मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १०:१८:००
Read Time : > 2 मिनेट
अर्थ

रेसुंगा नगरपालिकाद्वारा किसानको  उत्पादन किन्ने ग्यारेन्टी 

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १०:१८:००

रेसुंगा नगरपालिका कृषि उत्पादनको बजारीकरणमा पूर्ण ग्यारेन्टी गर्ने नेपालकै पहिलो स्थानीय तह भएको छ । स्थानीय किसानले जति उत्पादन गरे पनि नगरपालिकाले उचित मूल्यमा खरिद गर्ने नगरपालिकाले प्रतिबद्धता जनाएको छ । त्यस्तै तत्काल सड्नेबाहेक मुख्य कृषिउपजहरूमा एक क्विन्टलभन्दा बढी उत्पादन गरे प्रतिकिलो दुई रुपैयाँ अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ । उत्पादनमा अनुदान, उचित मूल्य र बजारको पूर्ण ग्यारेन्टी भएपछि ढुक्क भएको  नगरपालिका–१० का व्यावसायिक तरकारी कृषक विनोद कुँवरले बताए । नगरपालिकाले तालिमसहित बिउ, मल र कृषि सामग्री पनि वितरण गरेको उनले बताए ।

नगर नै क्रेता र विक्रेता
अहिले नगरपालिकाले आफ्नै गाडीबाट फलफूल बिक्री सुरु गरेको छ । नगरपालिकाले नयाँगाउँ र भाडगाउँ पुगेर प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला खरिद गरी ८० रुपैयाँमा बेच्ने गरेको छ । स्थानीय बजारमा प्रतिकिलो १ सय २० सम्म मूल्य छ । किसानसँग खरिद गर्ने र संकलन केन्द्रमार्फत बिक्री गर्ने काम नगरपालिका आफैँले गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । साथै, सदरमुकाममा खपत कम भए बुटवल र अर्घाखाँचीसम्म पुर्‍याएर कृषिउपज बिक्री गर्ने कृषि प्राविधिक हरिशरण पन्थीले बताए ।

साना कृषकलाई समेत फाइदा
नगरपालिकाले बजारको ग्यारेन्टी गरेर घरमै खरिद गर्न गाडी आउने भएपछि स्थानीय कृषक खुसी भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का धर्मराज पाण्डेय उचित मूल्यमा घरबाटै नगरपालिकालाई बेच्न पाएकामा खुसी छन् । ‘अब उत्पादन नबिक्ने सम्भावना रहेन, बरु नगरपालिकाको निर्णय टिक्न गाह्रो देखेको छु,’ उनले भने, ‘अहिलेसम्म किसानका लागि नमुना काम भएको छ ।’ गाउँमा उत्पादन भएका आलु, कोपी, साग, मुला, गाँजर, अदुवा, गिट्ठादेखि कोदो र कोदोको पिठोसमेत बिक्री भइरहेको छ । लोकल कुखुरा पनि बजार मूल्यभन्दा डेढ सय कम मूल्यमा पाइएपछि खोसाखोस भइरहेको छ ।

शीतभण्डारसहितको संकलन केन्द्र
तम्घासको पुरानो हाटबजार लामो समय बन्द रह्यो । करिब सात वर्षपछि तीनवटै सरकारको समन्वयमा १ करोड ३३ लाखको लागतमा हाटबजारको नयाँ संरचना निर्माण गरियो । त्यसलाई नगरपालिकाले कृषिउपज संकलन केन्द्रका रूपमा अगाडि बढाएको नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले बताए । संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शीतभण्डारको समेत व्यवस्था गरिएको छ । नगर तथा बाहिरबाट आएका किसानहरूको कृषि उत्पादनलाई खरिद गरेर तत्काल बिक्री गर्न नसके शीतभण्डारमा स्टोर गर्ने गरिएको गौतमले बताए । 

 बिचौलियाको अन्त्य
नगरपालिकाले बजारको ग्यारेन्टीसहित संकलन केन्द्र सञ्चालन गरेपछि बिचौलियाको समेत अन्त्य भएको छ । प्रत्येक दिन संकलन केन्द्रबाट बजार मूल्यभन्दा १० देखि ३० प्रतिशतसम्म सुपथ मूल्यमा कृषिउपज बिक्री गरिरहेको रेसुंगा कृषि तथा पशुउपज संकलन केन्द्रका व्यवस्थापक दामोदर पोखरेलले बताए । नगरपालिकाकै नौजना कर्मचारीले बिहान–साँझ गरेर संकलन केन्द्रको व्यवस्थापन गरिएको पोखरेलले बताए । उनले अहिलेसम्म किसानबाट ४० लाखबराबरको कृषि उत्पादन खरिद गरेर संकलन केन्द्रमार्फत बिक्री गरिएको बताए ।

दीर्घकालीन हित सोचेका छाैं : मेयर
रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले किसानको दीर्घकालीन हितका लागि संकलन केन्द्र सञ्चालनसँगै नेपालमै पहिलोपटक कृषि उत्पादनको बजारीकरणको पूर्ण ग्यारेन्टी गरिएको बताए । ‘आर्थिक समृद्धिको आधार कृषि भएकाले नगर किसानको पक्षमा उभिएको छ,’ उनले भने, ‘कृषिकर्म गर्नेहरूमा नयाँ ऊर्जा आएको छ ।’ उनले रेसुंगा कृषि तथा पशुउपज संकलन केन्द्र तीन चरणमा अगाडि बढाउने बताए । 

पहिलो चरणमा नगरपालिकाले किसानको उत्पादन खरिद गरेर हाटबजारबाट बिक्री–वितरण गर्‍यो । अहिले किसानको फर्ममै पुगेर उत्पादन खरिद गर्ने गरिएको छ । अन्तिममा किसानहरू संकलन केन्द्रको सबै प्रक्रियामा आएपछि कृषि सहकारी वा समूहलाई सबै व्यवस्थापकीय पक्ष हस्तान्तरण गर्ने योजना रहेको भुसालले बताए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले हरेक स्थानीय तहले रेसुंगा नगरपालिकाको सिको गर्नुपर्नेमा जोड दिए । उनले हरेक स्थानीय तहले आफ्ना उत्पादन आदान–प्रदान र सहकार्य गर्नुको विकल्प नभएको बताए ।