय छन् । रेस्टुराँका संस्थापक हुन्, राजमान मानव ।

हाल रेस्टुराँ रहेको स्थानमा १७ वर्षअघिसम्म नेवार समुदायका परम्परागत सामग्री संग्रहित संग्रहालय थियो । टोलका युवालाई स्थानीय स्तरमै रोजगारी दिने आवाज मुखरित भएपछि सोही संग्रहालयलाई नेवारी सभ्यताको झल्को दिने गरी रेस्टुराँ सञ्चालन गर्ने निर्णय टोलवासीले गरे । संग्रहालयमा ढिकी, जाँतो, हाकुपटासी बनाउने तान, परालका सुकुल, कुर्सी, वृद्धवृद्धाको जङ्को गर्ने भीम रथलगायत सामग्री राखिएका थिए । 

९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन् । परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो ।
 

ती सबै सामग्रीलाई जस्ताको तस्तै राखेर रेस्टुराँ खोलियो, ‘नेवाः लहना’ । ती परम्परागत सामान अहिले रेस्टुराँको इन्टेरियर डिजाइन बनेका छन् । रेस्टुराँका ग्राहकलाई बस्न परालबाट बनेका सुकुल र हाकुपटासीबाट बनेका चकटी बिछ्याइएको छ ।

सेरामिक प्लेटमा नभई काँसका थाल, बटुका र गिलासमा नेवारी परिकार पस्किइन्छ । हाकुपटासीमा सजिएका महिलाले नजिकै आगोमा पकाएको खाना पाहुनालाई पस्किन्छन् । त्यसैले रेस्टुराँमा परम्परागत ग्रामीण जीवनशैली प्रतिबिम्बित हुन्छ ।

२९ थरीका ‘बफ’ परिकार लहनाको विशेषता हो । यहाँको अर्गानिक पेय पदार्थ ग्राहकमाझ लोकप्रिय छ । स्थानीय किसानले उत्पादन गरेको चामल, सागपात प्रयोग हुन्छन् । रेस्टुराँ स्थापना हुँदा ४७ वटा भान्सा यसमा जोडिएका थिए । अहिले ७६ वटा पुगेका छन्, जसमा थाः बहाल टोलका तीन सय ३२ परिवार जोडिएका छन् । सबै भान्सामा गरी ९० जना कामदार छन् । भान्साहरूबाट प्राप्त आम्दानी सबै परिवारलाई बाँड्ने गरिएको छ। 

सबै भान्सामा गरी दैनिक करिब दुई हजार पाहुना आउने ‘नेवाः लहना’का सञ्चालक मानव बताउँछन् । ‘९५ प्रतिशत पाहुना कीर्तिपुरबाहिरका हुन्छन्,’ उनी भन्छन्, ‘परम्परागत नेवारी खानपिन शैलीलाई बचाउने हाम्रो लक्ष्य हो ।’ ती भान्साका पाहुना विदेशी पर्यटक पनि हुने गरेका छन् । पछिल्लो समय सेलेब्रिटीहरूको ‘चिल–आउट’ जक्सन पनि बनेको छ, लहना । 

योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, भीम तुलाधर, दीपक बज्राचार्यलगायत सेलेब्रिटी यी भान्सामा पुगिरहन्छन् । अन्तर्राष्ट्रियस्तरका ‘गाइड बुक’ र म्यागेजिन मात्र होइन, सिएनएन, बिबिसीलगायत टेलिभिजन च्यानलहरूले पनि यी भान्साका कथा प्रकाशन÷प्रसारण गरिसकेका छन् ।