मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार १३:५१:००
Read Time : > 1 मिनेट
अर्थ

कुखुराकाे चल्लामा गरिएको मूल्यवृद्धि फिर्ता गराउन सरकारलाई दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार १३:५१:००

कुखुराको चल्लामा कार्टेलिङ गरेर बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै कुखुरा व्यवसायीले सरकारलाई दबाब दिएका छन् । दबाबका लागि कुखुरा व्यवसायीले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ज्ञापन पत्र बुझाएका हुन् । 

कुखुरापालक किसान संघर्ष समितिले विभागका महानिर्देशक नेत्र सुवेदीलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘हामीले अस्वभाविक रुपमा बढाइएको चल्लाको मूल्य फिर्ता गराइदिन सरकारसँग माग गरेका हौं’ समितिका संयोजक विष्णु खड्काले नयाँ पत्रिकासँग भने ‘कार्टेलिङ गरेर मूल्य बढाइएको पटक पटक जानकारी गराउँदा पनि सरकारले नसुनेपछि घेराउसहित ज्ञापन पत्र बुझाउन बाध्य भएका हौं ।’

विभागका सहायक सूचना अधिकारी दिपक पोखरेलले किसानले ज्ञापन पत्रमार्फत बुझाएका मागका बारेमा विभाग संवेदनशिल  रहेको जनाए । उनले किसानका माग सम्बोधन गर्न विभाग तत्कालै अघि बढ्ने समेत बताए । 

चल्ला र दानामा बढाइएको मूल्यवृद्धि फिर्ता गराउन किसानले माग गरेका छन् । समितिका संयोजक खड्काका अनुसार यसअघि चल्लाको मूल्य ३५ देखि ४५ रुपैयाँमा पाइने गरेको थियो । तर, ह्याचरी उद्योग संघले चल्ला र अण्डा नष्ट गरेपछि चल्लाको मूल्य प्रतिगोटा ७० रुपैयाँ पुगेको छ ।

किसानले चल्ला खरिद गर्दा ह्याचरी उद्योग संघले मूल्य तोक्ने गरेको छ । संघले तोकेको मूल्यमा ५ रुपैयाँ बढाएर मूल्य तिर्नु परेको गुनासो किसानले गर्दै आएका छन् । त्यस्तै कुखुरा किसानले कुखुरा विक्री गर्दा मासु व्यवसायीले मूल्य निर्धारण गर्ने गरेका छन् । मासु व्यवसायीले निर्धारण गरेको मूल्य भन्दा १० रुपैयाँ कममा व्यवसायीलाई विक्री गर्नु पर्ने बाध्यता रहेको कुखुरापालक संघको गुनासो छ ।

यसअघि ह्याचरी उद्योग संघले गत मंसिर २९ गतेदेखि ८ पुसम्म चिक्स होलिडे मनाउँदै चल्ला उत्पादनमा रोक लगाएको थियो । चल्लाले उचित मूल्य नपाएको भन्दै संघले ३० लाख चल्ला नष्ट समेत गरेको थियो । त्यस्तै ४५ लाख अण्डा समेत संघले नष्ट गरेको थियो ।

संघले चल्ला उत्पादनमा रोक लगाएको र चल्ला कोरल्न ठिक्क पारेका अण्डा नष्ट गरे कार्टेलिङ गरेका कारण मासुको उपभोक्ता मूल्य समेत अत्यधिक महंगो भएको थियो । सोही कारण अहिले बजारमा कुखराको मासुको भाउ महंगिएको छ ।