१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार ०८:२७:००
Read Time : < 1 मिनेट
समाचार

शारदा पहिलो बाल विवाहमुक्त नगरपालिका घोषित 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार ०८:२७:००

सल्यानको शारदा नगरपालिका जिल्लाकै पहिलो बाल विवाहमुक्त उन्मुख नगरपालिका घोषित भएको छ ।

समुदाय प्रहरी साझेदारीअन्र्तगत जिल्ला प्रहरी कार्यलय (जिप्रका) सल्यान र शारदा नगरपालिकाको सक्रियतामा सञ्चालन गरेको 'स्टिकर अभियान' पछि बाल विवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको शारदा नगरपालिकाले जनाएको छ ।

करिब ३४ हजार जनसंख्या भएको नरपालिकामा बाल विवाहविरुद्धको अभियान चलाएपछि २० वर्ष मुनिका कुनै पनि बालबालिकाको विवाह नभएको नगर प्रमुख सुरेश अधिकारीले बताए ।

लामो प्रयासपछि बाल विवाह मुक्त उन्मुख नगरपालिका घोषणा गर्न सफल भएको नगर प्रमुख अधिकारीले बताए । उनले भने, ‘आगामी दिनमा बाल विवाह कानुनी रुपमा दण्डनीय अपराध हो भनेर सबैले आ-आफ्नो ठाउँबाट सचेतना फैलाउन जरुरी छ । यसलाई विद्यालयस्तरको शिक्षामा पनि समावेश गर्नुपर्छ ।’ 

जिप्रका सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बाल विवाह न्यूनिकरणका लागि स्टिकर अभियान प्रभावकारी भएको बताए । उनले शारदा नगरपालिकाले जस्तै अन्य स्थानीय तहमा पनि यस्तै अभियान सञ्चालन गरेर छिट्टै बाल विवाहमुक्त जिल्ला घोषणा गर्न पहल गर्ने बताए । 

सल्यान कर्णाली प्रदेशमै सबैभन्दा बढी बाल विावह गर्ने जिल्लामा गनिन्छ । यसको न्यूनिकरणका लागि यस अघि जिप्रका तथा नगरपालिकाले स्थानीय ज्योतिष, जैसि तथा छापाखानालाई बाल विवाहको चिना नहेर्ने र कार्ड नछाप्ने काम गर्न आग्रह गर्दै आएको थियाे । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बाल विवाहका दुई वटा मुद्दा दर्ता भएका छन् । नौं जना कारवाहीमा परेका छन् ।