मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार ०६:४२:००
Read Time : < 1 मिनेट
समाचार

अतिक्रमित सार्वजनिक जग्गा खाली गर्दै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ११ आइतबार ०६:४२:००

अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा काठमाडौं महानगरपालिकाले खाली गराउन थालेको छ । सरकारी जग्गा खाली गरी सार्वजनिक प्रयोजनमा ल्याउने उद्देश्यसहित महानगरले विभिन्न वडामा रहेका सरकारी जग्गा खाली गराउन थालेको हो ।

यही क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले शनिबार तीनकुनेस्थित जागृतिनगरको सरकारी जग्गामा व्यक्तिले बनाएका टहरामा डोजर चलाएको छ । सार्वजनिक सूचना जारी गर्दासमेत जग्गा खाली गर्न बेवास्ता गरेपछि वडा कार्यालयले पाँचवटा अस्थायी टहरामा डोजर चलाइएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । 

उनका अनुसार ६ रोपनी दुई पैसा जग्गा खाली भएको छ । उनले भने, ‘सार्वजनिक जग्गामा व्यक्तिले घर–टहरा बनाई भाडामा लगाएका रहेछन्, खाली गर्न सूचित गर्दा पनि बेवास्ता गरेपछि डोजर चलायौँ ।’

गत आइतबार मात्रै स्थानीय जनप्रतिनिधिसहित वडा नम्बर २९, ३१ र ३२ मा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले त्यहाँ रहेका सार्वजनिक जग्गामा ‘यो जग्गा नेपाल सरकारको हो’ लेखिएका बोर्ड राखेपछि जग्गा खाली गर्न निर्देशन दिएकी थिइन् । तर, ती जग्गामा व्यक्तिले बनाएका घर-टहरा उपयोग गरिरहे । 

वडाध्यक्ष भण्डारीले भने, ‘मन्त्री ज्यूले बोर्ड मात्रै राख्नुभो, अब हामी खाली गराउँछौँ ।’ वडाध्यक्ष भण्डारीका अनुसार वडा नम्बर ३१ कै आलोकनगरमा १७ रोपनी जग्गा छ । तर, अहिलेसम्म १० रोपनी आठ आना मात्रै खाली भएको छ ।

वडा नम्बर ३२ को सहभागिता मार्गमा चार रोपनी र अनामनगरको १४ आना दुई पैसा जग्गासमेत खाली गर्ने तयारी रहेको उनले बताए । जग्गा खाली भए पनि बहुउद्देश्यीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने वडाध्यक्ष भण्डारी बताउँछन् । 

तस्बिर : संजित परियार/नयाँ पत्रिका