१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विवेक देवकोटा काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार ०९:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

स्ववियु निर्वाचन निर्विकल्प

Read Time : > 2 मिनेट
विवेक देवकोटा काठमाडाैं
२०७६ फाल्गुण ११ आइतबार ०९:०९:००

त्रिविका पदाधिकारी आफ्नो मनोमानी अन्त्य हुने डरमा चुनाव पन्छाइरहेका छन्, खासमा स्ववियुले सबै पक्षलाई बलियो बनाउँछ

कलेजहरूमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनावी माहोल तातिरहेको वेला त्रिभुवन विश्वविद्यालयले फेरि चुनावलाई अन्योलग्रस्त बनाएको छ । पटक–पटक चुनावको मिति मात्रै घोषणा गर्ने त्रिविले यसपटक पनि स्ववियु चुनावको कार्यभार पूरा गर्ने छाँट देखाएको छैन । त्रिविको यो अकमण्र्यताको मूकदर्शक बनेका विद्यार्थी संगठन मिडियामा चुनाव हुने ठोकुवा गरिरहेका छन् । समग्र नेपाली राजनीतिक इतिहासमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को विशिष्ट स्थान छ । विसंं ०२० सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पञ्चायतविरोधी प्रगतिशील पक्षधर विद्यार्थीले स्ववियुको चुनाव जिते । त्यसबाट प्राप्त ऊर्जाको प्रतिफल स्वरूप त्रिचन्द्र कलेज, पृथ्वीनारायण कलेज पोखरा, महेन्द्र मोरङ कलेज विराटनगरलगायतमा स्ववियुको गठन भयो । त्यतिवेला प्रगतिशील र प्रजातान्त्रिक विचारमा आस्था राख्ने विद्यार्थी स्ववियुमार्फत प्रजातान्त्रिक आवाज बलियो बनाउन चाहन्थे । तर, संगठित राजनीतिबाट डराएको पञ्चायती शासकले ०३० सालमा ‘संघसंस्था नियन्त्रण ऐन’ ल्याएर विसंं ०३० सालदेखि ०३५सम्म स्ववियु चुनाव रोक्यो । तर, त्यो प्रतिबन्ध ०३६ सालको विद्यार्थी आन्दोलनले भत्काइदियो । 

निरंकुश निर्दलीय पञ्चायती शासन अन्त्य गराउन विद्यार्थी आन्दोलनको जगमा बनेको स्ववियुको महत्वपूर्ण भूमिका रह्यो । विसं ०४६ सालमा जनआन्दोलनको आधार देशभर छरिएका स्ववियु र विद्यार्थी संगठनले निर्माण गरेका थिए । पञ्चायतको कालरात्रि पार गरेर प्रजातन्त्रको स्वाद चाख्न सुरु नगर्दै राजाको निरंकुश प्रवृत्तिका जुकाहरूले सुँढ तेसार्न थालेपछि फेरि स्ववियुको जीवनमा राजतन्त्र अन्त्य आन्दोलनको अभिभारा आइलाग्यो । गणतन्त्रअघि र पञ्चायतपछि बीचको कालखण्डमा स्ववियुको भूमिका महँगी, अन्याय अत्याचार र सीमामिचाइ आदिको विरोधमा सडक तताउने रह्यो । दलहरू राजाविरुद्ध बोल्न डराइरहेको समयमा विद्यार्थी संगठनले ‘राजतन्त्र मुर्दावाद’को नारा लगाइसकेका थिए । यी सबै ताजा इतिहासका किस्सा हुन् । गणतन्त्र स्थापनापछि पहिलोपटक विसं ०६५ साल चैतमा स्ववियु चुनाव भयो । त्यसपछि लगभग चुनाव भएको छैनभन्दा पनि हुन्छ । २०७३ फागुनको चुनाव त केवल स्ववियुको जीवनमा लागेको क्यान्सरलाई सिटामोलको ओखतीजस्तै हो । यस्तोमा धेरै गम्भीर प्रश्न उठ्छ : स्ववियुले जन्माएका नेतालाई स्ववियु चुनावदेखि डर किन ? प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने चुनाव किन हुनसकेको छैन ? पञ्चायती र निरंकुश राजतन्त्रकालीन समयमा समेत निरन्तरता पाएको स्ववियु चुनावलाई अहिलेको राज्यसत्ताले किन महत्व दिएन ? 

