मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बेलायतका सेनाध्यक्ष मार्क कार्ल्टन स्मिथसँग नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा
२०७६ फाल्गुण ६ मंगलबार ०६:२०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

बाक्लिँदै सैन्य अधिकारीहरूको नेपाल भ्रमण

Read Time : > 4 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार ०६:२०:००

-अमेरिका, बेलायत, बंगलादेशबाट सैन्य–राजनीतिक भ्रमण

-भारत र इजरायलका प्रधानसेनापतिको भ्रमण तयारी 

 -प्रधानसेनापति थापा एक वर्षमा भारत, चीन, अमेरिका र बंगलादेश पुगे

 -बेलायत भ्रमणको गृहकार्य

बंगलादेशका सेनाध्यक्ष अजिज अहम्मदले २४ देखि २८ माघमा नेपाल भ्रमण गरेलगत्तै बेलायतका सेनाध्यक्ष मार्क कार्ल्टन स्मिथ शनिबारदेखि नेपालको औपचारिक भ्रमणमा छन् । एक वर्षअघि बेलायतका रक्षामन्त्री मार्क ल्यान्चास्टरको भ्रमण भएको थियो भने बंगलादेशबाट पनि रक्षा राज्यमन्त्री मोहम्मद एनामुर रहमानले भ्रमण गरिसकेका छन् । बेलायत र अमेरिकाबाट उच्च राजनीतिक तहको भ्रमण नभए पनि उच्च सैन्य अधिकारीको भ्रमण निरन्तर भइरहेको छ । 

भारतबाट एक वर्षमा तीनजना सैन्य अधिकारीको मात्रै भ्रमण भएको छ । तर, एक वर्षमा चीनबाट उच्च तहको सैन्य अधिकारीको भ्रमण भएको छैन । यस अवधिमा नेपालमा सबैभन्दा बढी अमेरिकी रक्षा सहायकमन्त्री र सैन्य अधिकारीको ६ वटा भ्रमण भएका छन् । भारत, बेलायत र बंगलादेशका तीन तथा इजरायलबाट एउटा सैन्य कूटनीतिक भ्रमण भएका छन् । 

एक महिनाअघि २४ पुसमा ढाका गएका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा बंगलादेशका सेनाध्यक्ष अजिज आएर फर्किसकेका छन् । प्रधानसेनापतिको निमन्त्रणामा ३ फागुनमा आएका बेलायतका सेनाध्यक्ष कार्ल्टनले आइतबार प्रधानसेनापति थापासँग जंगी अड्डामा वार्ता गरे । दुई सेनाको आपसी सम्बन्धबारे चर्चा भएको जंगी अड्डाले जनाएको छ । बेलायत र नेपालले एक–अर्को देशमा सैन्य सहचारी राखेका छन् । दुवै देशका स्टाफ कलेजमा सैनिकले अध्ययन गर्दै आएका छन् भने नेपालमा रहेका सैन्य तालिम केन्द्रमा बेलायती सैनिकले तालिम लिइरहेका छन् । 

प्रधानसेनापतिकै निमन्त्रणामा भारतका नवनियुक्त स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र इजरायलका प्रधानेनापति अभिभ कोचबीको भ्रमणको तयारी भएको छ । उनीहरूलाई औपचारिक निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले सेनालाई स्वीकृति दिएको छ । भारतीय सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नबाट सुशोभित हुन भ्रमण गर्नेछन् । नेपाली सेना र भारतीय स्थल सेनाका प्रमुख एक–अर्काे सेनाका मानार्थ महारथी हुने प्रचलन छ । 

सैन्य कूटनीतिक सक्रियता 

पछिल्लोपटक प्रधानसेनापति पूर्णचन्द्र थापाको विदेश भ्रमण र विदेशबाट सैन्य अधिकारीहरूको नेपाल भ्रमण बाक्लिएको छ । नेपालका सैन्य सहचारी बेलायत, अमेरिका, भारत, चीन, बंगलादेश र पाकिस्तानमा छन् । यी देशका पनि सैन्य सहचारी नेपालमा छन् । यी देशबाट नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र, अमलेखगन्जस्थित जंगल वारफेयर कलेज, खरिपाटीस्थित नेपाली सैनिक स्टाफ कलेज, मुस्ताङस्थित उच्च शिखर शिक्षालय र सालझन्डीस्थित सैन्य तालिम केन्द्रमा सैनिक अधिकृतहरूले तालिम लिइरहेका छन् ।

