१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ फाल्गुण ४ आइतबार ०७:३८:००
Read Time : > 1 मिनेट
अर्थ

बुढीगण्डकी जलविद्युत् आयोजनाले २८.१८ अर्ब मुआब्जा बाँड्यो

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ४ आइतबार ०७:३८:००

गोरखाको २३ हजार ३ सय ३१ रोपनी र धादिङको २१ हजार १ सय ५८ रोपनीको मुआब्जा वितरण गरिएको छ

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान प्रभावित बासिन्दालाई २८ अर्ब १८ करोड ३१ लाख मुआब्जा रकम वितरण गरेको छ । गोरखातर्फ २३ हजार ३ सय ३१ रोपनीका लागि १४ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ मुआब्जा रकम वितरण गरेको छ । त्यस्तै, धादिङतर्फ २१ हजार १ सय ५८ रोपनीका लागि १३ अर्ब ३८ करोड ५५ लाखको मुआब्जा रकम वितरण भइसकेको बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना एकाइका कार्यालय गोरखाका एकाइ प्रमुख कृष्ण कार्कीले जानकारी दिए । ‘गोरखाका ८५ प्रतिशत र धादिङका ८० प्रतिशत स्थानीय बासिन्दाले मुआब्जा लिइसकेका छन्,’ कार्कीले भने, ‘बैंक ऋण भएका, अदालतले रोकेका, विवादितबाहेकका मुआब्जा वितरण भइसकेको छ ।’ उनले असार मसान्तसम्म मुआब्जा वितरण गरिसक्ने योजना रहेको जानकारीसमेत दिए । 

ह्रासकट्टी विवादले भौतिक संरचनाको मुआब्जा वितरण हुन सकेन 

डुबान क्षेत्रमा पर्ने भौतिक संरचना घरगोठ र बोटबिरुवाको ९ महिनाअघि लगत संकलन भए पनि मुआब्जा वितरण हुन सकेको छैन । आरुघाट र आर्खेतलगायतका बजार क्षेत्रमा लगत संकलनको काम अझै बाँकी छ । 

प्रभावितले ह्रासकट्टी गर्न नमान्दा मुआब्जा वितरण हुन नसकेको हो । भवनसम्बन्धी प्रचलित कार्यविधिमा भौतिक संरचनाको ह्रासकट्टी गर्नुपर्ने प्रावधान छ । तर, ह्रासकट्टी गर्न प्रभावित बासिन्दाले मानेका छैनन् । 

प्रभावित बासिन्दाको माग सम्बोधन गर्न मुआब्जा वितरण पुनर्वास तथा पुनस्र्थापना एकाइले ऊर्जा मन्त्रालयमा फाइल पठाएको कार्कीले जानकारी दिए । मन्त्रालयबाट निर्णय भएपछि घरगोठ र बोटबिरुवाको मुआब्जा वितरण सुरु हुने उनले बताए । 

गोरखाको घ्याल्चोक, दुर्बुङ, फुजेल, नाम्जुङ, बुंकोट, अश्राङ, बोर्लाङ, धावा र तान्द्राङ क्षेत्रको लगत संकलन सकिएको छ । त्यस्तै, धादिङतर्फ सलाङ, खरी, मैदी, चैनपुर, ज्यामरुङ, सल्यानटार, अग्निचोक र बुढाथुम्क क्षेत्रका बोटबिरुवा र भौतिक संरचनाको लगत संकलन भइसकेको छ । बजार क्षेत्रको लगत संकलन गर्न केही दिनमै प्राविधिक टोली खटाइने कार्यालयको तयारी छ । दुवै जिल्लाका डुबान क्षेत्रका प्रभावित बासिन्दालाई असारभित्र मुआब्जा वितरण गरिसक्ने योजना कार्यालयले लिएको छ ।