मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रेश्मा सिंह काठमाडाैं
सीताराम बराल काठमाडाैं
२०७६ फाल्गुण ९ शुक्रबार १३:५०:००
Read Time : > 5 मिनेट
मल्टिमिडिया

काठमाडाैंकाे प्रसूतिगृहमा जन्मेका थिए भुटानी राजा वाङचुक (भिडियो स्टोरी) 

Read Time : > 5 मिनेट
रेश्मा सिंह, काठमाडाैं
सीताराम बराल, काठमाडाैं
२०७६ फाल्गुण ९ शुक्रबार १३:५०:००

दक्षिण एसियाली हिमाली राज्य भुटानले आज राजा जिग्मे केशर नामगेल वाङचुकको ४१ औँ जन्मदिन भव्य रूपमा मनाउँदैछ । राजाको जन्मोत्सवको उपलक्ष्यमा त्यहाँ तीन दिन बिदासमेत दिइएको छ ।

धेरैलाई थाहा नहोला, उमेरले चार दशक नाघेका वाङचुक वंशका भुटानी राजा जिग्मे केशर नामगेलको जन्म ४१ वर्षअघि नेपालमा भएको थियो । राजधानीको थापाथलीस्थित प्रसूतिगृहमा राखिएको एउटा ‘रेकर्ड’ले भुटानी राजा नेपालमा जन्मेका थिए भन्ने पुष्टि गर्छ । 

‘डेलिभरी केस’हरू रेकर्ड गरिएका कैयौं बहिखातामध्ये एउटालाई प्रसूतिगृहले अहिले पनि निकै सुरक्षित रूपमा राखेको छ । बहिखाताको बाहिरी गाता रातो रङको छ । त्यसमा ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्म अस्पतालमा भएका ‘डेलिभरी केस’का रेकर्ड छन् । 

बहिखाता हेर्दा देखिन्छ, ९ फागुन ०३६ का दिन बिहानै छिरिङ याङ्दोन नामकी महिलाले एक बालकलाई जन्म दिएकी छन् ।   भर्खर जन्मेकाले बहिखातामा बच्चाको नाम उल्लेख छैन । यो स्वाभाविक हो । किनभने, जन्मँदा कसैले पनि नाम सँगै लिएर आएको हुँदैन । नाम तय त न्वारानपछि मात्र हुने हो ।   

ती बालक अरू कोही सर्वसाधारण नभएर भुटानी राजा जिग्मे केशर नामगेल वाङचुक हुन् । अस्पतालका निर्देशक डा जागेश्वर गौतम भन्छन्, ‘हो, वर्तमान भुटानी राजाको जन्म ४१ वर्षअघि यही अस्पतालमा भएको हो । त्यो ‘डेलिभरी केस’लाई अस्पतालकी तत्कालीन डा. दिव्येश्वरी मल्लले ह्यान्डिल गर्नुभएको रहेछ ।’

स्मरणीय छ, डा. मल्ल राजा त्रिभुवनकी छोरी हुन् । त्रिभुवनका वैधानिक बडामहारानीका रूपमा कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी भए पनि आधा दर्जनजति अन्य रानी थिए । र, तिनैमध्येकी एकबाट डा. मल्लको जन्म भएको थियो । 

‘भावी राजा’लाई जन्म दिनका लागि नेपाल
गृह मन्त्रालयका तत्कालीन उपसचिव ताम्ला उक्यावका अनुसार वर्तमान भुटानी राजाकी आमा छिरिङ याङ्दोन नेपालमै बच्चा जन्माउन आफ्ना अन्य दुई दिदी–बहिनीसाथ काठमाडौं आएकी थिइन् । तत्कालीन राजा जिग्मे सिंगे वाङचुकसँग बिहे भइनसके पनि राजाबाट उनी गर्भवती भइसकेकी थिइन् । र, नवजात शिशु जन्मनुभन्दा केही महिनाअघि उनलाई काठमाडौं पठाइएको थियो ।  