परिवर्तनको इतिहास बोकेको स्ववियुलाई कुनै पनि बहानामा विघटनको संघारमा पुर्‍याउने आत्मघाती कार्य बन्द गर्नुपर्छ 

०६५ पछि चुनाव एकैचोटि ०६९को चैतमा हुने घोषणा भयो । तर, त्यो वर्ष चुनावी उम्मेदवार भित्तामै चित्त बुझाएर आन्दोलनबाट बिदा भए । त्यसपछि प्रत्येक वर्ष फागुन लागेपछि श्राद्धको तिथिजस्तै स्ववियु चुनावको मिति तोक्न थालियो, तर चुनावका लागि वातावरण बन्न सकेन र वातावरण बनाउन कोही लागेनन् । ०७३ फागुनमा चुनाव त गरियो, तर अस्तित्वहरणको त्रासले तालाबन्दीको नाटक गरेर हजारौँ विद्यार्थी अध्ययन गर्ने त्रिवि, पिएन, त्रिचन्द्र, अस्कल, शंकरदेव, नेपाल ल, वीरेन्द्र, सप्तगण्डकी, महेन्द्र मोरङ, बुटवल, हेटौँडालगायत कैयौँ  ठूला क्याम्पसमा चुनाव हुन सकेन । अघिल्लो वर्ष ०७५ फागुनमा चुनाव हुनुपथ्र्यो, तर अनेरास्ववियु र नेविसंंघको आन्तरिक कारणले चुनाव सर्‍यो । अहिले ०७६ फागुनको मुखमा छौँ । त्रिविले स्ववियु चुनावको बाजा बजाएर कार्यतालिकाको नाटक पनि पहिलो चरणमा मञ्चन गर्‍यो । तर, पुनः अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।

यी सबैखाले शृंखलाबाट स्ववियु चुनावसँग सबैलाई डर रहेको संकेत मिल्छ । विगतमा कुनै विद्यार्थी संगठनको जितको डरले चुनाव भाँडिने तालाबन्दीका घटना देखियो । यसमा आन्तरिक समस्यासँग जुधिरहेका विद्यार्थी संगठन अघि सरेको देखिन्छ । उता चुनाव गराउने अधिकार पाएको त्रिभुवन विश्वविद्यालयका पदाधिकारी पनि आफ्नो मनोमानी अन्त्य हुने डरमा चुनाव पन्छाइरहेका छन् । यी डर सबै निरर्थक छन्, खासमा स्ववियु चुनावले सबै पक्षलाई बलियो बनाउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ । कुनै पनि बहानामा परिवर्तनको इतिहास बोकेको स्ववियुलाई विघटनको संँघारमा पुर्‍याउने आत्मघाती कार्य बन्द गर्नुपर्छ । यसपटक कुनै हालतमा स्ववियुको चुनाव गरौँ । त्यसले मात्र शैक्षिक परिवर्तनको आन्दोलन बलियो हुन्छ । स्ववियु चुनावले विश्वविद्यालयको अकर्मण्यताको पनि अन्त्य गराउन सहयोग पुर्‍याउँछ । त्यसअतिरिक्त समाजमा राजनीतिक रूपमा अभ्यस्त नेता जन्मिन्छन् र राष्ट्र, राष्ट्रियताको रक्षार्थ आन्दोलन मजबुत हुन्छ । यसले मात्र सरकारले बोकेको ‘सुखी नेपाली समृद्ध नेपाल’को निर्माणमा 
सघाउ पुग्छ । 
(लेखक अनेरास्ववियु कास्कीका संयोजक हुन्)