मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार १५:१२:००
Read Time : > 1 मिनेट
समाचार

कानुनी दायरामा आउँदै टुटल र पठाओ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण ४ आइतबार १५:१२:००

सरकारले राइडिङ सेयरिङ सेवा टुटल र पठाओलाई कानुनी दायरामा ल्याउने भएको छ । उच्च अदालत पाटनले यसलाई नरोक्न र कानुन बनाएर नियमन गर्न आदेश दिएसँगै यो कानुनी दायरामा आउने भएको हो । 

यातयात व्यवस्था विभागले उच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै टुटल र पठाओ जस्ता कम्पनीका लागि छुट्टै कानुन बनाएर नियमन गर्न लागेको हो ।विभागका महानिर्देशक गोगनबहादुर हमालले संघीय सवारी व्यवस्था ऐनका लागि आन्तरिक तयारी थालेको बताए । उक्त ऐनमा टुटल र पठाओ सञ्चालन लगायत अन्य थुप्रै कानुन समेटिने जानकारी दिए । 

‘पूर्वमहानिर्देशकलगायत पदाधिकारी बसेर यस विषयमा छलफल गरिरहेका छौं, यसै साता उक्त ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयसमक्ष पेस गर्ने छौं,’ हमालले भने ।

राइड सेयरिङ र यससम्बन्धी नीति तथा कानुन बनाउन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारावालालाई गत बुधबार उच्च अदालत पाटनले निर्देशन दिएको थियो ।

व्यवासायीहरूले भने अदातलको आदेशलाई उच्च सम्मान गर्दै कानुन आएपछि थप व्यवस्थित गरेर लैजाने बताएका छन् । टुटल कम्पनीका प्रवन्ध निर्देशक शंशाक थापा भन्छन्, ‘हामीले पनि कानुनकै बाटोबाट जान खोजेका हौं,’ सरकारले कानुन बनाएको खण्डमा यात्रु बिमालगायत थप बाटो खुल्ने थापाले बताए ।

टुटल र पठाओलाई रोक्न विभागले पटकपटक ट्राफिक प्रहरीलाई निर्देशन दिँदै आएको थियो । यसअघि मंसिरमा टुटल र पठाओ सञ्चालन रोक्न उच्च अदालत पाटनमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

यही मंसिर ३० गते उच्च अदालत पाटनका न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईंको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि अन्तरिम आदेश माग गरी मुद्दा दायर गरेका थिए । संघले टुटल, पठाओ, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

उच्च अदालतको पछिल्लो आदेशसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पनि टुटल र पठाओलाई सञ्चालन निर्देशन दिएका थिए । टुटल र पठाओलाई नरोक्न अदालतले आदेश दिएसँगै गत मंसिरबाट टुटल पठाओले पुनः राइड सेरिङ चलाउँदै आएका छन् ।

यातयात व्यवसायी महासंघ र ट्याक्सी व्यवसायीहरू भने टुटल र पठाओको विरूद्वमा सुरुवाती चरणदेखि नै रुष्ट हुँदै आएका थिए । व्यक्तिगत सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाइने भन्दै यातायात व्यवसायी टुटल र पठाओविरुद्व  खनिएका थिए ।