मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार १८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गिरिजाप्रसादले माओवादीलाई फौजी कारबाही बढाउनु पर्यो भन्नुभएकै हो : डा. भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार १८:२२:००

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । 

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन बिथोल्न स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई आग्रह गरेको बताएका हुन् । १२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको उनले बताए । 

उनले भने ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो । पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ(गिरिजा) ले ठोक्नुपर्याे भनेर चाहीँ भन्नुभएको हो । लौ न कारवाही अगाडी बढाउनुपर्याे उहाँले भनेको हो म पनि साँक्षी थिए । नगरपालिका निर्वाचन विथोल्न फौजी कारवाही बढाउनुपर्याे भन्नुभएको हो ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने प्रतिक्रिया दिए । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । बितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’ उनले भने ।

नेकपा अध्यक्ष दाहालले विहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको र त्यसबेला कोइरालाले फौजी कारवाही बढाउन आग्रह गरेको बताएका थिए । 

दाहालको अभिब्यक्ति प्रति नेपाली कांग्रेसले विज्ञप्ती नै निकालेर विरोध जनाई सकेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमार्फत अतिरञ्जित अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका थिए ।