मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुनिता खनाल
२०७५ माघ ५ शनिबार ०७:४५:००
Read Time : > 2 मिनेट
साहित्य

‘टुहुरो’ कविको जीवन संघर्ष

व्यक्तिचित्र

Read Time : > 2 मिनेट
सुनिता खनाल
२०७५ माघ ५ शनिबार ०७:४५:००

सानोमा दमको रोगी थिए उनी । वर्षको चार महिनाजति समय अस्पतालले लिइदिन्थ्यो । बाबु आसाम दुलियाजनस्थित तेलखानीमा कार्यरत थिए । परिवारले पनि स्वास्थ्य सुविधा पाउँथे । उनको अस्पताल बसाइ उतै हुन्थ्यो । साथीभाइसँग खेल्ने त्यो बालसमयमा औषधि र सिरिन्जको चस्कासँग खेल्नुपर्दाको नमीठो भोगे उनले । अस्पतालको एक्लो र निरस बसाइले हतास नहुनु पनि कसरी ? कतिवेला मृत्युले आवाज दिने हो थाहा थिएन उनलाई । एक दिन उनका बाबु उनलाई भेट्न अस्पताल पुगे । उनलाई काखमा उठाएर भने, ‘तेरी आमा मरी छोरा, अब तँ टुहुरो भइस् ।’ 

पाँच वर्षको कलिलो हृदय । मातृवियोगको पीडा खप्न सक्ने उमेर पक्कै थिएन त्यो । बाबुका चार श्रीमती भए पनि उनकी आमा तिनैमध्ये एक थिइन्, जो कहिल्यै नफर्किने बाटो लागिन् । सायद, छोरामोहको उपल्लो नतिजा हो त्यो । जेठी पत्नीबाट एउटी छोरी मात्र जन्मिइन् । माइली विवाह गरे । दुई छोरीलाई जन्म दिएर उनी स्वर्गे भइन् । फेरि साइँली विवाह गरे । उनीबाट पनि एक छोरी नै जन्मिइन् ।

क्षयरोगले बेस्सरी गाँज्यो साइलीलाई । छोराकै निम्ति फेरि कान्छी विवाह गरे उनले । तिनै कान्छी यमुनाबाट जन्मे खुमनारायण पौडेल । वेलावेला आमाको यादमा भक्कानिन्थे उनी । सानो कुरामा पनि आँसु खसालेको देख्थे नर्सहरू । कागजको टुक्रा र पेन्सिल ल्याइदिन्थे उनीहरू । त्यसैमा चित्र बनाएर आफूलाई सम्हाल्न थाले । पढाइ राम्रो हुन सकेन उनको । स्कुलमा सबैभन्दा धेरै गयल उनै हुन्थे । दश वर्षको उमेरसम्म उनलाई दमले छोडेन । इन्जेक्सनले घोच्दाघोच्दै शरीरभरि घाउ थिए । पाखुरा र तिघ्रा निलाम्य भए । पछि त्यो रोग त निको हुँदै गयो । तर, उनी एकान्तप्रेमी नै बनिरहे । 

पुख्र्यौली घर पर्वत । बाबु वि.सं. १९९० तिर आसाम हानिए । आसाम दुलियाजनमा काम गर्न गएका नेपालीहरूले खोलेको नेपाली स्कुल थियो त्यहाँ । त्यही स्कुलमा उनको अक्षरारम्भ भयो । तीन कक्षासम्म त्यहीँ पढे । चार र पाँच कक्षा राष्ट्रभाषा माध्यामिक विद्यालय नामक हिन्दी स्कुलमा पढे । त्यहाँ हिन्दी र आसामी भाषा पढाइन्थ्यो । उनले दुवै पढे । दुई वर्ष त्यहाँ पढेपछि बाबु रिटायर्ड भए । त्यहाँ काम गरेको पैसाले चितवनमा जग्गाजमिन जोडेछन् । त्यसपछि उनी बाबुसँगै चितवन आए । 

चितवनकै विश्वप्रकाश माविमा पढे र त्यहीँबाट एसएलसी सके । रामपुर कलेजमा आइएस्सी पढे । आइएस्सीमा थोरै मात्र प्रतिशत पुगेन उनको । थुप्रै साथीहरू छात्रवृत्तिमा इन्डिया र बंगलादेश गए । तर, उनले डाक्टरी पढ्न जानबाट वञ्चित हुनुप-यो । त्यसपछिको पढाइ चितवनमा थिएन । त्यसकै निम्ति काठमाडौंको त्रिचन्द्र कलेज आइपुगे उनी । त्यहाँबाट बिएस्सी सकेपछि त्रिभुवन विश्वविद्यालयबाटै एमएस्सी सके । 

