१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७६ फाल्गुण ३ शनिबार ०८:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश २ सरकारको लक्ष्य : साढे तीन हजार किमी सडक निर्माण 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७६ फाल्गुण ३ शनिबार ०८:४५:००

प्रदेश २ सरकारले अगामी १५ वर्षमा साढे तीन हजार किलोमिटर सडक निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । प्रदेश २ सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा आफूमातहतका मन्त्रालयका कामको प्रगति तथा आगामी योजनाको विषयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले विभिन्न तीन चरणमा तीन हजार ३ सय ९२ किमि सडक निर्माण गर्ने लक्ष्य लिएको बताए । 

जसमध्ये प्रादेशिक लोकमार्ग एक हजार ४ सय ९७, सहायक प्रादेशिक लोकमार्ग १ हजार दुई सय ६१ र अन्य प्रादेशिक सडक ६ सय ३४ रहेको र ती आगामी १५ वर्षमा निर्माण गरिने योजना रहेको मन्त्री सोनलको भनाइ थियो । ‘प्रदेश सरकार गठन भएको दुई वर्ष भए पनि हामीले एक आर्थिक वर्ष (०७४/७५)मा मात्रै पूर्ण रूपमा काम गर्न सक्यौँ,’ उनले भने, ‘यो अवधिमा प्रदेश सरकारले पक्की र ग्राभेल गरी ३७५ र कच्ची ७ सय २७ गरी १ हजार १ सय ३ किलोमिटर सडक निर्माण गरिसकेको छ ।’

संघीय सरकारको रणनीतिमा नपरेका प्रदेश लोकमार्ग, प्रदेश सहायक लोकमार्ग र अन्य सडक निर्माण गर्ने लक्ष्य रहेको मन्त्री सोनलले बताए । ती सडक निर्माणका लागि ८३ अर्ब १६ करोड, पुलपुलेसा निर्माण तथा मर्मतसम्भारतर्फ १० अर्ब ५३ करोड र सडक मर्मतसम्भारतर्फ ३ अर्ब ७२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले जनाए । 

तर, प्रदेश सरकारसँग प्रतिवर्ष सडक निर्माणतर्फ १ अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेकाले बाँकी अपुग रकमका लागि संघीय सरकार र दातृ निकायसँग पहल गरिने उनको भनाइ छ ।