१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार ११:३१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एचपिभी संक्रमणको जोखिम कति ?

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ११:३१:००

 डा. असरफ हुसेन
इन्टरनल मेडिसिन
नेसनल मेडिकल कलेज

एचपिभी अर्थात् ह्युमन प्यापिल्लोमा भाइरस छालाका माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने गर्छ । यो भाइरस एक सयभन्दा बढी किसिमको हुने गर्छ, जसमध्ये ४० भन्दा बढी भाइरस यौनसम्पर्कका माध्यमबाट सर्ने गर्छन् । यस्ता भाइरसको संक्रमण यौनांग, मुख र घाँटीमा बढी हुने गर्छ । युके पब्लिक हेल्थ, एनएचएस र अमेरिका एसोसिएसन अफ सेक्सुअल हेल्थले गरेको सर्वेक्षणअनुसार धेरैजनासँग यौनसम्पर्क गर्ने ८० प्रतिशतभन्दा बढी मानिस आफ्नो जीवनकालका कुनै न कुनै वेला यो भाइरसबाट संक्रमित हुने गर्छन् । एचपिभी संक्रमण तीव्र रूपमा फैलिन्छ, तर लक्षण नदेखिने हुँदा कतिपयमा संक्रमण भएकोसमेत थाहा हुँदैन । एकदमै थोरै प्रतिशतमा भाइरस आमाबाट बच्चामा सर्न सक्छ । 

लक्षण 

  •  अधिकांश संक्रमितमा एचपिभीको लक्षण देखिँदैन । करिब ९० प्रतिशतमा दुई वर्षभित्र भाइरसको संक्रमण आफैँ निको हुन्छ, तसर्थ अधिकांशमा रोग लागेकोसमेत थाहा हुँदैन । भाइरसको संक्रमण आफैँ निको नभएमा त्यसले गम्भीर समस्या निम्त्याउँछ । यौनांग, टाउको, घाँटी र मुखवरिपरि गिर्खा वा मुसा आउने गर्दछ, जुन बिस्तारै क्यान्सरमा परिणत हुने सम्भावना उच्च रहन्छ । 

क्यान्सरको जोखिम

  •  सामान्यतया प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिमा एचपिभी संक्रमणले क्यान्सरको जोखिम बढाइरहेको हुन्छ । यसको संक्रमणबाट मानिसमा ६ किसिमका क्यान्सर हुने गर्छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभीलाई मानिन्छ । 
  •  त्यस्तै, एचपिभी एनस क्यान्सरका लागि ८४ प्रतिशत र पुरुषमा हुने लिंगको क्यान्सरका लागि ४६ प्रतिशत जिम्मेवार हुने गरेको पाइएको छ । एक सयभन्दा बढी किसिमको यो भाइरसका विभिन्न  फरक प्रकारले योनि, त्यसको मुख, घाँटी र मुखको क्यान्सर गराउँछ । 

बच्ने उपाय 

  •  भाइरसको संक्रमणले करिब ८० प्रतिशतभन्दा बढी मानिसमा कुनै स्वास्थ्य समस्या देखिँदैन, बरु संक्रमणसमेत आफैँ निको भएर जान्छ । तर, प्रतिरोधी क्षमता कम हुने व्यक्ति वा प्रतिरोधी क्षमता कम गराउने रोगका संक्रमितमा यसको असर बढी देखिने हुँदा सजग हुन आवश्यक हुन्छ । 
  • ल सुरक्षित यौनसम्पर्क अर्थात् कन्डमको प्रयोगले भाइरसको जोखिमबाट बच्न सकिन्छ । त्यस्तै, यौनसाथीमा एचपिभीकोे लक्षण देखिएमा भाइरसको संक्रमण सर्ने सम्भावना उच्च रहने हुँदा सजगता अपनाउनुपर्छ । 
  •  एचपिभीविरुद्ध भ्याक्सिन बजारमा उपलब्ध छ । यसको प्रयोगबाट यसकोे संक्रमण र क्यान्सरबाट बच्न सकिन्छ । एचपिभी संक्रमणका लागि छुट्टै उपचार उपलब्ध छैन । यसले निम्त्याउने समस्याका आधारमा मात्र उपचार गरिने हुँदा समयमै सचेत हुन आवश्यक छ ।