प्रधानसेनापति थापाले भारत र इजरायलका प्रधानसेनापतिलाई बोलाउँदै छन् । इजरायल र भारतका सेनाध्यक्षलाई निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । प्रधानसेनापति थापाले नेपालस्थित सैनिक सहचारीलाई भेट्ने परम्परा बन्द गरेका छन् । एक वर्षमा थापासँग जम्मा ६ देशका नेपालस्थित राजदूतले जंगी अड्डामा शिष्टाचार भेट गरेका छन् । गत वर्ष पुसयता प्रधानसेनापति थापासँग ६ देशका नेपालस्थित राजदूतले भेटेका थिए । चीन, साउदी अरब, युरोपियन युनियन, इजरायल, रुस र बेलायतका राजदूतले प्रधानसेनापतिसँग जंगी अड्डामा शिष्टाचार भेट गरेका हुन् । 

नेपालमा को–को कहिले आए ? 

– २६–२७ पुस ०७५ मा अमेरिकाको इन्डो–प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जनरल फिलिप एस डेभिड्सनको भ्रमण । प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैन्य अधिकारीसँग भेटवार्ता । 

– ०७५ माघ अन्तिम साता बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सको भ्रमण । प्रधानसेनापति थापासँग २३ माघमा भेटवार्ता । 

– ०७५ फागुन पहिलो साता बेलायतका रक्षामन्त्री मार्क ल्यान्चास्टरको भ्रमण । मार्कद्वारा ९ फागुनमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति थापासँग भेटवार्ता । 

–०७५ फागुन दोस्रो साता अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरको भ्रमण । १३ फागुनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापासँग भेटवार्ता ।

– ४–९ साउन ०७६ सम्म बंगलादेशको नेसनल डिफेन्स कलेजका प्रमुख मेजर जनरल नक्विव अहम्मद चौधरीलगायतको टोलीको नेपाल भ्रमण । २७ सदस्यीय भ्रमण दलद्वारा प्रधानसेनापति थापासहित सैन्य अधिकारीसँग भेटवार्ता । 

– ०७६ भदौ तेस्रो साता बंगलादेशबाट रक्षा राज्यमन्त्री मोहम्मद एनामुर रहमानको नेपाल भ्रमण । प्रधानसेनापति थापासँग २० भदौमा जंगी अड्डामा भेटवार्ता । 

– ६–७ कात्तिकमा अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक र नेपाली सेनाबीच काठमाडौंमा नेपाल अमेरिका ल्यान्ड फोर्स वार्ता । नेपाली सेनाका १९ जना र अमेरिकी सेनाका १६ जना सहभागी । कार्यक्रममा अमेरिकी सेनाका मेजर जनरल ड्यानियल एफ म्याकडानियल नेतृत्वको टोली सहभागी । लगत्तै युएनको सैन्य मामिलासम्बन्धी कार्यालय र नेपाली सेनाबीच युएन शान्ति मिसनमा जाने एकाइ कमान्डरहरूको प्रशिक्षण । 

– भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरको कात्तिक दोस्रो साता नेपाल भ्रमण । भारतीय स्थल सेनाध्यक्षका सल्लाहकार मानिने गोपालद्वारा क्वार्टर मास्टर जनरल जंगी अड्डामा १८ कात्तिकमा प्रधानसेनापति थापासँग भेटवार्ता । 

– १ मंसिरमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शान्तनु दयालको नेपाल भ्रमण । प्रधानसेनापति थापासँग २ मंसिरमा भेटवार्ता । 

– सेनाको युद्ध भैरव गणमा ८ देखि ११ मंसिरसम्म नेपाली सेना र इजरायली डिफेन्स फोर्सबीच प्रतिआतंकवादसम्बन्धी विशेष तालिम सञ्चालन । 

– ०७६ मंसिर दोस्रो साता अमेरिकी सहायक रक्षामन्त्री र्‍यान्डल जी स्क्राइभरको नेपाल भ्रमण । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतसँग उनको १९ मंसिरमा भेटवार्ता । एक महिनापछि अमेरिकी सेनाले नेपाली सेनाका लागि पठाएको दुई स्काई ट्रक २ पुसमा काठमाडौंमा हस्तान्तरण । 

– नेपाली सेना र भारतीय सेनाबीच मंसिर अन्तिम साता एक्स सूर्यकिरण नामको संयुक्त अभ्यास सम्पन्न । समापनमा सहभागी हुन सालझन्डी आएका भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङद्वारा प्रधानसेनापतिसहितका सैन्य अधिकारीसँग जंगी अड्डामा भेटवार्ता । 

प्रधानसेनापति थापाले कहिले कुन देशको भ्रमण गरे ?

