१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार ११:२६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

चिरौँ महिनावारीबारे भ्रम

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार ११:२६:००

 डा. अरुणा उप्रेती
स्त्रीरोग विशेषज्ञ

दसैँ सुरु हुन लागेका वेला पहिलोपटक महिनावारी भएँ । सो समयमा म १२ वर्षकी थिएँ । त्यसवेलाको चलनलाई मान्दै आमाले मलाई १२ दिनसम्म लुकाउने पक्का थियो । यस्तो भयो भने त दसैँमा नयाँ लुगा र दक्षिणा नपाइने । हामी केटाकेटीका लागि पैसा र दसैँ पर्यायजस्तै थिए । दसैँ मनाउन नपाउने डरले घरमा कसैलाई पनि आफू महिनावारी भएको खबर सुनाइनँ र त्यसको व्यवस्थापन आफैँले गरेँ । त्यसको तीन वर्षसम्म पनि कसैलाई भनिनँ ।

म १५ वर्षकी भएपछि भने आमालाई चिन्ता लागेछ र सोध्नुभयो । त्यसपछि भने आफूलाई महिनावारी भएको सुनाएकी थिएँ । करिब तीन वर्षसम्म महिनावारी नबारेकाले मलाई ‘पाप’ लाग्ला कि भन्ने डर मेरो बालापनमा जाग्यो । तर, नराम्रो केही नभएपछि यसबारे भन्ने गरिएको डर भाग्यो । 

अहिले महिनावारी राष्ट्रिय बहसको विषय बनिसकेको छ । सरकारले गाउँ–गाउँका सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरण गर्न थालेको छ, जुन सम्मानजनक छ । तर, वितरण गर्दा त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन । प्रयोग गरिएका प्याड जथाभावी फाल्दा त्यसले पार्ने असरबारे पर्याप्त गृहकार्य नगरेको देखिन्छ । 

महिनावारी भएका वेला बजारमा पाइने टेम्पोन्स र मेन्सुरल कपभन्दा सेनिटरी प्याड वा सुतीको नरम कपडा प्रयोग गर्नु राम्रो

भ्रम र वास्तविकता

  •  महिनावारी भनिए पनि यो प्रत्येक महिनामा हुनुपर्छ भन्ने छैन । महिलाको शरीरिक बनोटअनुसार यसको समयावधि फरक हुने गर्छ । २५ देखि ४० दिनसम्मको अन्तरालमा महिनावारी हुनु सामान्य प्रक्रिया हो । त्यस्तै, महिनावारी भएको सुरुको एक–दुई वर्ष अनियमित हुन सक्छ । त्यतिवेला महिलाको शरीर परिपक्व भइसकेको नहुँदा यस्तो हुने गरेको हो । त्यसैगरी, महिनावारी सुक्ने समयमा पनि यस्ता अनियमितता देखिन सक्छन् । यसलाई हामीले सामान्य रूपमा लिनुपर्ने हुन्छ । 
  •  गुप्तांगमा साबुनको प्रयोग झुक्किएर पनि गर्नुहुँदैन । त्यसका लागि भनेर बजारमा भिन्नै सामग्री पाइन्छन् । ती चिजहरू सकभर प्रयोग गर्नुहुँदैन । सरसफाइका लागि मनतातो पानीको प्रयोग नै पर्याप्त हुन्छ । गाउँघरतिर महिलाले प्रयोग गरेको कपडा राम्ररी नसुकाउँदा गुप्तांगमा संक्रमणको समस्या देखिने गर्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरका भित्री प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ । नेपालको पश्चिमी भेगतिर महिलाले महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्दैनन् । कसैकसैले कपडा प्रयोग गरे भने सूर्यलाई देखाउनुहुँदैन भनेर घाममा सुकाउँदैनन्, अँध्यारो ठाउँमा सुकाउँछन् ।  अहिले बजारमा पाइने टेम्पोन्स र मेन्सुरल कपभन्दा सेनिटरी प्याड या सुतीको नरम कपडा प्रयोग गर्नु राम्रो हुन्छ ।

दुखाइ कम गर्न... 

  •     अदुवाको टुक्रा राखेर पानी पिउने
  •      बिस्तारै कम्मर माड्ने वा मालिस गर्ने 
  •      गहिरो श्वास लिनेअभ्यास गर्ने 
  •  योगासन गर्ने ।

कसरी हुन्छ महिनावारी ?
जन्मदेखि नै महिलाको डिम्बाशयमा हजारौँ अन्डा हुन्छन् । हरेक महिना एउटा अन्डा परिपक्व हुन्छ र डिम्बाशयलाई छोड्छ । यसलाई ओभुलेसन भनिन्छ । परिपक्व अन्डा बिस्तारै डिम्बवाहिनी नली हुँदै पाठेघरमा आउन थाल्छ । त्यही वेला अन्डा बस्नका लागि पाठेघरमा बाक्लो रगतका पत्रहरू बनिरहेका हुन्छन् । केही दिनपछि ती पत्र भत्किन थाल्छन् । पत्रहरू पनि अन्डासँगै बाहिर निस्कन्छन् । यसलाई नै महिनावारी भएको भनिन्छ । यो प्रक्रिया हरेक महिना दोहोरिन्छ ।

पेट दुख्नु सामान्य

  •  महिनावारी भएका वेला पेट दुख्नु सामान्य हो । पाठेघरको नली चलायमान हुने र शरीरमा हर्मोन परिवर्तन हुने भएकाले पेट दुख्ने हो । कतिले दुखाइ कम गर्न औषधि सेवन गर्ने गर्छन् । महिनामा खाइने त्यस्तो औषधिले खासै फरक पार्ने होइन । तर, सकेसम्म नियमित रूपमा शारीरिक व्यायाम गर्नु उत्तम हुन्छ । 
  •  हामीले दैनिक रूपमा नुनको मात्रा कम गर्ने हो भने पनि पेट दुख्ने समस्यामा केही कमी आउन सक्छ । योसँगै जंकफुडको सेवन कम गर्न पनि उत्तिकै महत्वपूर्ण छ । कतिपयमा बेहोस नै हुने गरी पेट दुख्ने गर्छ । यस्तो अवस्थामा डाक्टरकै सल्लाह लिनु उपयुक्त हुन्छ । पेट दुखेका वेला मेथीको चिया, तातो पानीजस्ता तरल पदार्थको सेवन गर्न सकिन्छ ।