तत्कालीन नारायणहिटी राजदरबारको जाँचबुझ केन्द्रमा काम गरिसकेका उक्यावका अनुसार उतिवेला राजा वाङचुकले छिरिङ र उनका अन्य तीन दिदीबहिनीसँग बिहे गरिसकेका थिए । तीमध्ये छिरिङ साहिँली हुन् । तर दरबारले कसैलाई पनि रानी घोषणा गरेको थिएन ।  

पेटमा रहेको गर्भलाई जन्म दिन दुई दिदीबहिनीसहित काठमाडौं आएको भुटानी राजपरिवारको महिला टोलीले आफ्नो नेपाल आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारमा जानकारी गराएको थियो । 

उतिवेला राजा वीरेन्द्रको जन्मोत्सव (१३ पुष) को कार्यक्रम टुँडिखेलस्थित सैनिक मञ्चमा मनाइन्थ्यो । कार्यक्रममा सहभागी हुने इच्छा भुटानी रानीहरूले पनि चिनियाँ लामामार्फत जाहेर गरेका थिए । उक्याव सम्झन्छन्, ‘यो कुरा दरबारमा जानकारी गराएर टुँडिखेलमा तीनै जना रानीहरूका लागि बस्ने व्यवस्था गृह मन्त्रालयको तर्फबाट मैले नै मिलाएको थिएँ ।’  

भुटानी राजपरिवारका सदस्यको काठमाडौं आवतजावत नियमित भइरहन्थ्यो । र यसका तीन कारण थिए । एक, धार्मिक । दुई, राजनीतिक सम्बन्ध । तीन, पारिवारिक सम्बन्ध । 

नेपालमा पनि राजतन्त्र भएकाले भुटानी राजपरिवारका लागि काठमाडौँ आइरहन सहज थियो, आजकल पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्रात्मक मुलुक थाइल्याण्ड जान सहज भएजस्तै । कतिसम्म भने, भुटानी राजपरिवारका सदस्यहरू लामो समयका लागि नेपाल आउँदा गोकर्णस्थित दरबारमा राखिन्थ्यो  दरबारका तत्कालीन सचिव शम्भु अधिकारी सम्झन्छन्, ‘भुटानमा राजमाता भनेर सम्बोधन गरिने अहिलेकी राजाकी हजुरआमा नेपाल आउँदा नारायणहिटीले गोकर्णस्थित दरबारमा बसोबासको व्यवस्था मिलाइदिने गथ्र्यो । जाडोको समय उनी ३–४ महिना गोकर्ण दरबारमै बिताउँथिन् ।’ 

भुटानी राजपरिवारका सदस्यको नेपाल आगमन–मोहको मुख्य कारणचाहिँ राजनीतिक भन्दा धार्मिक हुने गथ्र्यो । जस्तो कि; राजपरिवारसहित भुटानको करिब ७८ प्रतिशत जनसंख्या बुद्धधर्मको अनुयायी छ । त्यसैले उनीहरूका लागि बुद्धको जन्मभूमि नेपाल धार्मिक तीर्थस्थल हुने भइहाल्यो । 

वर्तमान राजाका आमाको नेपालसँग पारिवारिक साइनो पनि थियो । पूर्व परराष्ट्र सचिव डा मदन भट्टराईका अनुसार, सिन्धुपाल्चोकस्थित तार्केघ्याङका तत्कालिन औतारी लामा कुशे छेचु डुक्पा लामा वर्तमान राजाका आमाका मामा थिए । मामा नेपालमै भएकाले पनि उनी  दिदीबहिनीहरुका साथ काठमाडौँ आइरहने गर्थिन् ।  

हो, यिनै तीन कारणले छिरिङ भुटानका ‘भावी राजा’लाई जन्म दिन आफ्ना दुई दिदीबहिनीका साथ काठमाडौं आइन् । र भुटानका ‘भावी राजा’ लाई यतै जन्म दिइन् । 

