मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौ
२०७६ फाल्गुण ४ आइतबार ०६:४६:००
Read Time : > 2 मिनेट
अर्थ

डिजिटल इकोनोमीलाई अगाडि बढाउन कानुन आवश्यक : मन्त्री बाँस्कोटा

क्यान इन्फोटेक २०२०

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौ
२०७६ फाल्गुण ४ आइतबार ०६:४६:००

४ लाखले सूचना प्रविधिसम्बन्धी मेला अवलोकन गर्ने अनुमान

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले डिजिटल इकोनोमीलाई अगाडि बढाउनकानुनको आवश्यकता पर्ने बताए । शुक्रबार क्यान महासंघको आयोजनामा सुरु भएको २६ औँ क्यान इन्फोटेकलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका हुन् । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने उनले दाबी गरे ।

सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहले विधेयकको विरोध गरेको समेत उनले आरोप लगाए । मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐनभन्दा पनि खुकुलो भएको दाबी गर्दै डिजिटल सुशासन हुन नदिनेले यसको विरोध गरेको आरोप लगाए । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनको दाबी थियो । 

‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तथा डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने, ‘अरूले नबुझे पनि क्यानले यो विधेयकलाई  बुझ्नुपर्छ ।’ यद्यपि, सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाउने प्रतिबद्धता उनले जनाए । यो विधेयक अहिले संसद्मा विचाराधीन अवस्थामा छ । विधेयकमा रहेका कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन् । 

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए । सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै काम गर्न तयार रहेको अध्यक्ष कुँवरले बताए । नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको भन्दै यसलाई तल्लो स्तरबाट पुर्‍याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गर्न आवश्यक रहेको उनले बताए । यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम् सोच भएका व्यवसायलाई प्राथमिकता दिएको उनको धारणा थियो । इन्फोटेक ७ फागुनसम्म चल्नेछ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औँ संस्करण हो ।

प्रदर्शनीमा १ सय ७४ स्टल 
प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । त्यस्तै, सूचना प्रविधि (आइसिटी) पढाइ हुने कलेजका प्रोजेक्टहरूलाई पनि अलग्गै पभेलियनमा राखिएको छ । गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । मेलामा प्रवेश टिकट प्रभुपेबाट पनि खरिद गर्न सकिन्छ । 

यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मुख्य सहरमा विस्तार गर्ने आयोजकले जनाएको छ । यसअन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमती प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको क्यान महासंघले जनाएको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै छ ।

एनसेलको आकर्षक अफर 
मेलामा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा प्रदायकहरूले विभिन्न खालका अफर राखेका छन् । एनसेलले १ रुपैयाँमा सिमको अफरदिएको छ । यो सिममा ग्राहककले १० मिनेको निःशुल्क टकटाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् । यति मात्रै होइन, ग्राहकले ३ दिनका लागि २ जिबी डाटा निःशुल्क पाउनेछन् । त्यस्तै, क्यान इन्फोटेकमा रहेको एनसेलको स्टलबाट ५० रुपैयाँँ रिचार्ज गर्ने ग्राहकले १५ दिनसम्म बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म भ्वाइस कलमा ५० प्रतिशत छुट पाउनेछन् । 

स्टलबाट एक सय रुपैयाँँको रिचार्ज गर्ने ग्राहकले १५ दिनसम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छुट पाउँनेछन् भने ७ दिनसम्म लागू हुने गरी बिहान ५ देखि बेलुकी ५ बजेसम्म प्रयोग गर्नका लागि १ जिबी डाटा प्राप्त गर्नेछन् । दुई सय रुपैयाँँको रिचार्ज गर्ने ग्राहकले १५ दिनसम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छुट पाउनेछन् भने १ महिनासम्म लागू हुने गरी पाँच सय एमबी डाटा प्राप्त गर्नेछन् । 

पाँच सय रुपैयाँँको रिचार्ज गर्ने ग्राहकले १५ दिनसम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छुट पाउनेछन् भने १ महिनासम्म लागू हुने गरी १ जिबी डाटा प्राप्त गर्नेछन् । एक हजार रुपैयाँँको रिचार्ज गर्ने ग्राहकले १५ दिनसम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छुट पाउनेछन् भने १ महिनासम्म लागू हुने गरी २ जिबी डाटा प्राप्त गर्नेछन् । एनसेल स्टलबाट १०० रुपैयाँँभन्दा बढीको नगद कारोबार गर्ने गर्नेलाई स्पिन एन्ड विनको अवसर पनि छ ।

२ दिनमा १ लाख १० हजार अवलोकनकर्ता
काठमाडौंमा जारी क्यान इन्फोटेक मेलाको दोस्रो दिन ७५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । क्यान महासंघका महासचिव नारायण थापाका अनुसार बिदा भएकाले पनि शनिबार अवलोकनकर्ताको संख्या बढेको हो । मेलाको पहिलो दिन आइतबार करिब ३५ हजारले अवलोकन गरेको उनले बताए । 

क्यान इन्फोटेकको क्रममा शनिबार इन्टरनेटमा आधारित खेल इ–स्पोर्ट्सका विभिन्न विधामा प्रतिस्पर्धा भएको छ । ओसिएन कम्युटर प्रालिले अनलाइनमार्फत प्रतिस्पर्धा गराएको हो । एमएसआई इ–स्पोर्ट च्याम्पियनसिप २०२० नाम दिएर प्रतियोगिता गराइएको हो । च्याम्पियनसिपमा दोटा टु र सिएसओ गेमको प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । दुवै खेलमा विजेतालाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँँ पुरस्कारको व्यवस्था छ । दुवै गेममा ८–८ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।