मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १०:१०:००
Read Time : > 1 मिनेट
प्रदेश

गौरीशंकर क्षेत्रमा सुविधासम्पन्न ‘होमस्टे’

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १०:१०:००

भ्रमण वर्ष २०२० को अवसरमा दोलखास्थित गौरीशंकर गाउँमा निर्माण गरिएका होमस्टे निकै लोकप्रिय बन्दै गएका छन् । रोल्वालिङ पदमार्ग हुँदै गौरीशंकर हिमाल, छोरोल्पा हिमताल, दूधकुण्डलगायतका पर्यटकीय गन्तव्य पुग्ने पर्यटकहरू अहिले होमस्टेमा बस्न थालेका छन् ।  

५ वर्षअघिदेखि गौरीशंकर गाउँपालिका–१ मा पर्ने टाँसिनाममा होमस्टे सञ्चालन गर्दै आएका रामबहादुर केही वर्षयता पर्यटकको आकर्षण बढेको बताउँछन् । उनका अनुसार रोल्वालिङ पदमार्गको ग्रामीण परिवेश, खानपान, रीतिरिवाज र वेशभूषामा समेत पर्यटकहरूले चासो देखाउन थालेका छन् । रोल्वालिङको वैकल्पिक पदमार्गमा रहेको गौरीशंकर गाउँपालिकाकै चंखु ल्वासामा रहेको आफ्नो घरमा होमस्टे सञ्चालन गर्दै आएकी वाङ्छु शेर्पा पनि भूकम्पपछि हिमाली गाउँमा होमस्टे लोकप्रिय हुँदै गएको बताउँछिन् । 

पर्यटकहरू अहिले प्राकृतिक सुन्दरतामा रमाउने मात्र होइन, स्थानीय वातावरणमा घुलमिल हुने, रीतिरिवाज, भाषा, वेशभूषा, संस्कार, संस्कृति र खानपानमा समेत चासो दिने गर्न थालेको उनले बताइन् ।  

होमस्टे सञ्चालन गर्न संरक्षण क्षेत्रको सहयोग 

दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने चारवटा हिमाली गाउँमा गौरीशंकर संरक्षण क्षेत्रले होमस्टे सञ्चालनका लागि स्थानीयलाई आर्थिक सहयोगसँगै तालिमको समेत व्यवस्था गरेको छ । ल्वासाका होमस्टे सञ्चालक वाङ्छुका अनुसार गौरीशंकर संरक्षण क्षेत्रको सहयोग र प्रचार–प्रसारका कारण हिमाली गाउँमा होमस्टे लोकप्रिय बन्दै गएको हो ।   

रोल्वालिङ पदमार्गमा पर्ने गौरीशंकर गाउँपालिकाको सिमिगाउँमा १० वटा, टाँसिनाममा ३ वटा, चंखुको ल्वासामा ७ वटा र मार्वुमा १० वटा होमस्टे सञ्चालनमा रहेको संरक्षण क्षेत्रले जनाएको छ । होमस्टेका लागि संरक्षण क्षेत्रले १५ हजारबराबरका २ वटा बेड र कोठाका विभिन्न सामानहरू सहयोग गरेको संरक्षण क्षेत्र प्रमुख शाहले बताए । त्यसैगरी, संरक्षण क्षेत्रले कुक तालिम र पर्यटकसँग गर्ने व्यवहारका बारेमा समेत तालिमहरू दिँदै आएको थियोे । 

संरक्षण क्षेत्रकै सहयोगमा दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ कालिञ्चोकमा ३ वटा र बिगु गाउँपालिकाको आलम्पुमा ७ वटा तथा बिगुमा ५ वटा होमस्टे सञ्चालनमा रहेको जनाइएको छ ।