१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ फाल्गुण १२ सोमबार ०७:१०:००
Read Time : < 1 मिनेट
अर्थ

कर्णाली उज्यालो कार्यक्रम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ फाल्गुण १२ सोमबार ०७:१०:००

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’अन्तर्गतका दुई आयोजनाको बोलपत्र आह्वान गरेको छ । रुकुम–पश्चिमको सिम्रतु र कालिकोटको दुर्सी खोला लघु जलविद्युत् आयोजनाका लागि काम सुरु गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।  

सिम्रतु लघु जलविद्युत् आयोजनाबाट रुकुम–पश्चिम त्रिवेणी गाउँपालिका–२ का १८ गाउँका ८ सय ६३ घरपरिवार र कालिकोटको दुर्सी खोलाबाट पलाँता गाउँपालिका–७ का १३ गाउँका १ हजार १ सय ५० घरधुरी विद्युत्को पहुँचमा पुग्नेछन् । रुकुम–पश्चिमको सिम्रतु खोला लघु जलविद्युत् आयोजना २ सय किलोवाट क्षमताको हो भने कालिकोटको दुर्सी खोला लघु जलविद्युत् आयोजना १ सय किलोवाट क्षमताको रहेको छ । 

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत यी दुई आयोजनाको काम अगाडि बढाउनका लागि बोलपत्रको आह्वान गरिएको कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशव उपाध्यायले बताए । ‘कर्णाली उज्योलो कार्यक्रमका लागि बोलपत्र आह्वान गरिएको छ,’ उनले भने, ‘यी दुई आयोजना प्राराम्भिक चरणमा छनोट गरिएका छन् ।’कर्णाली प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमका लागि अन्य आयोजनाका कामलाई अगाडि बढाउनका लागि प्रारम्भिक अध्ययन सुरु गरेको प्रवक्ता उपाध्यायले बताए ।

‘कार्यक्रमलाई द्रुत ढंगले अगाडि बढाएका छौँ,’ उनले भने, ‘यसका लागि आयोजनाको अध्ययन भइरहेको छ ।’ यी दुई आयोजनाको लागत रकम विषयमा भने अहिले बोलपत्र आह्वानमा गएका कारणले लागत विषयमा जानकारी दिन नमिल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को नीति कार्यक्रममा नै ५० करोड ९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।