मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ९ शुक्रबार ०६:२७:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

लघुवित्तका कर्मचारीले  घर घेरेपछि बुहारी बेपत्ता

सासूलाई बसिनसक्नु तनाव, छोरीका घरमा समेत भाँडभैलो

Read Time : > 6 मिनेट
२०७६ फाल्गुण ९ शुक्रबार ०६:२७:००

नयाँ पत्रिका फलोअप

रुपन्देहीको सैनामैना नगरपालिका–९ पीपलडाँडाकी देउमाया थापा दुई छोरा छाडेर केही महिनादेखि बेपत्ता छिन् । घरै छाडेर हिँड्नुपर्ने कारण हो– लघुवित्तको ऋण ।विभिन्न लघुवित्तका आकर्षक स्किम पत्याउँदै भटाभट ऋण लिएकी देउमायाले समयमा किस्ता बुझाउन सकिनन् । लघुवित्तका कर्मचारी दिनहुँजसो घर घेरा हाल्न आउन थाले । तनाव थेग्न नसकेपछि बुहारी भागेको सासू इन्द्रमतीले बताइन् । बुहारी बेपत्ता भएपछि दुई नाति अहिले इन्द्रमतीको जिम्मामा छन् । 

छोरा वैदेशिक रोजगारीमा छन् । इन्द्रमतीले नाति त जसोतसो हुर्काएकै छिन्, बुहारीले लिएको लघुवित्तको ऋणले निम्त्याएको तनाव झेल्नै महाभारत छ । कर्मचारी घरमा आएर पहिले बुहारीलाई धम्क्याउँथे, अहिले इन्द्रमतीलाई थर्काउँछन् । ‘बुहारी घरमा खान–बस्न नसक्ने भएपछि हिँडी । अहिले लघुवित्तका कर्मचारी दैनिकजसो आएर मसँग पैसा माग्छन्,’ इन्द्रमतीले भनिन्, ‘पैसा नदिए प्रहरी चौकीमा लगेर थुन्छौँ भन्छन् । तेरी बुहारीले लगेको पैसा तैँले जान्नुपर्छ भन्छन् । अलि–अलि जम्मा भएको दिएर पठाउँछु । सबै बुझाउन त मसँग कहाँ छ र ?’ बुहारीले कति ऋण लिएको भन्ने पनि थाहा छैन, इन्द्रमतीलाई । पैसा माग्दै १०–१२ वटा लघुवित्तका कर्मचारी आउने गरेको उनले बताइन् । 

देउमायाले मात्रै लघुवित्तबाट ऋण लिइनन्, नन्द–आमाजूलाई पनि सहभागी गराइन् । उनीहरूलाई समेत सहभागी गराएर ऋण लिएपछि तीन छोरीको घरमा पनि लघुवित्तले हैरानी पारेको इन्द्रमती बताउँछिन् । ‘बुहारीले छोरीहरूलाई पनि लघुवित्तमा समेटेकी रहिछ । उनीहरू पनि फसेका छन्,’ इन्द्रमतीले भनिन्, ‘लघुवित्तका कर्मचारीले दिनदिनै घेरा हाल्न थालेपछि ज्वाइँहरूले छोरीलाई छोडपत्र दिने भन्न थाल्नुभएको छ रे ! मैले के गरूँ ? भएको पैसा दिएकै छु, जति दिए पनि घटेको भन्दैनन् ।’ 

पीपलडाँडाकै ७० वर्षीया जैसरा थापालाई पनि बुहारीहरूले लघुवित्तबाट लिएको ऋणले सताएको छ । बुहारीहरू गीता र मायाले विभिन्न लघुवित्तबाट ऋण लिएको सुरुमा उनलाई थाहा थिएन । लघुवित्तका कर्मचारीले घर घेरा हाल्न थालेपछि मात्रै थाहा भयो । 

सकेको पैसा बुझाउँदा पनि खपिनसक्नु धम्की आउने गरेको उनले बताइन् । ‘राजमार्गसँगै जोडिएको जग्गा बेचेर किस्ता बुझाउँदा पनि ऋण घटेको देखाउँदैनन् । पैसा तिर भनेर धम्की मात्रै दिन्छन्,’ जैसराले भनिन्, ‘घरमा बस्ने स्थिति नै छैन ।’