हलेसीको भाकल, प्रसूतिगृहमा जन्म  
राजतन्त्रकालमा नेपालमा जस्तै भुटानमा पनि राजाको जेठो छोरा नै राजगद्दीको उत्तराधिकारी हुने परम्परा छ । 

वर्तमान राजा केशर नाम्ग्यालका बुबा तत्कालीन राजा जिग्मे सिंगेले एकै परिवारका चार दिदीबहिनीसँग बिहे त गरे, तर छिरिङ याङ्दोनले केशरलाई जन्म दिनुअघि कुनै पनि रानीबाट भुटानका ‘भावी राजा’ को जन्म भएको थिएन । 

कतिसम्म भने, साहिँली बहिनी छिरिङ गर्भवती भइसकेकी थिइन्, तर जेठी रानी दोर्जी वाङ्मोको पेटमा गर्भसमेत रहन सकेको थिएन । माहिली रानी छिरिङ पेमले एक बच्चा (छिमी याङजोम वाङचुक) लाई २६ पुष २०३६ मा जन्म दिइसकेकी थिइन् । तर, भुटानी राजपरम्परा भुटानी राजगद्दीको उत्तराधिकारी हुनसक्ने स्थिति थिएन । किनभने उनको जन्म बालिकाको रूपमा भएको थियो । चारमध्ये जुन रानीले पहिले राजा वाङचुकको छोरालाई जन्म दिन सक्यो, उही भुटानी राजगद्दीको उत्तराधिकारी हुने स्थिति थियो । 

यस्तो स्थितिमा पहिलो पटक गर्भवती भएकी छिरिङले आफ्नो पहिलो बच्चाको जन्म छोराको रूपमा होस् भन्ने कामना गरिन्, भाकलसमेत गरिन्, त्यो पनि नेपालमा मन्दिर रहेको हलेसी (खोटाङ) महादेवसँग । 

स्मरणीय छ, हलेसी महादेव हिन्दु र बौद्ध धर्मावलम्बी दुवैका लागि पूज्य देवता मानिन्छन् । भुटानी बौद्धमार्गीहरूले हलेसी महादेवलाई अझ बढी नै श्रद्धा गर्ने गर्छन् । आजकल पनि भुटानी राजपरिवारका सदस्यहरू वेला–वेला गुप्त रूपमा नेपाल आएर हलेसी महादेवको दर्शन गर्छन् । 

जसै पेटमा रहेको नयाँ बालकलाई जन्म दिने मिति नजिकिँदै गयो, रानी छिरिङ आफ्ना दुई दिदीबहिनीका साथ नेपाल आइन् । सम्भवतः उनीसँगै आउनेमा जेठी दोर्जी र कान्छी सांगे थिए । किनभने, माहिलीले केही समय अघिमात्र राजकुमारी छिमी याङ्जोमलाई जन्म दिएकी थिइन् । 

राजा वीरेन्द्रको १४ पुसमा पर्ने जन्मोत्सव कार्यक्रममा टुँडिखेलमा उपस्थित भएपछि काठमाडौँमै रहेकी छिरिङ यतै रहिन् । अस्पतालको रेकर्डअनुसार, केशरलाई जन्म दिनुभन्दा अघिल्लो दिन अर्थात् ८ फागुन (२०३६) का दिन छिरिङलाई प्रसूति गृह अस्पतालमा भर्ना गरिएको थियो । र, भोलिपल्ट (९ फागुन) बिहान ३ः४० मा उनले केशरलाई जन्म दिइन् । जन्मँदा उनको तौल ६ पाउण्ड ४ औंस रहेको अस्पतालमा रहेको रेकर्डबाट देखिन्छ ।  

