मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण ५ सोमबार ०८:२०:००
Read Time : > 1 मिनेट
सप्तरंग

विदेशिन कफी तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ५ सोमबार ०८:२०:००

काठमाडौं मनमैजुका सुरज अधिकारी एक सातादेखि कफी बनाउने तालिममा छन् । उनी उच्च शिक्षा अध्ययनका लागि तेस्रो मुलुक जाने तयारीमा छन् । राहदानीका लागि आवेदन दिएपछि उनले कफी बनाउने तालिम लिन थालेका हुन् । पढाइबाहेकको समय ‘पार्टटाइम जब’ गर्न उनले तयारी थालेका हुन् । ‘यो मेरो ब्याकअप प्लान हो,’ उनी भन्छन्, ‘भिसा पाएँ भने बाहिर जान्छु । नत्र, नेपालमै काम गर्न सकिन्छ ।’

उनले काठमाडौं थापागाउँस्थित ‘माउन्ट स्ट्रडा बारिस्टा एकेडेमी’मा तालिम लिइरहेका छन् । सोही स्कुलमा तालिम लिइरहेकी इटहरीकी सम्झना थापा पनि उच्च शिक्षाका लागि क्यानडा या अस्ट्रेलिया जाने योजनामा छिन् । ‘सीप आफ्नै भविष्यका लागि हो,’ उनी भन्छिन् । बिदेसिन चाहने मात्र होइन, स्वदेशमै उद्यमको इच्छा राख्नेहरूले पनि कफी बनाउने तालिम लिने गरेका छन् ।

एकेडेमीका सञ्चालक लक्ष्मण थापाका अनुसार हाल उपत्यकाभित्र २० भन्दा माथि कफी–स्कुलले यस्तो तालिम दिँदै आएका छन् । थापा, विकास भण्डारी, राजकुमार कार्की र गणेश खातीले यो एकेडेमी ०७२ सालदेखि सञ्चालनमा ल्याएका हुन् । थापा भन्छन्, ‘हामीसँग काम सिकेका एक सयभन्दा बढी युवा–युवती अस्ट्रेलिया पुगिसकेका छन् भने, एक हजारभन्दा बढीले माउन्ट स्ट्रडाबाट तालिम लिइसकेका छन् ।’ कफी बनाउने तालिम लिएका युवा–युवतीले जापान, अस्ट्रेलिया, कोरिया, दुबई, कतार, साउदी अरेबियाको भिसाका लागि आवेदन दिएका हुन्छन् । कफी–स्कुलहरूले सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको तालिम दिने गरेका छन् ।

काठमाडौं उपत्यकाका अधिकांश कफीसपले एस्प्रेसो मेसिनबाट कफी बनाउने गरेका छन् । यस्ता एकेडेमीहरूले मेसिन ह्यान्डलिङ, एस्प्रेसो एन्ड कफी ब्रेविङ, मिल्क स्ट्रिमिङ, लाते आर्टलगायत तालिम दिन्छन् । यस्तै, क्यापुचिनो, क्याफे लाते, अमेरिकानो, रोमानो, मोजितो र पिकलो लाते बनाउन सिकाउँछन् । १३ दिनको कोर्स सकेपछि १० दिनको इन्टर्नसिप हुन्छ ।

बानेश्वरस्थित ‘कफी कब बारिस्टा ट्रेनिङ इन्स्टिच्युट’का सञ्चालक समीर भुसाल भन्छन्, ‘कफी बनाउन मात्र नभई ग्राहकसँग डिल र सरसफाइबारे पनि तालिम दिने गरिन्छ ।’ यो तालिमपछि जुनसुकै मुलुकमा गएर पनि कफी बनाउन सकिने उनको भनाइ छ । उनका अनुसार मेसिनका हरेक पार्टका बारेमा जानकारी गराएपछि मात्र त्यसबाट कफी बनाउने तालिम दिइन्छ । ‘यसलाई व्यवसाय बनाउन चाहने युवा–युवतीले कफी बनाउने तालिम लिँदै आएका छन्,’ भुसाल भन्छन् । उनको इन्स्टिच्युटमा २१ दिने कोर्स तय गरिएको छ ।