मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार ०९:११:००
Read Time : > 3 मिनेट
सेयर बजार

बैंकिङले बढायो नेप्से  इन्डेक्स, नियमित कम्पनीकै साढे २ अर्बको कारोबार 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ६ मंगलबार ०९:११:००

केही दिनदेखि १ हजार ३ सय ६० को बिन्दु पार गर्न नसकेको सेयर बजार आइतबार र सोमबार बढेपछि १ हजार चार सय बिन्दुमाथिसम्म पुगेको छ । बैंकिङ समूहको परिसूचक ३ दशमलव ५८ प्रतिशत बढेपछि नेप्से इन्डेक्स १ हजार ३ सय ९८ बिन्दुमा पुगेको हो । सेयर बजारमा बैंकिङ समूहले मात्र करिब ७५ प्रतिशत हिस्सा ओगटेको छ । त्यसले गर्दा बैंकिङ थोरै मात्र बढ्दा पनि नेप्से इन्डेक्स ह्वातै बढ्ने गर्दछ । 

०७५ वैशाखपछि सेयर बजार सोमबार १ हजार ४ सय बिन्दुसम्म पुग्न सकेको हो । २२ महिनाको अवधिमा सेयर बजार ३ सय अंकले घटेको थियो । यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड राखेको छ । केही वर्षअघि एभरेष्ट बैंकको परिवर्तीय सेयर २ अर्ब भन्दामाथि कारोबार हुँदा २ अर्ब ७० करोडमाथि करोबार भएको थियो । तर सोमबार कुनै पनि कम्पनीको ठूलो मात्रमा काराबोर नभई नियमित किनबेच हुने कम्पनीहरूले नै कारोबार रकम बढाएको छ । ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले लगानीकर्ताले अनलाइन प्रणालीको महत्व झ्दै गएकाले कारोबार रकम बढ्न पुगेको बताए । ब्रोकर कम्पनीहरूमार्फत मात्र यति ठूलो भोलुममा कारोबार नभएको उनले बताए । बैंकहरूको बेस रेट घट्न पुगी तरलता सहज हुने भएकाले पनि सेयर बजारमा त्यसको प्रभाव परेको उनको भनाइ छ । 

सोमबार अर्थमन्त्रीले बैंकर्स संघलाई बोलाई बैंकहरूको स्प्रेडदरमा पुनर्विचार गर्नेबारे छलफल गरेका छन् । बैंकहरूको स्प्रेडदर लचिलो भएमा नाफा बढ्ने अपेक्षामा लगानीकर्ता छन् । यही अपेक्षमा यस दिन लघुवित्त बिमा छोडी बैंकहरूको सेयर खरिद गरेको रानाभाट बताउँछन् ।  

सोमबार कुल ६४ लाख ७४ हजार ७ सय ५० कित्ता सेयरको २ अर्ब ६८ करोड ७५ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारको सुरुको अवधिदेखि नै बढेको सोमबार सेयर बजार १ हजार ३ सय ५० बिन्दुभन्दा तल नगई १ हजार ४ सय बिन्दुलाई पार गरेको थियो । 

सबै उपसमूह सकारात्मक बैंकिङ बढेसँगै सेन्सेटिभ ८ अंक बढ्यो

सोमबार १२ वटै उपसमूहहरू बढेका छन् । नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक ८ दशमलव शून्य ४ अंक बढेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक २ दशमलव ५ अंक बढेको छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट ३ दशमलव शून्य ६ अंक बढेको छ । बजार पुँजीकरण बढेर १७ खर्व ८३ अर्ब पुगेको छ । 

करिब चार वर्षअघिदेखि १८८१ बाट निरन्तर घटेर ११०० को बिन्दुमा आएको परिसूचक यस दिन मात्र १४०० बिन्दुको आसपास पुगेको छ । बढ्दो बजारले विश्वाशको वातावरण सिर्जना गर्दै अवसरको दायरा झन् बढाउँदै लैजाने हुँदा आगामी दिनमा बजार बढ्ने अनुमान लगानीकर्ताहरूमा छ ।

प्राविधिक विश्लेषण 
सोमबारको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले मंगलबार बजार बढ्ने संकेत गरेको छ । सोमबार पिभट बिन्दु १ हजार ३ सय ८८ छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय ९८ रहेको छ । पिभट बिन्दुभन्दा सोमबारको बन्द भएको नेप्से बिन्दु माथि रहेकाले बढ्ने देखिएको हो । लगानीकर्ताले पिभटको आधारमा मात्र लगानी नगरी आफूले पनि आधारभूत विश्लेषण गर्नुपर्छ । 

मंगलबार नेप्से ओरालो लागे १ हजार ३ सय ७३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ४ सय १२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । सोमबारको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट सेतो मैनबत्ती बनेको छ । यस मैनबत्तीले मंगलबार बजार बढ्ने संकेत गर्दछ । 

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद २२ फागुनदेखि

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेदेखि ६० प्रतिशत ( ६ः१०) को अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको छ । कम्पनीले माघ २६ गतेसम्म कायम सेयरधनीहरूलाई चैत १२ गतेसम्म हकप्रदका लागि आवेदन माग गरेको छ । कम्पनीले कुल ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँडपछि सो पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ । कम्पनीको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले पुस २९ गते स्वीकृति दिएको थियो । 

कम्पनीको हकप्रद बिक्रीको प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड छ । आवेदकहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरू तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘इक्रा एनपिआइपिओ ग्रेड थ्री’ रेटिङ दिएको छ । 

आइसिएफसी फाइनान्सको ऋणपत्र फागुन ११ गतेदेखि 

आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि सातवर्षे ऋणपत्रमा बिक्री गर्न लागेको छ । कम्पनीले वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले कुल २ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता व्यक्तिगत तवरमा र ७६ हजार कित्ता सर्वसाधारणलाई सार्वजानिक निष्कासनमार्फत बिक्री गर्न लागेको हो । बाँकी रहेकोे ४ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ । 

आवेदकहरूले ऋणपत्रमा छोटो अवधिमा फागुन १६ गते र ढिलो अवधिमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरूले ग्लोबल आइएमई क्यापिटल, आइसिएफसी फाइनान्सका विभिन्न शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड २१ लाख रुपैयाँभन्दा बढी छ । फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी माइनस ९ल्एद्यद्यद्य(० रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको ऋणपत्रमा मध्यमकर्जा जोखिम भएको 
संकेत गर्दछ ।

हकप्रदका लागि शिखर इन्स्योरेन्सको बुक क्लोज 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि फागुन १३ गते बुक क्लोज तोकेको छ । कम्पनीले ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद बिक्री गर्न लागेको छ । कम्पनीको १४औँ वार्षिक साधारणसभाले ३० प्रतिशत हकप्रद सेयर पारित गरेपछि बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर वितरणपछि सो पुँजी १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ । कम्पनीले चालू आवको ६ महिनामा १ अर्ब ७६ करोड रुपैयाँभन्दा माथि बिमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २३ करोड २३ लाख नाफा कमाएको छ ।