१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १०:०९:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे २ अर्ब खर्च

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १०:०९:००

भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा लमजुङमा साढे २ अर्बभन्दा वढी खर्च भएको छ । भूकम्पमा भत्किएका आवास पुनर्निर्माणमा हालसम्म २ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका प्रमुख जगदीश मिश्रले जनाएका छन् ।

जिल्लामा १३ हजार ७ सय ५० जनाले आवास पुनर्निर्माण सम्झौता गरी पहिलो किस्ता लिएका थिए । जसमध्ये १७ जनाले आर्थिक अभावका कारण तोकिएको समयमा आवास पुनर्निर्माण सम्पन्न गर्न नसक्ने भन्दै पहिलो किस्ताको ५० हजार रकम फिर्ता गरेको मिश्रले बताए । उनका अनुसार हालसम्म ६ हजार १ सय ६२ लाभग्राहीले आवास पुनर्निर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम बुझिसकेका छन् भने दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ९ हजार ४५ रहेको छ । जिल्लामा लाभग्राहीको संख्या १४ हजार ३३ रहेको छ ।

मिश्रका अनुसार हालसम्म पहिलो किस्ताबापत ५० हजारका दरले ६८ करोड, ६६ लाख ५० हजार रुपैयाँ निकास भइसकेको छ । दोस्रो किस्ताबापत १ अर्ब ३५ करोड, ६७ लाख ५० रकम खर्च भएको छ । त्यस्तै, तेस्रो किस्ताबापत ६१ करोड ६२ लाख रकम खर्च भएको हो । जिल्लामा पुनर्निर्माण निर्माण सुरु भएको ३ वर्षभन्दा बढी समय बितिसक्दा पनि निजी आवास पुनर्निर्माणमा ५० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार जिल्लामा हालसम्म ४८ प्रतिशत मात्रै घर निर्माण भएका छन् ।