मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार

रिहा पछि महरा भन्छन्  : षडयन्त्रको विस्तारै पर्दाफास गर्नेछु

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ५ सोमबार १९:०४:००

आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । जिल्ला अदालत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमलटारस्थित निवासमा नयाँ पत्रिकासँग संक्षिप्त कुराकानी गर्दै महराले उपरोक्त कुरा बताएका हुन् । 

‘बलात्कारको आरोपमा मलाई षडयन्त्रपूर्ण ढंगले फसाउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने षड्यन्त्र भयो, मिडियामार्फत् विस्तारै पर्दाफास गर्दै जानेछु ।’  

काठमाडौं जिल्ला अदालतका न्यायाधीस अम्बरराज पौडेलको एकल इजलासको आदेशबाट सोमबार रिहा भएपछि खुमलटारस्थित निवास पुगेका महराले आफूलाई सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरे । 

‘ममाथि लागेको आरोप अदालतले खारेज गरेर सफाई दिएको छ, न्यायप्रति मेरो सम्मान अझ बढेको छ’ उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’  

हिरासतमा रहँदा प्रहरी, कर्मचारी, डिल्लीबजार जेल कारागार प्रशासनबाट पाएको सदभावको प्रशंसा पनि गरे । उनले भने, ‘यो जटिल अवधिमा प्राप्त सहयोगप्रति म विशेष धन्यवाद दिन चाहन्छु ।’  

सोमबार साँझ विज्ञप्ती जारी गर्दै महराले अदालतको फैसलाबाट आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।  
 
साथै एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा रहेको र आगामी दिनमा पनि रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’