मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ४ आइतबार ०८:००:००
Read Time : > 3 मिनेट
सेयर बजार

सातामा १०.९० अंक बढ्यो नेप्से 

६ अर्ब ७१ करोडको कारोबार, सेयर बजारप्रति लगानीकर्ता उत्साहित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ४ आइतबार ०८:००:००

गत साताको पाँच दिनमा सेयर बजार अघिल्लो साताको तुलनमा करिब ११ अंक बढेर १ हजार ३ सय ४४ दशमलव ५९ बिन्दुमा पुगेको छ । सातामा दिन बढेको सेयर बजार दुईदिन घट्न पुगेको छ । अघिल्लो साताको बिहीबार १ हजार ३ सय ३३ दशलमव ६९ बिन्दुमा बन्द भएको थियो । गत साता आइतबार र बिहीबार बजार घट्न पुगेको छ भने सोमबार, मंगलबार र बुधबार बढेको छ । 

सेयर बजारमा स्टकर डिलरको रूपमा नागरिक लगानी कोषले दर्ता नागरिक स्टक डिलर कम्पनी दर्ता गरिसकेको छ । माघ २९ गते नागरिक कोषले स्टक डिलरको काम गर्नका लागि कम्पनी दर्ता गरेकाले लगानीकर्ताहरूमा उत्साह थप भएको छ । जसले सातामा ६ अर्ब ६९ करोड ८३ लाखबराबरको सेयर कारोबार भएको छ । साथै, नेपाल धितोपत्र बोर्डले पुँजीबजार विकास र विस्तारका लागि धितोपत्रको चारवटा नियमावली संशोधनसमेत गरेको छ ।

बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकर मर्ज हुन पाउने, लगानीको स्रोत खुलाउन पर्ने, बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने, सार्वजानिक निष्कासन खुला ३० दिनबाट घटाएर १५ दिनको अवधिसमेत कायम भएको छ । लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएका यी विषयलाई बोर्डले सम्बोधन गरेपछि लगानीकर्ताहरूमा आत्मविश्वास बढेको छ । 

लगानीकर्ता लघुवित्तमा केन्द्रित

गत सातामा लगानीकर्ताहरू लघुवित्तका सेयरमा केन्द्रित भएका छन् । लघुवित्त समूहको परिसूचक अघिल्लो साताको बिहीबारको तुलनमा ७ दशमलव ५२ प्रतिशत बढेको छ । अघिल्लो सातामा २ हजार १ सय ८७ दशमलव ६३ बिन्दुमा रहेको परिसूचक गत सातामा २ हजार ३ सय ५२ दशमलव १२ बिन्दुमा पुगेको छ । चालू आवको ६ महिनामा लघुवित्तहरूले राम्रो नाफा कमाएको प्रभाव सेयर बजारमा परेको छ । यी कम्पनीहरूले लाभांश पनि उच्च दरमा वितरण गर्ने हुनाले लगानीकर्ताहरूको रोजाइमा धेरै लघुवित्त कम्पनी परेका हुन्छन् । 

अघिल्लो साताको तुलनामा चार उपसमूहको परिसूचक घट्न पुगेको छ । बैंकिङ, होटेल, विकास बैंक र जलविद्युत् समूहको परिसूचक घटेको हो । अघिल्लो सातमा यी समूहको परिसूचक बढेको थियो । गत सातामा लगानीकर्ताहरूले यी समूहमा कारोबार हुने कम्पनीहरूमा नाफा बुक गर्दा परिसूचक घटेको हो । 

प्राविधिक विश्लेषण
सातामा भएको कारोबारबाट निकालिएको पिभटअुनसार आगामी दिनमा बजार बढ्ने संकेत देखिन्छ । साताको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले बजार बढ्ने देखिएको हो । साताको उच्च, न्यून, बन्द बिन्दुको आधारमा पिभट बिन्दु १ हजार ३ सय ३८ छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय ४४ रहेको छ । साताको पिभट बिन्दुभन्दा बिहीबार बन्द भएको बिन्दु माथि रहेकाले बढ्ने देखिएको हो । लगानीकर्ताले पिभटका आधारमा मात्र लगानी नगरी दैनिक बजार अवस्था हेरेर लगानी गर्न सक्छन् । 