-०७५ को २७ पुसदेखि २ माघसम्म भारतको औपचारिक भ्रमण । २८ पुसमा भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभित । 

-१–७ असार ०७६ मा चीनको औपचारिक भ्रमण । समकक्षी जनरल ली जुआ चेङसँग ४ असारमा भेटवार्ता । मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत १५० मिलियन चिनियाँ युआनबराबरका सामग्री प्राप्त गर्ने प्रोटोकलमा हस्ताक्षर । 

-२३ असारदेखि १ साउनसम्म प्रधानसेनापति थापा अमेरिकाको भ्रमणमा । संयुक्त राष्ट्रसंघमा आयोजित प्रधानसेनापतिहरूको सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रसंघीय उच्च अधिकारीसँग भेटवार्ता । अमेरिकी सेनाका उच्च अधिकारीसँग पनि बेग्लै भेटवार्ता । 

-चीनको वुहान प्रान्तमा १–१० कात्तिकसम्म सिआइएसएम वर्ल्ड मिलिटरी गेम्स २०१९ मा नेपाली सैनिक खेलाडी सहभागी । 

-प्रधानसेनापति थापा २७ पुसदेखि १ माघसम्म बंगलादेशको औपचारिक भ्रमणमा । 

विज्ञ के भन्छन् ? 

परराष्ट्र मन्त्रालयसँग पनि समन्वय होस् : विनोज बस्न्यात, पूर्वउपरथी

नेपालले छिमेकीसहित दक्षिण एसिया (सार्क मुलुक) र महाशक्ति राष्ट्रहरूसँग सैन्य कूटनीतिक सम्बन्ध सुदृढ गर्नुपर्छ । शक्तिराष्ट्र र क्षेत्रीय मित्रहरूभन्दा धेरै पर जानु अहिले आवश्यक छैन । त्यसले हाम्रो विदेश नीतिलाई पनि समर्थन गर्दैन । नेपालमा भइरहेका विदेशी उच्च सैन्य अधिकारीहरूको भ्रमणले नेपालको कूटनीतिलाई सहयोग पुर्‍याएका छन् । तर, नेपालमा हुने ठूला देशहरूको उच्च सैन्य भ्रमणले नेपालमा उनीहरूको रणनीतिक चासो प्रतिबिम्बित हुन्छ र हामीले कूटनीतिक रूपमा यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा भुल्नुहुँदैन । यसका लागि सैन्य कूटनीतिक भ्रमणमा परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गर्नुपर्छ । विदेशी उच्च सैन्य अधिकारीहरूले रक्षामन्त्रीसँग मात्र नभएर परराष्ट्रमन्त्रीसँग पनि भेटवार्ता गर्ने प्रचलन प्रारम्भ गर्नुपर्छ । 

सैन्य कूटनीतिलाई प्रोत्साहन गर्नुपर्छ : निश्चलनाथ पाण्डे
कार्यकारी निर्देशक, नेपाल दक्षिण एसियाली अध्ययन केन्द्र 

सैन्य कूटनीतिले समग्र कूटनीतिलाई नै मद्दत गरिरहेको हुन्छ, त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्छ । उच्च सैन्य अधिकारीहरूको भ्रमण आदान–प्रदानले कतिपय अवस्थामा द्विपक्षीय सम्बन्धमा खासै इस्यु नभएको परिप्रेक्ष्यमा समेत ठोस एजेन्डा दिन सक्छ । अन्य मुलुकको दाँजोमा हाम्रा दूतावासमा सैन्य सहचारी कम छन् । पाँच अति शक्तिशाली देशमा समेत हाम्रो सैन्य सहचारी छैनन्, त्यहाँ थप्नुपर्छ ।