लघुवित्तबाट ऋण लिँदा पीपलडाँडाका धेरै परिवारको बिल्लिबाठ भएको छ । धेरैले घर नै छाडेर हिँडेका छन् । गाउँमा रहेकाको हालत इन्द्रमती र जैसराको जस्तै हो । ‘लघुवित्तले दिएको तनाव झेल्न नसकेर वरिपरिका धेरै परिवारले घर छाडिसके । तर, हामी त भागेर पनि कहाँ जाने ? कहाँ गएर के खाने ?’ जैसराले भनिन् । 

गाउँमा रहेका पनि दिउँसो घरमा भेटिँदैनन् । लघुवित्तका कर्मचारीले प्रहरी ल्याएर लैजान्छन् कि भन्ने डरले उनीहरू बाहिरबाहिरै हुन्छन् । घरमा भेटिएका पनि खासै बोल्न चाहँदैनन् । इन्द्रमती पनि सुरुमा खुल्न डराइन् । फोटो खिच्न खोज्दा उनले भनिन्, ‘फोटो खिचेको थुनाउन त हैन नि ?’ 

सैनामैना–९ पीपलडाँडाका स्थानीय व्यवसायी कृष्ण पाण्डे धेरै व्यक्तिलाई लघुवित्तले उठीवास लगाएको बताउँछन् । ‘१०–१५ लाख सम्पत्ति भएकाको करोडसम्म ऋण भएको अवस्था छ । भद्रगोल शैलीमा एउटै व्यक्तिलाई १५–२० लघुवित्तले लगानी गरेर उठीवास लगाएका छन्,’ पाण्डेले भने, ‘सुरुमा फाइदैफाइदा हुन्छ भन्दै सोझा महिलालाई लगानी गर्ने लघुवित्तले उनीहरूलाई आयआर्जनको बाटो सिकाएनन् । किस्ता तिर्ने तरिका पनि सिकाएनन् । चर्को ब्याजको बोझ थेग्न नसकेपछि घरै छाडेर भाग्न थालेका छन् ।’ 

कञ्चन गाउँपालिकामा पनि पीडा उस्तै छ । वडा नं. ४ हरैयाकी भावना सारूले चार वर्षअघि स्वावलम्बन लघुवित्तबाट ५० हजार ऋण लिएकी थिइन् । समूह बनाएर ऋण लिएकी उनलाई लघुवित्तहरूको चर्को ब्याज र सेवाशुल्कले हैरान पारेको छ । उनीसँगै ऋण लिएका भागिसकेका छन् । उनी पनि पाँच महिना त भारततिर गएर बसिन् । अहिले घर फर्किएको थाहा पाएपछि लघुवित्तका कर्मचारी फेरि घरमा ओइरिन थालेका छन् । ‘बुधबार बिहानै दुई लघुवित्तका कर्मचारी आए, दैनिक चार–पाँच टोली आउँछन्,’ भावनाले भनिन्, ‘पाँच रुपैयाँ छ भने पनि छाड्दैनन् । नयाँ साइकल देखे पनि उठाउँछन् । गाईबाख्रासमेत डोहो¥याउँछन् । घरमा बस्ने अवस्था छैन । १०–१२ जना त भागेर विदेश गएका छन् ।’

समूहमा ऋण लिएर भागेकाको भागको किस्तासमेत गाउँमा भएकालाई तिर्न दबाब दिने गरेको भावनाले बताइन् । ‘५० हजार ऋण लिँदा पाँच हजार सेवाशुल्क भनेर काट्छन् । १६ देखि १८ प्रतिशत ब्याज असुल्छन्,’ उनले भनिन्, ‘लघुवित्तको ऋणले घरझगडा बढाएको छ ।’ सुरुमा प्रलोभनमा पारेर ऋण लगानी गर्ने लघुवित्तहरू एक महिनापछि धम्कीमा उत्रिने गरेको गुनासो उनको छ । 

ठगिने उजुरी गर्न डराउँछन्, ठग्ने नै जनप्रतिनिधि गुहार्दै
लघुवित्तले सेवाशुल्क मनपरी लिएर तथा चर्को ब्याज असुलेर ऋणीलाई ठगिरहेका छन् । तर, ठगिएकाले उजुरी गर्न सकिरहेका छैनन् । लघुवित्तले देखाएको डरका कारण पीडित चुप बसिरहेका छन् ।

