Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण ११ आइतबार १९:१५:००
Read Time : > 3 मिनेट
विश्व

अन्तरिक्ष यात्रामा आफ्नै पिसाब पनि पिउँछन् यात्रीहरू

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण ११ आइतबार १९:१५:००

‘बहुमूल्य वस्तु’ भन्ने बित्तिकै हाम्रो दिमागले हिरा, मोती, सुन या यस्तै चम्किलो धातुको कल्पना गर्छ । तर, अन्तरिक्षमा भने मान्छेको पिसाबलाई बहुमूल्य चिजमध्येको एक मानिन्छ । अन्तरिक्षयात्रीले अन्तरिक्ष यात्राका क्रममा आफ्नो पिशाब त पिउँछन् नै, उस्तै परे अन्य सहकर्मीको पिसाबसमेत पिएर जीवन धान्ने अवस्था हुन्छ ।

अन्तरिक्षमा पानीको अभाव हुने र यात्रीहरुले पनि निश्चित मात्रामा पानी लिएर जाने भएकाले त्यहाँका लागि पानी अति मूल्यवान वस्तुमा पर्छ । त्यसैले, अन्तरिक्ष यात्रीहरु एकपटक प्रयोग गरिसकेको पानी, पसिना र पिसाब फिल्टर गरेर फेरि पिउन योग्य बनाउँछन् । र त्यो पानीलाई अन्य प्रायोजनका लागि पनि प्रयोग गर्छन् ।

केही महिनाअघि वासिंग्टन पोष्टमा प्रकाशित समाचारअनुसार अमेरिकी अन्तरिक्ष यात्रीहरुले आफ्नो मात्रै नभएर आवश्यक परे रुसी अन्तरिक्ष यात्रीहरुको पिसाबसमेत पिउने गर्छन् । तर, रुसी अन्तरिक्ष यात्रीहरु भने आफ्नै पिशाब रिसाइकल गरेर पनि पिउन मान्दैनन् ।

एक लिटर पानीको भाडा २० लाख

अन्तरिक्ष यात्रामा सिमित पानी लगिनुको मुख्य कारण अन्तरिक्षको भाडा दर हो । नासाको पछिल्लो एक रिर्पोटअनुसार अहिले अन्तरिक्ष स्टेसनमा १ पाउण्ड तौल लैजान १० हजार अमेरीकी डलरभन्दा धेरै खर्च हुन्छ । १ लिटर पानीको तौल २.२ पाउण्ड हुन्छ । यसलाई अन्तरिक्षमा लैजान करिब २० हजार अमेरिकी डलर खर्च गर्नु पर्छ ।

पानीको तौल धेरै हुने र महङ्गो पनि पर्ने भएकाले पानी त्यहाँका लागि निकै मूल्यवान हुने गरेको हो । अन्तरिक्षमा पानी लैजान लाग्ने खर्च बेहोर्नुभन्दा नयाँ–नयाँ प्रविधियुक्त फिल्टर मेसिन बनाएर तरल पदार्थबाट पानी निकाल्ने प्रविधि तुलनात्मक रुपमा सस्तो पर्छ । त्यसैले, अन्तरिक्षमा हुने अध्ययन अनुसन्धानसँगै पानी ‘प्युरीफाइ’ गर्ने प्रविधिको आविष्कारका लागि वैज्ञानिकहरु संघर्षरत छन् ।

सन् २००९ देखि नै ‘आइएसएस’ ले आधुनिक प्रविधिमार्फत पिसाब फिल्टर गरेर प्रयोग गर्न सुरु गरेको थियो । त्यसैले, सास फेर्दा निस्कने वाफ, पसिना, पिसाब तथा एक पटक प्रयोग भइसकेको पानीलाई समेत फिल्टर गरी पुनः प्रयोगमा ल्याइने गरिएको छ ।

परम्परागत प्रक्रियाअनुसार, पिसाबलाई फिल्टर मेसिनमा ‘स्पिन’ गरेर पानी र वाफ छुट्याइ पिउन लायक बनाइन्थ्यो । अहिले डेनमार्कको एउटा वायोटेक कम्पनीले पिसाब, पसिना, फोहोर पानी र अन्तरिक्षमा उपलब्ध हुने अन्य तरल पदार्थहरुबाट पानीमात्रै बाहिर तान्ने प्रविधिको विकास गरेको छ ।

आइएसएसका लागि पानीको व्यवस्थापन गर्ने अमेरिकाको अलबामास्थित मार्शल अन्तरिक्ष उडान केन्द्रका लेन कार्टरले ब्यूल्मबर्ग बिजनेस विकमा भनेका छन्, ‘फिल्टर गरेको पिसाब पानीजस्तै शुद्ध हुन्छ । यो फिल्टर गरेको पानी हो, पिउनलायक हुन्छ भन्नेहरुले पिउछन्, पिसाबै हो भनेर सोच्नेहरुले चाहिँ पिउन मान्दैनन् ।’

अमेरिकी स्पेस एजेन्सी (नासा)का एक चालक दलका सदस्यले सन् २०१७ मा मात्रै अन्तरिक्ष बसाइका क्रममा ७ सय ३० लिटर रिसाइकल गरेको पिसाब र पसिना पिएका थिए । अन्तरिक्ष कुरियर एवं कार्गाेहरुले अन्तरिक्षमा सामान लैजानका लागि नासालगायत भू–उपग्रह लन्च गर्ने कम्पनीहरुसँग सम्झौता गरेका हुन्छन् । मूल्यका आधारमा ती कुरियर तथा कार्गो कम्पनीलाई छनोट गरिन्छ । नासासँग स्पेस एक्स नामक कुरियर कम्पनीले अन्तरिक्षमा सामान लैजाने सम्झौता गरेको छ ।