आगामी साता नेप्से ओरालो लागे १ हजार ३ सय २१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ६१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । साताको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट बियरिस इङगल्फिङ लाइन आकृति बनेको छ । यसले आगामी दिनमा बजार अन्योल रहने संकेत गरेको छ । बजार अझै पनि १ हजार ३ य ६० को बलियो प्रतिरोधमा रहेको छ । बजारले सो बिन्दु पार गरेमा १ हजार ४ सय बिन्दुमा पुग्ने विश्लेषकहरूको भनाइ छ । 

सेन्सेटिभ इन्डेक्स बढेसँगै बजार पुँजीकरण पनि बढ्यो

सातामा बजार पुँजीकरण शून्य दशमलव ८६ प्रतिशत बढेको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरूको सम्पति बढेर १७ खर्ब १५ अर्ब माथि पुगेको छ । नेप्सेले ‘ए’ वर्गमा वर्गीकरण गरेका कम्पनीहरूलाई मात्र समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक शून्य दशमलव १९ अंक बढेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक १ दशमलव ३ अंक घटेको छ । सेन्सेटिभ र फ्लोट परिसूचक दुवैमा कारोबार हुने कम्पनीको मापन सेन्सेटिभ फ्लोटले गर्छ यससाता यो शून्य दशमलव ५३ अंक बढेको छ ।

एसबिआईको ऋणपत्र आवेदन थप 
नेपाल एसबिआई बैंकले ऋणपत्रको आवेदन दिने समयावधि थप गरेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा १० वर्षे ऋणपत्र निष्कासन गरेको हो । बैंकले माघ २८ गतेदेखि फागुन २ गतेसम्म आवेदनको अवधि तोकेको थियो । बैंकले तोकेको चार दिनको अवधिमा सम्पूर्ण ऋणपत्रमा आवेदन नपरेकाले अवधि लम्याएको बताएको छ । बैंकको ऋणपत्रमा अब, फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

बैंकले कुल २ अर्ब ५० करोड ऋणपत्रमा १ अर्ब ५० करोडबराबरको १५ लाख कित्ता व्यक्तिगतलाई र १ अर्बबराबरको १० लाख कित्ता संघ संस्थालाई बिक्री गर्न लागेको हो । प्रतिऋणपत्र मूल्य एक हजारको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म तथा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदकले कुमारी क्यापिटल लिमिटेड, नेपाल एसबिआई बैंकको सम्पूर्ण शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी– आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल एए’ रेटिङ प्रदान गरेको छ । 

नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकमले चालू आवको दोस्रो त्रैमासमा ४ अर्ब ९३ करोड नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ९५ करोडभन्दा माथि नाफा गरेको थियो । कम्पनीको नफा गत आवको सोही अवधिको तुलनामा १ करोड ५५ लाख घटेको हो । कम्पनीको बिक्री आम्दानी घटेसँगै नाफामा घट्न पुगेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमो १८ अर्ब ४४ करोड बिक्री आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमासमा १८ अर्ब ३ करोड मात्र गरेको छ । 

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रहेको छ । कम्पनीले जगेडाकोषमा ७४ अर्ब ३६ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी ६५ दशमलव ८६ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात ९ दशमलव ७९ र तरलता अनुपात २ दशमलव ३४ छ । प्रतिसेयर नेटवर्थ ५ सय ९५ रुपैयाँ ७५ पैसा रहेको छ ।

व्यावसायिक आम्दानीले बढायो हिमालयनको नाफा 

हिमालयन बैंक लिमिटेडको खुद ब्याज अम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ४५ प्रतिशत बढ्न पुगेको छ । गत आवको ६ महिनामा २ अर्ब ४९ करोड ३४ लाखभन्दा बढी खुद ब्याज आर्जन गरेको बैंकले चालू आवको ६ महिनामा २ अर्ब ५७ करोड ८० लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन आम्दानी १ अर्ब ९५ करोडबाट बढेर २ अर्ब ११ करोड ७० लाख पुगेको छ । 

गत वर्ष १ अर्ब ३६ करोड ७० लाख नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ७४ करोड २४ लाख नाफा गरेको छ । चालू आवको ६ महिनासम्म बैंकको वितरणयोग्य नाफा ९२ करोड ९२ लाख ८९ हजार छ । १० प्रतिशत बोनस सेयर पारित गर्ने प्रयोजनका लागि माघ २९ गते सभा बोलाएको बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख छ । बैंकको जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख छ ।