‘चर्को कुरा गरे कालोसूचीमा राखिदिन्छम्, तिमीहरूका बच्चाको भविष्य बिग्रिन्छ, नागरिकता बन्दैन, पेन्सन रोकिन्छ, खानेपानी, बिजुली काटिन्छ भन्दै धम्क्याउँछन्,’ कञ्चन गाउँपालिका–४ हरैयाकी भावना सारूले भनिन्, ‘हामी कहाँ उजुरी गर्न जाने ? हामीलाई कसैको साथ छैन ।’

डरले ऋणीको भागाभाग छ, लघुवित्तका प्रतिनिधि उल्टै पैसा उठाइदिन भन्दै जनप्रतिनिधिकहाँ पुग्ने गरेका छन् । ‘म पीडित हुँ भन्दै ऋणी अहिलेसम्म आएका छैनन्,’ सैनामैना नगरपालिका–९ का वडाध्यक्ष डोलनाथ भण्डारीले भने, ‘बरु पैसा उठाइदिनुपर्‍यो भनेर लघुवित्तका प्रतिनिधि आउने गरेका छन् । मैले गरिबलाई के आधारमा पैसा दियौ त भनेर हप्काएर पठाइदिने गरेको छु ।’ 

एक महिलाको लहलहैमा ३० महिलाको बेहाल : लघुवित्तबाट ऋण झिक्न लगाइन्,बढी ब्याज दिने भन्दै पैसा बटुलेर फरार भइन्

जनकपुर/धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका ३० भन्दा बढी महिला लघुवित्तको ऋणले कंगाल बनेका छन् । चार वर्षअघि स्थानीय सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्तको सहजकर्ताका रूपमा शान्तपुर मुस्लिम टोलमा आएकी थिइन् । अशिक्षा र चरम गरिबीमा चेपिएका मुस्लिम महिलालाई भोलिका दिनमा राम्रो हुने भन्दै समूह बनाएर बचत गर्न सुझाइन् र मासिक तीन सयका दरले पैसा जम्मा गर्न भनिन् । 

३० महिला पाँच समूहमा बाँडिएर जसोधाले भनेअनुसार पैसा जम्मा गरे । सुरुमा सबै ठीकठाकै थियो । तीन वर्षपछि जसोधाले समूहमा जम्मा भएको पैसा ३६ प्रतिशत ब्याज दिने आश्वासन दिएर ऋण लिइन् । गाउँमा हुनेखानेकी बुहारीले भनेपछि समूहका महिलाले सजिलै माने । तर, उनको खेल यतिमा मात्रै सकिएन । आफूलाई अझै थप रकम चाहियो र लघुवित्तबाट ऋण लिएर दिन भनिन् । छिमेकी लघुवित्तबाट उनैले महिलालाई १६ प्रतिशत ब्याजमा ऋण मिलाइदिइन् । ३६ प्रतिशत दिने भन्दै त्यो पैसा पनि लिइन् । फाइदा हुने आशमा आफूले लघुवित्तबाट तीन लाख २० हजार लिएर जसोधालाई दिएको पीडित सहिदा खातुनले बताइन् । 

खातुनले छिमेकी लघुवित्तबाट ५० हजार, स्वावलम्बन लघुवित्तबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी एक लाख जम्मा गरेर जसोदालाई दिएकी थिइन् । अर्की नजमा खातुनले पनि विभिन्न लघुवित्तबाट दुई लाख लिएर जसोधालाई दिइन् । जसोधा सम्पत्ति समेत बेचेर श्रीमान्सहित फरार भएको स्थानीय महिलाले बताए । तर, पीडितले मुद्दा दर्ता गरेको महिनौँसम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । 

नयाँ पत्रिकामा समाचार आएपछि बोल्यो लघुवित्त बैंकर्स संघ : ‘१९ प्रतिशतसम्म ब्याज लिएकै हो’

भरतपुर/लघुवित्तहरूको छाता संगठन लघुवित्त बैंकर्स संघले जनतालाई १९ प्रतिशतसम्म ब्याजमा लगानी गरेको स्वीकार गरेको छ । नयाँ पत्रिकामा निरन्तर समाचार प्रकाशित भएपछि बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै संघले धारणा सार्वजनिक गरेको हो । 

