मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ६ मंगलबार १९:३२:००
Read Time : > 1 मिनेट
समाचार

परिणाम देखिन केही समय लाग्छ : मुख्यमन्त्री भट्ट

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १९:३२:००

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अपेक्षाअनुरूप नै काम भइरहेको भए पनि परिणाम देखिन भने केही समय लाग्ने बताएका छन् । प्रदेशसभा बैठकमा प्रदेश सरकारका दुई वर्षको उपलब्धीबारे जानकारी दिँदै उनले महत्वपूर्ण कामहरू अघि बढाइएकाले केही समयभित्रै परिणाम देखिने बताए ।

भौतिक संरचना र कर्मचारीको अभाव तथा संघ–प्रदेशको साझा अधिकारका कानुन नबन्दा प्रदेशको अधिकार प्राप्त गर्न भएको ढिलाइका बाबजूद पनि सरकार अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए । ‘सरकारले महत्वपूर्ण योजना र कार्यक्रम अघि बढाएको छ । विकाससँगै रोजगारी सिर्जना गर्ने ठाउँहरू तयार हुँदैछन्,’ उनले भने, ‘वर्षौंदेखि नभएका कुरा दुई वर्षमै पूरा नहुन सक्छन् । यसलाई अन्यथा लिनु हुँदैन ।’ प्रदेशमा ५० प्रतिशत कर्मचारी अभाव रहेको उनको भनाइ छ ।

‘कानुन थिएन, संरचना र कर्मचारी थिएन, हामीसँग संघीयताको अनुभव पनि थिएन । यस्तो अवस्थामा अघि बढ्नु पर्‍यो,’ मुख्यमन्त्री भट्टले भने, ‘यस कारण पनि जनताले चाहेअनुसारको गतिमा काम गर्न ढिला भएको हो ।’ प्रदेश सरकारले विकास निर्माण, कृषि, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दावी गर्दै उनले त्यसको परिणाम देखिन भने केही समय लाग्ने बताए ।

मुख्यमन्त्री भट्टले प्रदेशको गौरवको आयोजनाका रूपमा नौवटै जिल्लामा एक/एकवटा सडक निर्माणको काम अघि बढाइएको जानकारी दिए । यस्तै पर्यटन विकासका लागि पाँचवटा पर्यटकीय करिडोरको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । त्यसैगरी प्रदेश बस सेवा सञ्चालनका लागि प्रदेश यातायात निगम गठन प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

प्रदेशको नामाकरण हुनुका साथै राजधानी तोकिनुलाई पनि मुख्यमन्त्री भट्टले सरकारको उपलब्धीका रूपमा लिएका छन् । संघीय सरकारबाट जग्गा प्राप्त नभएकाले राजधानी स्थापनाको काम भने अघि बढ्न नसकेको उनको भनाइ छ । यद्यपि राजधानी निर्माण समिति गठन गरेर प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सुरु गरिएको उनले जानकारी दिए ।