मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ८ बिहीबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार

बाँस्कोटाले राजीनामा दिएपछि नियमित पत्रकार सम्मेलन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ८ बिहीबार १६:५५:००

सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएपछि बिहीबारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णयहरुको जानकारी हरेक साता मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दै आएका थिए ।

मन्त्री बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेकोले प्रधानमन्त्री केपी ओलीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । यस्तै बिहीबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री पदबाट बाँस्कोटाले राजीनामा दिएको जानकारी गराएका छन् ।

नियमित पत्रकार सम्मेलन स्थगित भएपछि मन्त्रालयको सभाहलमा पत्रकार र सम्बन्धित कर्मचारीको उपस्थिति शून्य छ। सरकारले २९ कात्तिक ०७५ मा प्रत्येक बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकको निर्णय यसअघि बालुवाटारबाट नै सञ्चारकर्मीलाई दिने चलन थियो । सरकारका निर्णयहरु सार्वजनिक गर्नका लागि आगामी पत्रकार सम्मेलन बस्नेबारे अहिले नै कुनै निर्णय नभएको बताइएको छ ।

‘अहिले नै केही जानकारी आएको छैन। सरकारले गरेका निर्णय सार्वजनिक गर्नका लागि आगामी पत्रकार सम्मेलन चाँडै हुन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ पत्रिकासँग भने ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले पनि आगामी पत्रकार सम्मेलनबारे केही जानकारी नभएको बताए ।