बैंकबाट दुई प्रतिशतमा पैसा लिएर विपन्नबाट १९ प्रतिशतसम्म ब्याज असुली गरेको समाचार नयाँ पत्रिकामा छापिएको थियो । संघका महासचिव रामबहादुर यादवले १९ प्रतिशतसम्म ब्याजमा लगानी गरेको स्वीकार गरे । तर, बैंकबाट लघुवित्तले दुई प्रतिशतमा ब्याज नलिएको उनको दाबी छ । 

‘बैंकहरूको ब्याजदर १२ देखि १३ प्रतिशतसम्म छ । लघुवित्तले १८ देखि १९ प्रतिशतसम्म ब्याजमा लगानी गरेका छौँ,’ महासचिव यादवले भने, ‘योभन्दा तलमाथि भए हामी संस्था नै बन्द गर्न तयार छौँ ।’ उनले सबै लघुवित्तलाई एकै ठाउँमा राखेर नहेरिदिन आग्रह गरेका छन् । सेवाग्राहीलाई पीडा भए सुधार गरेर अघि बढ्न तयार रहेकोसमेत बताए । 

संघका अध्यक्ष वसन्तराज लम्सालले भने पत्रिकामा आएको समाचार आंशिक मात्रै सत्य भएको बताए । ‘सरोकारवाला संस्थासँग जानकारी नलिई समाचार आएको छ । समाचारमा आंशिक सत्यता भए पनि आमजनसमुदायमा भ्रम छर्ने खालको छ,’ लम्सालले भने । तर, लघुवित्तहरूले वर्षमै आठ गुणासम्म नाफा बढाएको प्रमाणले पनि गरिब जनतामाथि उनीहरूको शोषण खुलस्त हुन्छ । गत आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले औसतमा आठ गुणा (सात सय प्रतिशत)ले नाफा बढाएका छन् । 

प्रधानमन्त्रीद्वारा लघुवित्तको बचाउ : ‘धेरै देशमा लघुवित्तको ब्याज ५४% सम्म छ’

प्रधानमन्त्री केपी ओलीले गलत तथ्यांक प्रस्तुत गर्दै विपन्न जनतामाथि शोषण गरिरहेका लघुवित्तको बचाउ गरेका छन् । उनले नेपालमा लघुवित्तको ब्याज विश्वमै सबैभन्दा सस्तो भएको गलत तथ्य प्रस्तुत गरेका हुन् । 

‘धेरै देशहरूमा लघुवित्तको ब्याज ५४ प्रतिशतसम्म छ, नेपालमा त विश्वमै सबैभन्दा सस्तो छ,’ बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘किनभने त्यो लघुऋण हो । ब्याजमा लगाएको ऋण उठ्दै–उठ्दैन । सानो ऋणमा लागत पनि महँगो पर्छ ।’ 

तर, विश्वका धेरै देशमा लघुवित्तले ५४ प्रतिशतसम्म ब्याज लिएको तथ्यांक पूर्णतः गलत हो । लघुकर्जा कार्यक्रमको सुरुवात बंगलादेशबाट भएको हो । नेपालमा पनि त्यहीँको मोडल लागू गरिएको छ । हालै बंगलादेशको केन्द्रीय बैंकले लघुकर्जामा नौ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको छ । यो व्यवस्था आगामी १ अप्रिलबाट लागू गर्नुपर्नेछ । त्यस्तै, दक्षिण अफ्रिकामा पनि लघुवित्तले दिने ऋणको ब्याज न्यूनतम ३ दशमलव ७५ देखि ११ दशमलव ७५ प्रतिशतसम्म छ । भारतमा लघुवित्तले दिने ऋणको ब्याज औसतमा २० प्रतिशत छ । 

वाणिज्य बैंकहरूले ठूलो व्यवसायीलाई दिने ऋणको ब्याज १३–१४ प्रतिशतभन्दा धेरै नभएको धेरै भइसक्यो । गत वर्ष मात्रै तरलता अभाव भएर वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर १३–१४ प्रतिशतसम्म पुग्दा देशभरका उद्योगी व्यवसायी आन्दोलित भए । बैंकमा तरलता वृद्धि गर्न सरकार लाग्यो । नीति परिमार्जन भए, बैंकहरूमा तरलता प्रवाह गर्न सरकारले नै हस्तक्षेप गर्‍यो । तर, लघुवित्तको ब्याजदर २५ देखि ३० प्रतिशत हुँदा र एकै व्यक्तिलाई डेढ दर्जन संस्थाले ऋण दिएर तिर्न नसक्दा आत्महत्या गर्नुपर्ने अवस्था निम्तिँदा पनि विपन्न किसानको पक्षमा बोलिदिने कोही भएन । 

