१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नुनुता राई
२०७५ माघ ५ शनिबार ११:०३:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली

मिस नेपाल,२००५ सुगरिका केसीको फिटनेस : भन्छिन् ‘कामले नै स्वस्थ छु’

Read Time : > 3 मिनेट
नुनुता राई
२०७५ माघ ५ शनिबार ११:०३:००

म नियमित व्यायाम गर्दिनँ । शरीर अलिकति मोटायो कि भन्ने महसुस भयो भने सामान्य व्यायाम गर्छु । अहिलेसम्म जिम नै जानुपर्ने अथवा नियमित व्यायाम गर्नुपर्ने गरी मोटाएको छैन । व्यायाम गर्ने समय पनि छैन । बिहान ७ वा ८ बजे निस्किएपछि साँझ घर पुग्दा त्यही ७ वा ८ बजेको हुन्छ ।  त्यसैले, व्यायाम गर्दिनँ भन्दा पनि हुन्छ । कहिलेकाहीँ गर्नै परे घरैमा सामान्य गर्छु । मिस वल्र्डमा भाग लिन जाँदा जिममा व्यायाम गरेको अनुभव छ । त्यसले गर्दा कसरी गर्न सकिन्छ भनेर आइडिया छ । त्यसमा पनि अहिले त युट्युबतिर भिडियो हेरेर पनि गर्न सकिन्छ । डाइटिङ गर्दिनँ । यो राम्रो पनि होइन । 

 व्यस्त दैनिकी छ 
मेरो दैनिकी एकदमै व्यस्त छ । १२ घन्टा घरबाहिर हुन्छु । त्यो अवधिभरि व्यस्त हुन्छु । म हप्ताको दुई दिन बिहानको दुई घन्टा इमेज एफएममा कार्यक्रम चलाउँछु, कलेज पढाउँछु, विभिन्न किसिमको ट्रेनिङ दिइरहेको हुन्छु । टिभीमा मेरो सिइओको भूमिकामा छु । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म त्यहाँ हुन्छु । त्यसपछि विभिन्न इभेन्ट भइरहेका हुन्छन्, त्यहाँ पनि भाग लिन्छु । विभिन्न ब्युटी पेजेन्टमा निर्णायकको भूमिका पनि निभाइरहेको हुन्छु । साथीभाइसँग भेटघाट पनि गर्नैपर्ने हुन्छ, गरिरहेको छु । 

यसरी मेरो पूरा दिन एकदम व्यस्त हुन्छ । फेरि, मेरो काम एक ठाउँमा बसेर गर्नुपर्ने किसिमको पनि हुँदैन । करिब सात–आठ घन्टा त उभिनैपर्ने हुन्छ । पढाउँदा तीन, चार घन्टा उभिनुपर्ने हुन्छ । नेपालकै पनि विभिन्न जिल्लामा गइरहेको हुन्छु । अफिसकै कामले अन्तर्राष्ट्रियस्तरको यात्रा पनि गरिरहनुपर्ने हुन्छ । इभेन्ट सञ्चालन गर्नुपर्दा निरन्तर आठ घन्टासम्म पनि उभिनुपर्ने हुन्छ । त्यसैले, कामले गर्दा मलाई व्यायाम गर्नुपरेको छैन, स्वस्थ छु । 

मेरो टिभीमा सिइओ छु, बिहान ११ देखि साँझ पाँच बजेसम्म त्यहीँको काममा हुन्छु । बिहान दुई घन्टा इमेज एफएममा कार्यक्रम चलाउँछु, कलेज पढाउँछु । विभिन्न किसिमका ट्रेनिङ दिइरहन्छु, ब्युटी पेजेन्टमा निर्णायक हुन्छु । दैनिक १२ घन्टा काममा व्यस्त हुन्छु । जसले व्यायाम गर्नुपरेको छैन, स्वस्थ छु । 

 खाना गडबड छ
मेरो खाना खाने समय नै निश्चित हुँदैन । प्रायः बिहानको खाना खाँदिनँ । समय नै मिल्दैन । बिहान साढे ७ मा निस्किसक्छु । त्यसवेला एउटा स्याउ टोकेर निस्कने हो । त्यसपछि निरन्तर काममा हुन्छु । समय मिल्यो भने खाना खान्छु । नमिल्दा त्यस्तै बिस्कुट, स्याउ, केरा खाएर नै बित्छ । खाना खाने समय एकदम गडबड छ । 

 जंकफुड खाँदिनँ
मलाई खाना नै चाहिन्छ भन्ने छैन । समय मिल्दा बिहान पनि साधारण दाल, भात, तरकारी खान रुचाउँछु । जे उपलब्ध छ, त्यही खाएर बस्न सक्छु । फलफूल खाए पनि भइहाल्छ । खानमा क्रेज छैन । धेरैजसो घरबाहिर नै हुने भएकाले सकेसम्म साँझको खानाचाहिँ घरमा खाने कोसिस गर्छु । घरमा पकाएको दालभात, तरकारी खान पाउँदा खुसी लाग्छ । 
धेरै समय बाहिर खाने भएकाले घरको खाना विशेष लाग्छ । चिल्लो, अमिलो, पिरो मन पर्दैन । जंकफुड खाँदिनँ । पानीपुरीजस्ता खानेकुरामा मलाई कहिल्यै रुचि भएन । झोलामा बिस्कुट, स्याउ बोकेर हिँड्छु, भोक लागेका वेला खान्छु । स्वस्थ र ताजा खाना खाने कोसिस गर्छु । 

