मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अस्पताल भर्ना हुन आउने नयाँ कोरोना संक्रमितलाई लिनुअघि अपनाउनुपर्ने सावधानीबारे वुहानको एक अस्पतालकी मुख्य नर्सले अन्य नर्सलाई जानकारी गराउँदै । तस्बिर : सिन्ह्वा
एजेन्सी बेइजिङ
२०७६ फाल्गुण ६ मंगलबार ०७:५३:००
Read Time : > 1 मिनेट
विश्व

हुबेईमा अब हिँड्डुलमा पनि प्रतिबन्ध

Read Time : > 1 मिनेट
एजेन्सी बेइजिङ
२०७६ फाल्गुण ६ मंगलबार ०७:५३:००

कोभिड १९ को संक्रमणसँग जुधिरहेको  चीनले संक्रमण उत्पत्ति  भएको हुबेई प्रान्तमामा मानिसलाई हिँड्डुलमा प्रतिबन्ध लगाएको छ । आपत्कालीन अवस्थाबाहेक सर्वसाधारणलाई घरबाहिर हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको हो । त्यस्तै, निजी कार चलाउन पनि रोक लगाइएको छ । हुबेईमा ६ करोड मानिस बसोबास गर्छन् । हुबेई प्रान्त र त्यसको राजधानी सहर वुहान कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित छ ।

खाद्यान्न तथा अन्य सामग्री खरिदका लागि प्रत्येक घरबाट एकजनालाई तीन दिनको अन्तरमा बाहिर निस्किन अनुमति दिइनेछ । औषधि पसल,  होटेल तथा खानेकुरा बिक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन् । त्यस्तै, अत्याबसेकीय सामान ओसारपसारमा प्रयोग हुने सवारीसाधन गुड्न छुट दिइनेछ । कोरोना भाइरसको संक्रमण  थप फैलिन नदिन चीनको केन्द्रीय बैंकले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्ने र पुराना नोट क्रमशः  भण्डारण गर्ने जनाएको छ ।

मृत्यु हुने १८६८ पुगे
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १८६८ पुगेको छ । मृत्यु हुनेमध्ये १ सयभन्दा बढी हुबेई प्रान्तका छन् । त्यस्तै, सोमबार कोरोना भाइरसका थप २ हजार ४८ संक्रमित भेटिएको र तीमध्ये १९३३ हुबेईका छन् । सोमबारसम्म कोरोनाबाट चीनमा संक्रमित हुनेको संख्या ७२ हजार ४ सय ४४ पुगेको छ । पछिल्लो तीन दिनमा कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या घटिरहेको छ ।

संक्रमित युवती उपचारपछि डिस्चार्ज
दक्षिण कोरियामा कोरोना जीवाणु संक्रमित एक चिनियाँ युवती उपचारपछि  अस्पतालबाट डिस्चार्ज भएकी छिन् । दक्षिण कोरियाको संक्रामक रोग नियन्त्रण केन्द्र (केसिडिसी) का अनुसार कोरोनापीडित ३० वर्षीया ती युवती फेब्रुअरी ११ मा अस्पताल भर्ना भएकी थिइन् । उनी वुहानबाट कोरिया गएकी थिइन् । दक्षिण कोरियामा कोरोना जीवाणुको संक्रमण  फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । दक्षिण कोरियाले चीनको वुहानबाट आफ्ना ७ सय नागरिकको उद्धार गरिसकेको छ । 

कोरोना भाइरसले आर्थिक वृद्धिमा प्रभाव पार्ने
दुवई/
चीनबाट विश्वका २६ मुलुकमा फैलिएको कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी रूपमा नै आर्थिक वृद्धि दरमा प्रभाव पार्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आकलन गरेको छ । निरन्तर गिरावट आएको आर्थिक वृद्धि कोरोनाको संक्रमणबाट थप प्रभावित हुने आइएमएफका व्यवस्थापन निर्देशक क्रिस्टिलिना जर्जिएभाले जानाकारी दिए । 

जर्जिएभाले भने, ‘कोरोनाका कारण ०.१ देखि ०.२ प्रतिशतसम्म आर्थिक वृद्धि दरमा कटौती हुन सक्छ ।’  कोरोनाले विश्व अर्थतन्त्रमा पार्ने प्रटभावबारे अहिले नै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था नभएको उनले बताए । महामारीको पूर्ण प्रभावको आकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले बताए । आइएमएफले सन २०२० मा ३.३ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिसकेको छ ।