१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फोटो
नयाँ पत्रिका
२०७६ फाल्गुण ६ मंगलबार १७:४६:००
Read Time : < 1 मिनेट
समाचार

चल्लामा भएको कालो बजारी रोक्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ६ मंगलबार १७:४६:००

राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा बढाइएको कृत्रिम मूल्य फिर्ता गर्न माग गरेको छ । समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम मूल्य वृद्धि गरेको भन्दै फिर्ता गराउन माग गरेको हो । 

संघर्ष समितिका संयोजक विष्णु खड्काले गत ११ माघदेखि १८ गतेसम्म तीनपटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाएको बताए । उनले चल्लाको मूल्यमा भएको कालो बजारीविरुद्ध उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिँदा चासो नदिएकाले विभागसमेत मिलेमतोमा लागेको आरोप लगाए । उनले आफूहरू अन्यायमा परेको अवस्थामा सरकार चुप बस्दा पेशा छोड्ने अवस्थामा पुगेको बताएका छन् ।

कुखुरापालक किसानहरुको ज्ञापन पत्र बुझ्दै विभागका महनिर्देशक नेत्रप्रसाद सुवेदीले आफूलाई व्यापारी तथा उद्योगीसँग मिलेको बारे आपत्ति जनाएका थिए । उनले विभागले कसैसँग मिलेमतो नगरेको स्पष्ट पार्दै मूल्य बढेको विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने, 'कुरा मिल्दासम्म आफै मिलेमतोमा मूल्य बढाउने, बिग्रिएपछि एकै दिनमा समाधान खोज्ने प्रवृति अन्त्य गर्नु पर्छ । क्रान्तिकारी कुरा गरेर समस्याको समाधान हुँदैन ।'

महानिर्देशक सुवेदीले आवश्यक अध्ययनविना र हचुवाका भरमा कारबाही नहुने बताउँदै विधि प्रक्रिया पूरा गरी कारबाही गरिने बताए । राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले गत २० माघदेखि चल्ला र दानाको मूल्यमा कृत्रिम वृद्धि गराइएको भन्दै कारबाही गर्न लिखित निवेदन दिएको थियो ।