मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
देनिस कारोखेल
२०७५ माघ ५ शनिबार ०८:०९:००
Read Time : > 3 मिनेट
फिचर

मैले देखेको अफगान

Read Time : > 3 मिनेट
देनिस कारोखेल
२०७५ माघ ५ शनिबार ०८:०९:००

मेरा अभिभावक चिनारमा बस्थेँ । यो काबुलबाट नजिकको जिल्लामा पर्छ । मेरा बाबु, हजुरबुबा र पुर्खाहरू आफ्नो समुदायका नेता थिए । उनीहरू जातीय काउन्सिलका अध्यक्ष रहे । सरकार र यस क्षेत्रका जातिबीचको समस्या समाधान गर्ने अभिभारा उनीहरूकै काँधमा थियो । यस क्षेत्रमा शान्ति कायम राख्न अफगान सरकारले सधैँ स्थानीयलाई खुसी राख्ने गरेको थियो । स्थानीयको मायाले मात्रै होइन, यस क्षेत्रको सडक, विद्युत् सञ्जालको रक्षार्थका लागि पनि थियो । मेरा बाबु जातीय सेनामा थिए र सारबोबी ड्याम र काबुलबीचको बिजुलीको रेखदेख उनकै जिम्मा थियो । 

सन् ७० को दशक अफगानिस्तानका लागि पीडादायी रह्यो । सन् १९७३ मा राजतन्त्र फालियो र अफगानिस्तानले खुला समाजको अभ्यास सुरु ग¥यो । धेरै पत्रपत्रिकाले काबुलमा कार्यालय खोले । राजनीति पार्टीहरूले अभियान चलाए । विभिन्न सिद्धान्तहरूबीचको प्रतिस्पर्धा सुरु भयो । अफगानिस्तान जति स्वतन्त्र र खुला थियो, विदेशी शक्तिहरूलाई अफगानिस्तान आफ्ना सिद्धान्त र स्वार्थहरूको रक्षा गर्न पनि उति नै सहज थियो । केही देशहरूमध्ये सोभियत युनियन त्यस्तो देश थियो, जसले मध्य–एसियाली देशहरूमा आफ्नो प्रभाव कम भएको स्विकार्न सक्दैनथ्यो । 

म दुई वर्षको मात्रै थिएँ । जतिवेला हाम्रो प्रजातन्त्र पाँच वर्षको थियो । सोभियत संघ पक्षधर पार्टीहरूले दाउद खानको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई २७ अप्रिल १९७८ मा बर्खास्त गरे । यो ‘कु’ कम्युनिस्टविरुद्ध फरक मत राख्नेहरूविरुद्ध लक्षित थियो । सोभियत युनियनले एक लाख सेना र विमान अफगानिस्तान पठायो । 

यो समय निकै कठिन थियो । मेरो परिवारमा सोभियत युनियनको ज्यादतीबारे मात्रै कुरा हुन्थ्यो । गाउँका विद्यालयहरू बन्द भए । गाउँका दाइहरूले नै हामीलाई पढ्न र लेख्न सिकाए । मलाई हिउँ परिरहेको समयमा अरेबिक लेख्न थालेको अझै याद छ । सोभियतविरुद्धको भावना बढ्दै गएपछि मेरो परिवार र पूरै गाउँ मुजाहिदिनको समर्थनमा लाग्यो, जसले हतियार उठाएको थियो ।

हामी उनीहरूलाई खानाको व्यवस्था गरिदिन्थ्यौँ र भित्री बाटाहरू देखाइदिन्थ्योँ, ता कि उनीहरू भूमिगत रूपमा हिँड्न सकून् । तर, यो कुरा सोभियत शासकहरूले थाहा पाए । उनीहरूले गाउँमा एम्बुस राखिदिए । जहाँ परेर सन् १९८४ मा मेरा बाबु र परिवारका ६ सदस्य मारिए । म केवल आठ वर्षको थिएँ । सोभियत युनियनले युद्ध विमानहरू पठाइरहेको थियो । विद्रोह चरम भएपछि हामी एक बिहान पाकिस्तान हिँड्यौँ । तीन दिन हिँडेर पाकिस्तानको सिमानामा पुगेपछि हामी शरणार्थीशिविरमा बस्यौँ । यो शरणार्थीशिविर अफगान मुजाहिदिनको आधार इलाका पनि थियो । 

यहाँ, स्वस्थ खानेपानी थिएन । हामीले पानीको ट्रकका लागि धेरै कुर्नुपथ्र्यो । यद्यपि, अन्तर्राष्ट्रिय समुदायले बालबालिकालाई पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्कुलको व्यवस्था गरिदिएका थिए । जहाँ मजस्ता बालबालिकाले पढ्न पायौँ । हामीले जिहादको महत्वबारे  बुझ्यौँ । कक्षा ४ मा नपुग्दै कसरी बन्दुक चलाउने भनेर सिक्यौँ । यहाँ बस्दा लामो समयसम्म धर्ममा ध्यान दिइयो । अफगानिस्तानका छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायले हतियारसहितको जिहादलाई समर्थन गरेका थिए । यद्यपि, धेरै अफगानी जनतालाई जिहाद भनेको थाहै थिएन । उनीहरू इस्लामका सामान्य विश्वासहरू पालना गर्थे । तर, जिहाद सुनेकै थिएनन् ।