राजा जिग्मे वाङचुककी तेस्री श्रीमती भए पनि छिरिङलाई भुटानी दरबारले रानीको दर्जा भने दिइसकेको थिएन । त्यो दर्जा उनले केशर जन्मेको ८ वर्षपछि २०४३–०४४ सालताका प्राप्त गरेकी थिइन् ।

त्यसैले, जन्मँदा केशरको हैसियत एक सामान्य नागरिकको रूपमा थियो, ‘ट्रोङ्सा पेन्लोप’ (भुटानी युवराज) का रूपमा होइन । ‘युवराजकै रूपमा जन्मेको भए कुनै विशेष कार्यक्रम गर्नुपर्ने हुन्थ्यो’ उक्याव भन्छन्, ‘तर, छिरिङले रानीको हैसियत नपाइसकेका कारण केशर जन्मँदा कहीँकतै कुनै कार्यक्रम भएन ।’ 

भुटानी राजदरबारले ३१ अक्टोवर २००५ (१४ कात्तिक २०६२) मा मात्र उनलाई ‘ट्रोङ्सा पेन्लोप’ को उपाधि दिएको थियो । २७ वर्षको उमेरमा युवराज घोषित भए । उनी त्यसको दुई वर्ष बित्दानबित्दै २३ मंसिर २०६३ मा राजा घोषित भएका थिए । जीवित छँदै उनका बाबु राजा जिग्मेले उनका लागि भुटानको राजगद्दी खाली गरिदिएका थिए । भुटानमा वाङचुक वंश सत्तारुढ भएको सय वर्ष पुगेको तिथि पारेर २१ कात्तिक २०६५ मा उनको राज्यारोहण गरिएको थियो ।  

जन्म मात्र नेपालमा भएको होइन, राजा केशरको बाल्यकालका  प्रारम्भिक दिन पनि नेपालमै बिते । ‘५/६ वर्षको उमेर हुँदासम्म उहाँ नेपालमै बस्नुभएको रहेछ’, अस्पतालका निर्देशक डा. गौतमले भने, ‘जब स्कुल भर्ना गर्नुपर्ने भयो, त्यसपछि मात्र उहाँले नेपाल छाड्नुभएको रहेछ ।’ 

नेपाल आफ्नो जन्मस्थान मात्र होइन, बाल्यकालका प्रारम्भिक दिनहरू पनि बितेको ठाउँ भएकाले होला, नेपाली अधिकारीहरूसँगको भेटमा उनले नेपालको स्मरण पटक–पटक गर्ने गरेका छन् । ३० असोज (०७६) मा भुटानको समेत जिम्मेवारी पाएका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने सिलसिलामा राजा वाङचुकसँग भेट गरेका थिए । त्यस अवसरमा पनि राजा वाङचुकले राजदूत आचार्यसँग आफ्नो जन्म नेपालमै भएको बताउन चुकेनन् । जन्म नेपालमा भएको स्मरण गराउँदै उनले नेपाल र नेपाली जनतासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गरेका थिए । 

९ वर्षअघि १५–१६ वैशाख (२०६७) मा भुटानको राजधानी थिम्पुमा भएको दक्षिण एसियाली शिखर सम्मेलन (सार्क) को १६ औं शिखर सम्मेलन भएको थियो । त्यहाँ पनि उनले आफ्नो जन्म नेपालमा भएको स्मरण गरेका थिए, तत्कालीन प्रधानमन्त्री माधव नेपालसँगको भेटवार्ताका क्रममा । 

‘नेपालसँग नेपालको भावनात्मक सम्बन्ध जोडिएको छ, किनभने मेरो जन्म काठमाडौँमा भएको हो’, नेपालसँगको त्यो कुराकानीमा उनले भनेका थिए, ‘र, नेपालसँगको यो भावनात्मक सम्बन्धलाई म व्यवहारमा उतार्न प्रतिबद्ध छु ।’ 

भिडियाे : शालिक भट्ट