अमेरिकी कम्पनी अर्बाइटल साइन्सले निर्माण गरेको ‘सिग्नस स्पेसक्राफ्ट’ले प्रतिपाउण्ड ४३ हजार १ सय ८० अमेरिकी डलरका दरले अन्तरिक्षमा सामान ओसार्ने गरेको समाचार ‘बिजनेस इन्साइडर’मा प्रकाशित गरेको थियो । 

पर्यटक लैजाने योजना

यसै वर्ष नासाले ‘आइएसएस’मा पर्यटक लैजाने घोषणा गरेको थियो । २०२० देखि लागु हुने भनिएको यो योजनाअन्तर्गत प्रत्येक पर्यटकले एक रातका लागि ३५ हजार अमेरिकी डलर तिर्नु पर्ने हुन्छ । अन्तरिक्षको भाडादर महङ्गो भएकाले त्यहाँ जाने पर्यटकको संख्या भने कम हुने अनुमान गरिएको छ ।

नासाले अन्तरिक्षको भाडादर २५ वर्षभित्र प्रतिपाउण्ड १ हजार डलरभन्दा कम गर्ने र ४० वर्षभित्र प्रतिपाउण्ड सय डलरभन्दा कममा झार्ने लक्ष्य लिएको छ । यदि नासाको यो लक्ष्य पूरा भयो भने सर्वसाधरणले समेत अन्तरिक्षको अनुभव गर्न पाउने छन् ।

अन्तर्राष्ट्रिय स्पेस स्टेसन पाँच अन्तरिक्ष एजेन्सीहरूको संयुक्त परियोजना हो । बहुराष्ट्रिय निर्माण परियोजनाअन्तर्गत ‘आइएसएस’ अन्तरिक्षमा राखिएको सबैभन्दा ठूलो मानव निर्मित संरचना हो । यसमा अमेरिकी स्पेस एजेन्सी (नासा), रोस्कोस्मोस् रसिया, ज्याक्सा एजेन्सी जापान, इएसए एजेन्सी युरोप र सीएसए क्यानाडा यसमा संलग्न छन् । तर, यसको व्यवस्थापनमा रुस र अमेरिका सक्रिय छन् ।

अन्तरिक्षसम्बन्धी विभिन्न खोज, अनुसन्धान तथा परीक्षणका लागि पृथ्वीको सतहभन्दा ४ सय किलोमिटर टाढा आकाशमा यसको स्टेसन खडा गरिएको छ । सन् १९९८ देखि २०११ सम्ममा यसको पूर्ण संरचना निर्माण गरिए पनि आवश्यकताअनुसार आकारमा परिवर्तन गरिन्छ । आइएसएसले प्रत्येक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्छ । यसको गति प्रतिघण्टा २८ हजार किलोमिटर रहेको छ । आइएसएसले एक दिनमा पृथ्वीबाट चन्द्रमामा पुगेर पुनः पृथ्वीमै फर्कने दुरी पार गर्छ ।

सन २०१९ को मार्चसम्ममा १८ देशका २ सय ३६ जना व्यक्ति आइएसएसमा पुगिसकेका छन् । जसमा १ सय ४५ भन्दाबढी अमेरिकी र ४६ भन्दाबढी रुसी अन्तरिक्ष यात्री छन् । यसमध्ये कोही दुई पटक जानेसमेत छन् । यसमा एक पटकमा ३ देखि ६ जना बस्न मिल्छ । यसभित्र ५ वटा बेडरुम, एउटा जिम हल, ट्वाइलेट, बाथरुम छ र आवश्यकताअनुसार नयाँ संरचना पृथ्वीमै तयार गरी त्यहाँ लगेर जोड्ने गरिन्छ । त्यसलाई ‘स्पेस वाक’ भनिन्छ ।

त्यहाँ रहने वैज्ञानिक तथा अन्तरिक्ष यात्रीले दैनिक २ घण्टा आफ्नो स्वास्थ्यको ख्याल गर्न तथा सामाजिक सञ्जाललगायतका लागि छुट्याउने गर्छन् । बाँकी समय विभिन्न किसिमका अध्ययन, अनुसन्धान र परीक्षणमा बिताउनु पर्ने हुन्छ । आइएसएसका चालक दलका सदस्यलाई टेक्ससको ह्युस्टन, रसियाको राजधानी मस्को र अलामाको हन्ट्सभिलस्थित मिसन कन्ट्रोल सेन्टरबाट र अन्य सदस्यलाई जापान, क्यानडा र युरोपमा रहेका मिसन कन्ट्रोल सेन्टरबाट सहयोग गरिन्छ ।

अहिलेको आइएसएस मिसन सन २०२४ सम्म सञ्चालन हुनेछ । साझेदार देशहरुबीच आपसी सहमति जुट्न सके २०२८ सम्म लम्बिन सक्नेछ । साझेदारहरुबीचको सम्झौताले यसको भविष्य निर्धारण हुने देखिन्छ । (एजेन्सीहरुको सहयोगमा)