०७३ मा नेपाल राष्ट्र बैंकले लघुकर्जाको ब्याजमा १८ प्रतिशतको सीमा लगाएको थियो । तर, अहिले त्यसलाई पनि छुट दिइयो । वाणिज्य बैंकहरूलाई साढे चार प्रतिशत स्पे्रडको व्यवस्था छ । तर, लघुवित्तलाई नौ प्रतिशत स्प्रेडमा काम गर्ने सुविधा दिइएको छ । लघुवित्तको सञ्चालन लागत बढी हुने कारणले त्यस्तो सुविधा दिइएको राष्ट्र बैंकको तर्क छ । प्रधानमन्त्रीले समेत यही दोहोर्‍याए । तर, लघुवित्तहरूले सम्पूर्ण लागत जोडेर जति आउँछ, त्यसमा पनि नौ प्रतिशत जोडेर ऋण लगानी गर्न पाउने व्यवस्था गरिएको हो । अहिले लघुवित्तको ब्याज २० देखि २१ प्रतिशतसम्म पुगेको छ । 

सम्पत्ति शुद्धीकरण विभागको गतिविधिमा पनि प्रधानमन्त्रीको असन्तुष्टि

सम्पत्ति शुद्धीकरण विभागले व्यवसायीलाई कागजपत्रसहित विभागमा हाजिर हुन चिठी काटेको विषयमा पनि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । कसैले सम्पत्ति कमायो भनेर उसलाई आतंकित पार्ने पक्षमा सरकार नरहेको कुरा उनले बताए । 

‘हामी स्वच्छतामा विश्वास गर्छौँ । तर, कसैले राम्रो घर बनायो, राम्रो गाडी किन्यो भने सम्पत्ति छानबिन गरिहाल्ने हाम्रो नीति छैन । कोही धनी भयो भन्ने सुनेपछि सम्पत्ति छानबिन गरिहाल्ने नीति हाम्रो होइन,’ उनले भने । 

कसैको सम्पत्ति छानबिन गर्न आधार चाहिने प्रधानमन्त्रीले बताए । ‘सम्पत्ति शुद्धीकरण, आतंकवादलाई सहयोग गरेको वा कुनै अनुचित कारोबारको कुनै प्रकटीकरण भयो भने बुझ्नु बेग्लै कुरा हो । होइन भने हामीले कोही धनी भयो भन्नेबित्तिकै छानबिन गरिहाल्ने होइन, त्यसको पछाडि लागिहाल्ने होइन,’ उनले भने । स्वच्छ धनी हुने र पारदर्शी ढंगले कारोबार गर्ने अधिकार सबैलाई भएको पनि उनले बताए । 

‘भ्रष्टाचार गर्नेको अनुहार हेरेर निर्णय गर्दिनँ’
स्वच्छता र पारिदर्शिताका विषयमा कसैको अनुहार हेरेर आफूले निर्णय नगर्ने उनले बताए । ‘सुशासनका निम्ति चाल्नुपर्ने कदममा म हिच्किचाउँदिनँ । अप्ठ्यारो आउँछन्, कठिनाइ आउँछन्, तर कठिनाइ आयो भन्दैमा भ्रष्टाचारमा संलग्नलाई संरक्षण गर्दिनँ,’ उनले भने । प्रधानमन्त्रीको भनाइ सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको विषयप्रति लक्षित थियो । उनको भाषणको केही समयपछि नै बाँस्कोटाले राजीनामा दिएका थिए । ‘प्रधानमन्त्री पद त आउँछ, जान्छ । एउटा सिस्टम बसाउने हो । जतिसुकै सफल भए पनि धेरै समय शासनमा बस्न सकिँदैन । धेरै समय शासनमा बस्न खोज्यो भने परिणाम राम्रो हुँदैन । शिखरमा पुगेपछि झन्डा गाड्नुपर्छ र फर्किनुपर्छ । त्यहाँ बसिरहन खोज्यो भने राम्रो हुँदैन,’ उनले भने ।