दश वर्षको उमेरसम्म उनलाई दमले छोडेन । इन्जेक्सनले घोच्दाघोच्दै शरीरभरि घाउ थिए । पाखुरा र तिघ्रा निलाम्य भए । पछि त्यो रोग त निको हुँदै गयो । तर, उनी एकान्तप्रेमी नै बनिरहे । 

सानैदेखि साहित्यप्रति रुचि थियो । आसामबाट चितवन आइसकेपछि स्कुलको लाइब्रेरीमा भूपी, ईश्वर बल्लभ, मोहन कोइराला, मदन रेग्मी, द्वारिका श्रेष्ठलगायतका कविहरूको कवितासंग्रह पढे । त्यसमा आधा बुझ्थे । तर, बहुत रमाउँथे उनी । गर्मीयाममा बिहानी क्लास हुन्थ्यो । स्कुलबाट घर फर्केपछि भित्र बस्न नसकिने गरी तातो हावा चल्थ्यो । आफ्नै आँगनमा आँप, लिचीको रुख थियो । त्यसैको छायामा बसेर उनकी जेठी आमाले महाभारत, गीताका श्लोकहरू गाउँथिन् । उनलाई पनि सस्वर वाचन गर्न लगाउँथिन् । घरका अरू सबैले बसेर सुन्थे । त्यसको गहिरो छाप उनमा प-यो । उनले कविता कोर्न थाले । स्कुलमा एउटा कविता पुरस्कृत पनि भयो । ‘राम्रो नेपाली, मीठो रचना’ भन्ने पुस्तक पुरस्कारस्वरूप पाए उनले । त्यही पुस्तकबाट केही छन्द सिके । 

०३७ सालमा ‘सामन्तीलाई हाँक’ कविता स्कुलको मुखपत्रमा छापिएपछि उनी राम्रै गरी साहित्यमा लाग्न थाले । त्यतिवेला अखिलनिकट थिए उनी । उनको पहिलो कवितासंग्रह ‘अन्तिमेत्थम’ ०४९ मा आयो । ०५६ मा ‘नरमेध’ प्रकाशन भयो । त्यसपछि लामो समयको अन्तरालमा ०७३ मा ‘शीतनिद्रा’ प्रकाशन भयो । उनले कवितालाई नै आफ्नो रोजाइमा पारिरहे ।  ०५० सालमा एमएस्सी सकेपछि टियूमै करारमा जिओलोजी पढाउन थाले । पछि त्यहीँ स्थायी भए । उनी विगत २५ वर्षदेखि त्यही सेवामा कार्यरत छन् । ०४९ सालमा एकेडेमीको कविता महोत्सवमा तेस्रो भएका थिए उनी । ०५१ मा सडक नाट्य समूह गैडाकोटले ‘चालीसको दशकको काव्यनायक’ भनेर पुरस्कार दियो । ०५३ मा रेडियो नेपालको आधुुनिक गीत प्रतियोगितामा उनको गीत :
समाउने डाली छैन, टेक्ने हाँगो भेटिएन 
यत्ति हुँदा पनि बाँच्ने तिर्सना यो मेटिएन ।
प्रथम भयो । जसमा यशोदा र गणेश पराजुलीको स्वर र संगीत थियो । ०५६ मा नरमेधले नारायणी वाङ्मय पुरस्कार हात पा-यो । ०५९ को मोती युवा पुरस्कार पनि उनैले पाए ।  भविष्यमा कविताभन्दा फरक कतै लागे आफ्नै आत्मकथा लेख्ने रहर छ उनलाई । हुन पनि उनको जीवनभोगाइ चलचित्रको कथाजस्तै नै लाग्छ ।

सुरुमा काठमाडौं पढ्न आउँदा १५ वर्ष मैतीदेवीको एउटै डेरामा बसे । लाहुरे गुरुङको घरमा थियो उनको डेरा । लाहुरेका तीन छोराछोरी थिए । तिनैलाई पढाए उनले । घरबेटीले भाडा मिनाहा गर्दिए । उनले आफ्नो खर्च त्यसरी चलाएर मास्टर्ससम्म सके । जब अस्ट्रिया सरकारबाट पिएचडीको छात्रवृत्ति पाए, त्यहाँ ४० महिना बस्दाखेरि ललितपुरमा ६ आनाको घडेरी किने । एक तला घर बनाउने पैसा जोगाए । पछि छात्रवृत्तिबाटै पोस्ट डक्टरेड गर्न जमर्नी जाँदा दोस्रो र तेस्रो तल्ला घर थप्ने पैसा बचाए उनले । जीवनको ५४औँ खुड्किलो उक्लँदै गरेका खुमनारायणको चौथो कविताकृति ‘समाधि’ निस्कने तयारीमा रहेको छ ।