अन्तर्राष्ट्रिय समुदाय, जसले सोभियतको लालसेनालाई रोक्नका लागि मुजाहिदिनलाई सहयोग गरिरहेको थियो तर उनीहरूले के बुझेनन् भने एकदिन यिनै लडाकुले आफ्नो हतियार पश्चिमा राष्ट्र साउदी वा पाकिस्तानविरुद्ध नै तेस्र्याउनेछन् । हजरत ओमर फरुक उच्च माध्यमिक विद्यालय जहाँ मैले ग्राजुएट गरेँ । त्यो धार्मिक अध्ययनको केन्द्र थियो र धेरै तालिवान नेताहरूले यहीबाट धार्मिक शिक्षा लिए । सातामा एक वा दुईपटक मदरसा घुम्नेक्रममा मलाई कसरी तालिवान आन्दोलन उत्कर्षमा पुग्दै छ भन्ने थाहा हुन्थ्यो । 

हस्तक्षेप सुरु गरेको १० वर्षपछि फेब्रुअरी १९८९ मा सोभियत युनियनले अफगानबाट सेना फिर्ता बोलायो । यतिवेलासम्म हजारौँ अफगानीको मृत्यु भइसकेको थियो । १०औँ लाखले देश छाडिसकेका थिए । त्यसैले जितले पनि देशमा शान्ति ल्याउन सकेन । कम्युनिस्ट राष्ट्रपति डा. नाद्जिबुल्लाहको कमान्डमा केही वर्षसम्म देश चल्यो । त्यसपछि सन् १९९२ मा मुजाहिदिनले सफलतापूर्वक काबुलमा मार्च ग¥यो । नाद्जिबुल्लाह युएनको कार्यालयमा गएर लुके । 

फेरि हामीले सोचेजसरी हिंसा अन्त्य भएन । हरेकजसो लडाकुले आफैँ नयाँ शासनको नेता भएको घोषणा गरे । गृहयुद्ध भयो र व्यावहारिक रूपमै काबुल ध्वस्त भयो । धेरै सेना र धेरै सर्वसाधारण मारिए । मैले यतिवेला शरणार्थी क्याम्पमै पत्रकारिता पढ्न सुरु गरेको थिएँ । तर, विश्वविद्यालयले काबुल र इस्लामावादको कुटनीतिक सम्बन्धमा आएको दरारका कारण ढोका बन्द गरिदियो । मैले अफगानिस्तान फर्कने निर्णय गरे । 

गृहयुद्धले थलिएका वेला तालिवान नामक एक समूहले शान्तिको आशा देखायो । यही कारण यसले छिट्टै जनताको साथ पायो । मुजाहिदिनका तत्कालीन नेता बुर्हानुदिन रब्बानीले पनि आफ्नो विपक्षी हेक्मतयारलाई हराउनका लागि तालिवानकै साथ दिने भए । यद्यपि, रब्बानीको शासन हटाउने स्पष्ट लक्ष्य लिएरै तालिवान अघि बढेको थियो । २६ सेप्टेम्बर, १९९६ मा तालिवान काबुल छि-यो । तालिवानले नयाँ कानुन ल्यायो । तर, युद्ध समाप्त भएन । फेरि हजारौँ मानिस देश छाडेर हिँडे । 

म पत्रकारितामै थिएँ । काबुलमा अवस्था बिग्रिँदै गयो । स्वतन्त्र मिडिया र पत्रकारका लागि तालिवानको शासन रहेको अफगानिस्तानमा कुनै ठाउँ थिएन । त्यसैले भूमिगत भएर काम गर्नुपर्ने भयो । सेप्टेम्बर ११ मा न्युयोर्क र वासिङटनमा हमला भएपछि अमेरिकाले तालिवानमाथि आक्रमण सुरु ग-यो । म यतिवेला एनबिसी टेलिभिजनका लागि काबुलबाट काम गर्थें । जीवन धेरै चुनौतीपूर्ण थियो र छ । म अमेरिकी रकेटबाट छलिएँ । त्यही रकेटले झन्डै एउटा पसललाई निसाना बनाएको थियो, जहाँ म थिएँ । 

२२ वर्षको लामो युद्धपछि सन् २००२ मा अफगानिस्तानमा शान्ति आउने आशा फेरि पलाएको थियो । सन् २००२ मा धेरै अफगानी इराक, पाकिस्तान, इरान र अन्य देशबाट फर्किए । रोड, खानेपानी, विद्युत् र स्वास्थ्यचौकीहरू पुनर्निर्माण हुन बाँकी नै थियो । तर, धेरै समय लाग्नेवाला थिएन । सन् २००५ बाट फेरि तालिवानको आक्रमण बलियो भयो । म आफ्नो परिवारसहित चिनरबाट सन् २००६ मा काबुल आएँ ।

खतरनाक वर्षहरू फर्किए । मलाई आफूलाई लागेको कुरा स्पष्ट रूपमा बोल्नु थियो र जनतालाई सही जानकारी दिनु थियो ।  मलाई के लाग्छ भने मेरो देश बन्नका लागि अफगानीले नै काम गर्नुपर्छ । अफगानीका लागि दुर्भाग्य के हो भने अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको कुनै संकेत नै देखिँदैन । मेरो पुरै जीवनमा मैले युद्धबाहेक सायदै अरू कुरा जानेको छु । त्यसैले म शान्तिका लागि लड्छु । शब्द र तस्बिरहरूबाट, जुन सम्भव भएसम्मको उत्कृष्ट हतियार हो ।
(पजवक अफगान न्युजका निर्देशक देनिस कारोखेल सन् २००८ मा अन्तर्राष्ट्रिय प्रेस फ्रिडम अवार्डबाट सम्मानित पत्रकार हुन् । )