ल भेजिटेरियन हुँ 
म भेजिटेरियन भएकाले माछामासु केही खाँदिनँ । हरियो सागपात, गेडागुडी मन पर्छ । ड्रिंक, स्मोक केही गर्दिनँ । त्यसले पनि म फिट छुजस्तो लाग्छ । 

 पानी पिउन ‘अलार्म’
तिर्खा नलागेसम्म पानी नपिउने बानी छ । सम्भवतः यो हाम्रो नेपाली कै बानी होला । त्यसैले, आजभोलिचाहिँ मैले ‘अलार्म’ राख्न थालेको छु, दुई–दुई घन्टामा । पानी पिउँछु । अलि बानी परेको छ । शरीरमा पानीको मात्रा बढेको छ । यसले पनि स्वस्थ रहन सहयोग पुगेको छ । चिया, कफी, कोकाकोलाजस्ता केही पनि पिउँदिनँ । 

 नियमित स्वास्थ्य जाँच
मलाई २१ वर्षको उमेरमा पेटको समस्याले सताएको थियो । त्यसवेला मलाई जाँच्ने डाक्टरले जीवनमा जस्तोसुकै व्यस्तता भए पनि स्वास्थ्यचाहिँ जाँच्ने गर्नु है भनेर सल्लाह दिनुभएको थियो । त्यसवेलादेखि नै वर्षमा एकपटक स्वास्थ्य जाँच गर्दै आएको छु । आमा भएपछि त बाबुलाई विभिन्न प्रकारका खोपहरू लगाइरहनुपर्ने हुन्छ । ६ महिनामा एकपटक स्वास्थ्य जाँच गर्दै आएको छु । 
 नेपालको स्वास्थ्य संस्थामा विश्वास छ
अहिलेसम्म स्वास्थ्य जाँच गर्नकै लागि विदेश गएकी छैन । नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ एवं उच्चस्तरीय प्रविधि प्रयोग भइरहेका छन् । दक्ष स्वास्थ्यकर्मीहरू हुनुहुन्छ । मलाईचाहिँ नेपालको स्वास्थ्य संस्थाप्रति विश्वास छ । 

म भेजिटेरियन भएकाले माछामासु केही खाँदिनँ । हरियो सागपात, गेडागुडी मन पर्छ । ड्रिंक, स्मोक केही गर्दिनँ । स्वस्थ एवं ताजा खाना, मीठो निद्रा निदाउनसक्यो भने स्वस्थ हुन सकिन्छ भन्ने लाग्छ । 

 ग्यास्ट्रिक र माइग्रेनको समस्या छ  
सामान्यतया, मलाई ग्यास्ट्रिकको समस्या छ । यो आमनेपालीको समस्या पनि हो । धेरैजनाले ग्यास्ट्रिक समस्या भएको सुनाउनुहुन्छ । मैले अघि नै भनिसकेँ खाना खाने समय एकदम गडबड छ । त्यसले गर्दा समय–समयमा ग्यास्ट्रिक समस्याले सताउने गरेको छ । सकेसम्म भोकै नबस्ने केही न केही खाने गरेको छु । त्यसैले, ब्यागमा स्याउ तथा डाइजेस्टिभ बिस्कुट बोकेको हुन्छु । माइग्रेन समस्याले पनि कहिलेकाहीँ सताउँछ । टाउको धेरै दुख्यो भने आराम गर्छु । आराम गरेपछि कम पनि हुन्छ । 

गहिरो निद्रामा सुत्छु
धेरै समय काममा नै व्यस्त हुन्छु । बिहान उठेदेखि साँझसम्म निरन्तर काममा व्यस्त हुन्छु । मेरो काम मानसिकसँगै शारीरिक रूपमा पनि सक्रिय हुनुपर्नेछ । त्यसैले, थकान हुन्छ । साँझ सकेसम्म ११ बजेभित्र सुतिसकेको हुन्छु । बिहान पढाउनुपर्ने अथवा प्रजेन्टेसन गर्नुपर्ने भए तयारीका लागि केही समय ढिलो हुन्छ, त्यसबाहेक अरू काम छाडेर पनि सुत्ने गरेको छु । कम्तीमा सात–आठ घन्टाचाहिँ गहिरो निद्रामा सुत्ने गर्छु, सुत्ने कोसिस गर्छु । निद्रा पुगेपछि स्वतः शरीरमा स्फूर्ति हुन्छ । स्वस्थ रहन सहयोग पुग्छ । 
स्वस्थ एवं ताजा खाना, मीठो निद्रा निदाउनसक्यो भने स्वास्थ्य हुन सकिन्छ भन्ने लाग्छ । 

 मनोरञ्जनका लागि यात्रा
काममा एकदम व्यस्त भए पनि कम ‘स्ट्रेस’ लिने भएकाले खास समस्या हुँदैन । काममा तथा जीवनमा उतारचढाव आइरहन्छन् भन्ने सोच्छु । गीत सुनिरहन्छु । म एकदम धेरै किताब पढ्छु । मेरो झोलामा किताब हुन्छन् । अंग्रेजी, हिन्दी, नेपाली किताब पढिरहन्छु । वैदेशिक यात्रा गर्नुपर्दा लामो समय जहाजमा बस्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मेरो साथी किताब नै हुने गर्छ । मलाई पढिरहनुपर्छ । यसले धेरै हदसम्म ‘बोर’ लाग्दैन ।  कहिलेकाहीँ गाह्रो भयो भने श्रीमान् र छोरासँगै घुम्न जान्छु । अलि गाह्रो हुनासाथ झोला बोकेर घुम्न निस्किहाल्ने गरेको छु । फ्रेस हुनाका लागि घुम्नजत्तिको उपयुक्त अरू केही लाग्दैन ।